भ्रष्टाचारविरुद्धको अभियानमा राजनीतिक सौदाबाजी हुन्न : गृहमन्त्री श्रेष्ठ

पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा उनले देशको समृद्धिका लागि सुशासन अनिवार्य शर्त रहेकाले वर्तमान सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे।

उनले जनतालाई पनि सरकारले छिटोछिटो काम गरेर देशमा सुशासनका लागि काम गरोस् भन्ने अपेक्षा रहे पनि सबै घटनामा तथ्य प्रमाणले पुष्टि गरेपछि मात्र अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए।

उपप्रधानमन्त्री श्रेष्ठले भने, “सरकार विधिसम्मत जाँदा कतिपय राजनीतिक सौदाबाजीका आधारमा वा अरु कुनै अवाञ्छित चलखेलका आधारमा सरकारले कुनैमा पनि सम्झौता गर्दैन, त्यसमा हामी प्रष्ट छौँ, तर जनतालाई पनि एउटा अपेक्षा छ, जनताको अपेक्षा वा केही आभासका आधारमा मात्र कसैलाई कारबाहीको दायरामा लिन मिल्दैन, तथ्य, प्रमाणले पुष्टि गर्नुपर्दछ ।”

श्रेष्ठले देशले समृद्धिमा फड्को मार्न नसक्नुमा सुशासन स्थापित गर्न नसक्नु रहेकाले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित अन्य कदम चालिरहेको बताए। उनले भ्रष्टाचारमा संलग्नलाई सरकारले कारबाहीको दायरामा ल्याउँदा राजनीतिक दलका नेता, कर्मचारी तथा व्यवसायीले दबाब दिने गरेको उल्लेख गरे।

उनले यही माघ २४ गते प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने राष्ट्रिय समन्वय परिषद्को बैठकले प्रहरी समायोजनको काम अघि बढाउने बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation