हातेमालो बचत तथा ऋण सहकारीद्वारा अर्धबार्षिक समीक्षा

घोराही, २० माघ ।

घोराहीमा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले अर्धबार्षिक समिक्षा गरेको छ । संस्थाले शनिबार सेयर सदस्यहरुलाई जम्मा पारेर गएको साउन देखि पुससम्मको प्रगति समिक्षा गरेको हो ।

संस्थाकी अध्यक्ष भगवती शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाले छ महिनाको अवधिमा गरेको प्रगति, आगामी दिनका लागि तय गरिएका योजनाहरु, विगतमा गरिएका सामाजिक कामहरु लगायतका विषयमा समिक्षा गरिएको थियो । संस्थाका सचिव केशव दिपक न्यौपानेले संस्थाको सेयर पूँजी चार करोड २४ लाख ४९ हजार रहेको जानकारी दिंदै सेयर पूँजी बढाउने लक्ष्य राखिएको भएपनि तरलता अत्यधिक भएकाले थप सेयर मान नगरिएको बताउनुभयो ।

संस्थासंग लगानीयोग्य रकमको अभाव नरहेको भन्दै साविकको व्याजदरमा समयानुकल परिमार्जन गरिएको बताउनुभयो । सचिव न्यौपानेले गत बर्षको बचत बाँकी ३७ करोड २१ लख ३५ हजार रहेको र यस बर्षको अन्त्यसम्म बचत ४२ करोड ७९ लाख ५५ हजार पु¥याउने लक्ष्य राखिएकोमा पुस मसान्तसम्म ४० करोड ७१ लख ६४ हजार पुगेको बताउनुभयो ।

देशमा आएको आर्थिक संकटका कारण कतिपय सहकारीमा बचत संकलन समस्यामा रहेको भएपनि हातेमालो बचत तथा ऋण सहकारीमा बचत संकलन उत्साहजनक रहेको सचिव न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार यस बर्ष थप पाँच करोड ऋण प्रवाह गर्न संस्था सक्षम भएको छ । गत बर्ष ३६ करोड पाँच लाख ६९ हजार ऋण बाँकी रहेको र यस आर्थिक बर्षमा थप ऋण प्रवाह गरेर ४२ करोड ६६ लाख ६२ हजार पु¥याउने लक्ष्य राखिएको छ । पुस मसान्तसम्म उक्त रकम २१ लाख ८६ हजार थप भइ ३६ करोड २७ लाख ५५ हजार पुगिसकेको छ ।

संस्थाले यस बर्ष सात करोड ९६ लाख ५९ हजार आम्दानी र पाँच करोड ३३ लाख ४४ हजार खर्च गरेर खुद बचत दुई करोड ६३ लाख १५ हजार गर्ने लक्ष्य लिएकोमा छ महिनाको अवधिमा एक करोड पाँच लाख ८८ हजार खुद बचत गरेर ४० प्रतिशत लक्ष्य हासिल भइसकेको सचिव न्यौपानेले जानकारी दिनुभयो । हातेमालो बचत तथा ऋण सहकारी संस्थाले हासिल गरेको प्रतिष्ठालाई कायम राखेर अघि बढ्ने योजना रहेको बताउँदै न्यौपानेले नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ संग लिएको चार करोड यस आर्थिक बर्षमा चुक्ता गरिसकेको जानकारी दिनुभयो ।

समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार बेगमबहादुर भण्डारीले हातेमालो बचत तथा ऋण सहकारी संस्था स्थापना गरेको १३ बर्षको अवधिमा अनेकन उतार चढावहरु व्यहोरेको बताउनुभयो । सरकारले ल्याएको एक व्यक्ति एक सहकारीको अवधारणा अनुसार एउटा मात्रै सहकारीमा आवद्ध हुनका लागि सम्पूर्ण सेयर सदस्यहरुलाई आग्रह गर्नुभयो । उहाँले दुईवटा डुङ्गामा खुट्टा राख्ने हो भने दुर्घटना हुने भन्दै दुईवटा सहकारीमा लगानी गर्नुभन्दा एउटा सहकारीमा लागेर मेहनतपूर्वक काम गर्न सुझाव दिनुभयो ।

उहाँले सहकारीमा आवद्ध रहेका दुई सय ३४ जना सेयर सदस्यहरुसंग रहेको विज्ञता र क्षमतालाई यहि सहकारीमा प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले यस बर्ष सहकारीको प्रगति ४० प्रतिशत नाघेको भन्दै आगामी दिनमा सवैको सहयोग भएमा सफल हुने विश्वास व्यक्त गर्नुभयो । देशव्यापी रुपमा सहकारीमाथी प्रहार भइरहेको भएपनि हातेमालोले आफूलाई चुस्त रुपमा अघि बढाइरहेको धारणा भण्डारीको थियो । जिल्लामा हातेमालोले राम्रो प्रतिष्ठा हासिल गरेको भन्दै घोराही उपमहानगरपालिकाले ४६ औं स्थापना दिवसमा गरेको सम्मानलाई महत्वपूर्ण उपलव्धिका रुपमा लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले मुलुकको आर्थिक अवस्थामा सुधार आउन नसकिरहेको अवस्थामा सहकारीलाई ठिक तरिकाले संचालन गर्नु चुनौतीको विषय भएको बताउनुभयो । उहाँले राम्रो काम गर्नेहरुको खुट्टा तान्ने समाजको प्रवृत्ति रहेको भन्दै हातेमालो बचतमाथि हुनसक्ने सम्भावित प्रहारलाई चिनेर काम गर्न सुझाव दिनुभयो । सहकारी संस्थाहरु नीति, विधि र थितीमा संचालन हुने हो भने समस्या नआउने दावी उहाँको थियो ।

यस्तै संस्थाका सल्लाहकार बेञ्जु केसी, डा. लोकराज पराजुली, केदारराज श्रेष्ठ, छमा पराजुली, लक्ष्मण खरेल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले आफू महिला अध्यक्ष भएकाले पनि महिला उद्यमीको क्षेत्रमा केही काम गर्नुपर्छ भनेर योजना बनाएको बताउनुभयो । उहाँले सेयर सदस्यहरु समूह बनाएर आएमा सामाजिक उत्तरदायित्व अन्तरगत तालिम संचालनका लागि सहयोग गर्ने बताउनुभयो । इमान्दारिताका साथमा काम गर्ने हो भने संस्था सफल रुपमा अघि बढ्ने धारणा उहाँको थियो । सहकारीका माध्यमबाट आय आर्जनका कामहरु अघि बढाउने योजना रहेको भन्दै सवै सेयर सदस्यहरुले सक्रियताका साथ संस्थाका बारेमा बुझ्नुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष शर्माले दिप प्रज्ज्वलन गरेर शुभारम्भ गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष ऋषिराम रिजालले र संचालन सचिव न्यौपानेले गर्नुभएको थियो । हातेमालो बचत तथा ऋण सहकारी संस्थाले अर्धबार्षिक रुपमा समिक्षा गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation