बकपत्र पिटरका बहुआयामिक आक्राेश हुन्: राेशन जनकपुरी

लेखक तथा वाम विश्लेशक राेशन जनकपुरीले नेपालकाे राजनैतिक आन्दाेलनकाे मसिनाे चिरफार गरिएको बकपत्रले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइबाट उठान गरेकाे बताए । जनकपुरीले मुख्यतः जनयुद्धलाई केन्द्रमा राखेर लेखिएकाे बकपत्रले नरेन्द्रजङ् पिटरका बहुआयामिक आक्राेशहरु खाेतलेकाे बताएका छन् ।

प्राणमञ्च राष्ट्रिय मासिककाे पाँचौ वर्ष प्रवेशकाे अवसरमा प्राणमञ्च मिडियाद्वारा शुक्रबार घाेराहीकाे सर्वाेदय पुस्तकालय तथा वाचनालयमा भएको बकपत्र बहस कार्यक्रमकाे प्रमुख अतिथिसमेत रहेका राेशन जनकपुरीले देशकाे आमूल परिवर्तनको सपना देखाएर थालिएको जनयुद्धकाे नेतृत्वकाे सचेत पहलकदमी नहुनुका कारण साे क्रान्तिमा हाेमिएका हजारौं स्वप्नाद्रष्टाहरुकाे सपना तुहिएकाे विषयलाई पिटरले इमानदारी ढंगले आक्रामक लेखन शैलीको सुन्दर कृति भएको बताए ।

 

उनले बकपत्र लेखककाे आत्मकथा मात्रै नभएको बताए । हरेक पार्टीमा आन्दोलनबाट विकसित बुद्धिजीवीकाे धारा विकसित हुन नसकेको बरु विश्वविद्यालयबाट उत्पादन भएका उल्लेख गर्दै याे आन्दोलनमा लागिनेहरुकाे याे वा त्याे रुपमा उपहास हुनु निकै दुखद भएको बताए ।

दश वर्षे जनयुद्धमा उत्पीडितहरुकाे सपना साकार पार्नकाे खातिर हाेमिएका मधेसी समुदायका जनकपुरी राजनैतिक व्यक्तिको साथै स्पष्ट वक्ता, समकालीन कुसल स्तम्भकार हुन् । उनले बकपत्रले सभ्यताकाे लडाइँको परिभाषा गर्ने हटिङगन र सवाल्टर्न धाराकाे उल्लेख भएको तर त्यस सम्बन्धमा लेखककाे स्पष्ट धारणा व्यक्त नभएकाे गुनासाे गरे । सवाल्टर्नवादी चिन्तन र सभ्यताको लडाइँको भाष्यले उत्पीडनका क्षेत्रकाे हल गर्न नसक्ने बताए ।

लेखक नरेन्द्रजङ्ग पिटरले जनयुद्धको मुख्य नेतृत्व र नवमाओवादीहरुले गरेकाे जनयुद्धकालीन सपनाकाे व्यापारीकरण विरुद्ध लेख्नैपर्ने भएकोले आफुले बकपत्र लेखेकाे बताए । उनले आफ्नो जीवन आन्दोलनकै आँधीहुरीबाट अगाडि बढेकाले क्रान्तिकालमा मुक्ति वा मृत्युबाहेक अरु नदेखिएको बताए ।

उनले आजका सबैखाले पार्टीहरु ´ट्रेडमार्क`मा फेरिएको उल्लेख गर्दै विश्वका मजदुर एक हाेअाैँ भन्ने कम्युनिस्ट पार्टी नै दुई दर्जनभन्दा बढीमा विभाजित हुनु दुखद भएको बताए ।

पिटरले भीडलाई मान्छेमा रुपान्तरण गर्न सक्नुपर्ने बताउँदै भीडमा एक्लै हिड्ने प्रेरणाले बकपत्र लेखिएको बताए ।

त्यस्तै विश्लेषक तथा लेखक प्रमाेद धितालले आजकाे मानिस निराशा, कुण्ठा र पलायनताकाे बाटाेबाट मुक्त रहेर समाज परिवर्तनको आन्दालनमा निरन्तर लाग्न बकपत्रले समालाेचनात्मक चेतनाकाे जागृत गर्नेमा आफू विश्वस्त रहेकाे बताए । बकपत्र कम्युनिस्ट आन्दोलनमा निराशा जगाउन नभएकाे बरु यथार्थ चित्रण गरेर पुनः आशा र साहस जाेगाउन उत्प्रेरणा जगाउनकाे लागि लेखिएको बताए ।

कार्यक्रममा लेखक तथा नयाँ युगबाेधका संस्थापक नारायण शर्माले बकपत्रले आफुलाई जनयुद्धकाे “फ्ल्यासब्याक”काे काम गरेकाे बताए । उनले १० वर्षे जनयुद्धको जगमा प्राप्त उपलब्धिहरुकाे रक्षामा सबै जिम्मेवार बनेर देशको समृद्धि र विकासमा लाग्नुपर्ने बताए । नारायण शर्माले पिटर इमानदार, साहसिक र निस्वार्थ यात्री भएको बताए ।

त्यस्तै सर्वाेदय पुस्तकालयका अध्यक्ष सुशील गाैतमले प्राणमञ्च मिडियाले बकपत्रमाथिकाे बहस गरेर राम्रो वैचारिक रक्षाकाे काम गरेकाे बताउँदै विचार शून्य हुँदै गएकाे समाजलाई जगाउन यस्ताखाले कार्यक्रम आगामी दिनहरुमा पनि जारी राख्नुपर्ने सुझाब राखे । उनले नरेन्द्रजङ् तत्कालीन बुर्जुवा समाजबाट हुर्केको अब्बल क्रान्तिकारी याेध्दा भएको बताए । गाैतमले पिटरकाे बकपत्रले जीवन, दर्शन र संङघर्षका बहुआयामिक पाटाहरुलाई स्पष्टसँग उजागर गरेकाे बताए ।

त्यस्तै नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडाले बकपत्र नेपालका समकालीन १० उत्कृष्ट कृति मध्यकाे एक सफल कृति भएको जिकिर गरे । काभ्रेमा जन्मिएको नरेन्द्र जीवनका संघर्षमय आँधीहरुमा ठाेक्किँदै पटना, चितवन हुँदै नेपालगन्जसम्मकाे जीवनसंघर्षका श्रृङखलाहरु सुन्दर ढंगले व्यक्त भएको बताए ।

 

पाँचौ वर्ष प्रवेशकाे अवसरमा प्राणमञ्च मासिकमा निरन्तर कलम चलाउने स्तम्भकार शशिधर भण्डारी, राेशन जनकपुरी, नरेन्द्रजङ् पिटर, प्रमाेद धिताल, देवेन्द्र रिजाल तथा कार्यक्रमकाे लागि हल उपलब्ध गराउने सर्वाेदय पुस्तकालयका अध्यक्ष सुशील गाैतमलाई सम्मान गरेकाे छ । पत्रिकालाई नियमित लेखरचना दिने स्रष्टाको सम्मानस्वरुप कदर पत्र र एक-एक प्रति किताब उपहारस्वरूप प्रदान गरिएको हाे । पठन संस्कृति थप विकास र प्रबर्द्धनमा सहयाेग पुग्ने उदेश्यले मायाकाे चिनाकाे रुपमा पुस्तक हस्तान्तरण गरिएको आयाेजकले बताएको छ ।

कार्यक्रममा लेखक तथा वाम विश्लेषक शशिधर भण्डारी, साहित्यकार डाक्टर टिकाराम उदासी, पूर्व सांसद तथा मन्त्री सुस्मा शर्मा घिमिरे, बुद्धि प्रकाश धिताल, नवीन श्रेष्ठ, टंकप्रकाश केसी, गणेमान सिंह लगायतले पुस्तक तथा लेखक केन्दीत प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए ।

बहस सेसननका सहजकर्ता घनश्याम अस्तित्वले वक्ताहरुलाई पिटरकाे पुस्तक, अर्थराजनीति, कला-साहित्य तथा समसामयिक विषयमा केन्दित रहेर सुन्दर ढंगले प्रश्न एवम् प्रतिप्रश्न गरे ।

प्राणमञ्च राष्ट्रिय मासिकका प्रकाशक पार्वती न्याैपानेकाे अध्यक्षतामा भएको साे कार्यक्रमकाे सहजीकरण पत्रिकाका प्रधान सम्पादक पदमप्रसाद पाेख्रेलले गरेका थिए भने स्वागत मन्तव्य मिडियाका कर्णाली ब्युराे प्रतिनिधि मदन केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation