बूढीगण्डकी आयोजनाको काम  छिट्टै अघि बढ्छ : प्रधानमन्त्री दाहाल

२२ माघ, काठमाडौं 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाका जनप्रतिनिधिलाई बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम तत्काल अगाडि बढाउने आश्वासन  दिएका छन्।

आइतबार साँझ बालुवाटारमा पुगेका गोरखाका पालिका प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले निर्वाचनका वेला गरेको प्रतिबद्धता पूरा गर्ने बताएका हुन्।

प्रधानमन्त्री दाहालसँगको भेटमा आ-आफ्नो पालिकाभित्रका अवस्था र विकास निर्माणका योजना तथा आवश्यकतालगायतका विषयमा जानकारी गराएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए। ‘प्रधानमन्त्रीले बूढीगण्डकी आयोजनाको काम छिट्टै अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ’, उनले भने ‘आयोजना निर्माणले अब गति लिन्छ भन्ने विश्वास लिएका छौँ।’

प्रधानमन्त्रीले गोरखा नगरपालिका-१३ स्थित देउरालीमा रहेको बन्द गोरखकाली रबर उद्योगसमेत छिट्टै सञ्चालन गर्न लागेको जानकारी गराएको अध्यक्ष भट्टले बताए। ‘बन्द अवस्थामा रहेको रबर उद्योग पीपीपी मोडलमा अगाडि बढाउने योजनामा प्रधानमन्त्री हुनुहुन्छ’ उनले भने, ‘हामीसँगको कुराकानीका आधारमा जग्गा सरकारकै पूर्ण स्वामित्वमा रहने गरी अन्य संरचनामा निजी क्षेत्रसँग समेत साझेदारी गरेर उद्योग सञ्चालन गर्ने प्रधानमन्त्रीको सोच छ।’

जनप्रतिनिधिसँग प्रधानमन्त्रीले गोरखामा सडकलगायतका अन्य भौतिक पूर्वाधार विकासका लागि आगामी आवमा चालु आव २०८०/०८१ मा भन्दा बढी सुधार हुने गरी बजेट विनियोजन गर्ने प्रतिबद्धतासमेत गरेको उनले जानकारी दिए।

प्रधानमन्त्रीलाई भेट्न जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, उपप्रमुख लिला परियारसहित अन्य पालिकाका जनप्रतिनिधिलगायत बालुवाटार पुगेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation