अस्तित्वका कवितामाथि घाेराहीमा गम्भीर विमर्श

कार्यक्रमका वक्ताहरु: हिरामणि दूखी, सरिता देवकोटा र यज्ञ बहादुर डाँगी रहेका थिए भने कार्यक्रमको सहजीकरण नविन अभिलाषीले गरेका थिए । कार्यक्रममा साहित्यकार, कलाकार, समाजसेवी र संचारकर्मीको बाक्लो उपस्तिथी रहेको थियो ।

वक्ता हिरामणी दुखीले पुस्तकले ग्रामीण परिवेश, राष्ट्रिय राजनीति र सामाजिक/साँस्कृतिक विषयमा तिखाे प्रहार गरेकाे भएपनि विश्व दृष्टिकोण निर्माणकाे सवालमा कवि अझै सचेत र सतर्क रहँदै निरन्तर लेखन कार्यमा लागेमा कविकाे उज्जल भविष्यलाई कसैले राेक्न नसक्ने धारणा व्यक्त गरे ।

दुखीले साहित्यकारहरु प्रायः सत्ताको प्रतिपक्षमा हुने बताउँदै यो कृतिले राम्रो साहित्यिक धर्म निर्वाह गरेको र कृति भित्रका रचनाहरुले “चिहानमाथि महल बनाइरहेको मान्छे”लाई आलोचनात्मक यथार्थवादको जगमा उभ्याएको बताए ।

त्यस्तै वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगीले घनश्यामले आफ्ना सुन्दर कवितामार्फत गाउँ/समाजका यथार्थता ओकलेकाेमा खुसी व्यक्त गरे । घनश्यामका कवितामा बिम्ब, प्रतीक, लय र रसकाे राम्रो संयाेजन भएको बताउँदै लेखनमा अझै निखारता ल्याउन जरुरी रहेकाे सुझाव राखे ।

उनले फुटकर कविताहरु पढेको स्मरण गर्दै पुस्तक यो स्तरको होला भन्ने नलागेकाे तर यसको स्तरीयताबाट  आफू निकै प्रभावित भएकाे बताए ।

साहित्यकार सरिता देवकाेटाले कविका सबै कविता सशक्त रहेकाे बताइन् । उनले  “हेडसरकाे झापट” कवितामा हाम्रो पठनपाठनकाे तानाशाही संस्कारलाई राम्रोसँग व्यक्त गरेकाे बताउँदै हप्की, दप्की र खप्पीकाे घाेकन्तेपन अहिलेसम्म पनि याे वा त्याे रुपमा उस्तै उनु निकै विडम्बनापूर्ण भएको बताईन् ।

त्यसैगरी साहित्यकार देवकोटाले कृति विद्रोहात्मक चेतले भरिभराउ भएको र नेपाली समाजको यथार्थ चित्रण गरेको बताइन् ।

सहजकर्ताले उठाएका जिज्ञासाहरुलाई कृतिकार अस्तित्वले काव्यात्मक शैलीमा जवाफ दिँदै आफू निरन्तर लेखन यात्रामा लागिरहने प्रतिबद्धता जनाए । कृतिकारले कृतिभित्रका दुइ कविताहरु वाचन गरेर सुनाए ।

कार्यक्रममा उपस्थितिहरु चन्द्रराज पन्त, नवीन श्रेष्ठ, पदम प्रसाद पोख्रेल लगायतले आ-आफ्ना जिज्ञासाहरु राखे भने वाम विश्लेषकहरु शुशील गौतम, शशिधर भण्डारी, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष डा. टिकाराम उदासीले कृति र कृतिकारका सम्बन्धमा बधाईसहित छाेटकरीमा मन्तव्य राखे ।

विमर्शमा सहभागि वक्ताहरुलाई उदाहरण समूहका अभियन्ता एवं साहित्यकार खेमराज गाउँलेले मायाको चिनो उपहार प्रदान गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation