नाइजेरियामा विवाहमा आएका ३५ महिला बेपत्ता

कटसिना राज्यमा भएको सामूहिक अपहरण अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा हालै भएका अपहरणको शृङ्खलामा पछिल्लो सबैभन्दा ठूलो हो।

प्रहरी प्रवक्ता अबुबकर अलियुले साबुवा क्षेत्रमा विवाहबाट फर्किरहेका माथि संदिग्ध हतियारधारी डाकाहरूले आक्रमण गरी करिब ३५ महिलालाई अपहरण गरेको बताए।

राज्यको आन्तरिक सुरक्षा आयुक्त नासिरु मुआजले बेहुलीलाई बेहुलाको घर पुराउने क्रममा दामरी गाउँ फर्किंदै गर्दा ५० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको बताए।

‘अधिकारीहरूले गाउँको भ्रमण गरेका छन् र ५३ जनालाई लगिएको बताइएको छ’, उनले भने, ‘डाका लाग्ने क्षेत्रमा अँध्यारोमा नाचगान गर्दै बेहुलीलाई लिएर गाडी चलाउनु निकै जोखिमपूर्ण थियो, डाकाहरूले उक्त अवसरको फाइदा उठाए र उनीहरूलाई आफूसँगै लिएर गए।’

आयुक्त मुआजले बासिन्दाहरूसँग रातको समयमा यात्रा नगर्न आग्रह गर्दै सुरक्षाकर्मीले अपहृतहरूलाई खोज्ने र उद्धार गर्ने प्रयास गरिरहेको बताए।

नाइजेरियामा फिरौतीका लागि अपहरण एउटा ठूलो समस्या बनेको छ। आपराधिक गिरोहले राजमार्ग, अपार्टमेन्ट र यहाँसम्म कि स्कुलहरूबाट विद्यार्थीहरूलाई समेत लुट्न निशाना बनाउँछन्। स्थानीयरूपमा डाकुहरू भनेर चिनिने गिरोहले उत्तरपश्चिमी तथा मध्य राज्यहरूका जङ्गलस्थित आधारबाट अपहरण गर्दै आएका छन्।

वर्षको प्रारम्भमा अपराधीहरूले राजधानी अबुजा नजिकै पाँच दिदीबहिनीलाई अपहरण गरी फिरौतीको समय समाप्त भएपछि एक बहिनीको हत्या गरेका थिए।

गत वर्ष मेमा राष्ट्रपतिमा निर्वाचित भएपछि बोला अहमद टिनुबुले असुरक्षालाई सम्बोधन गर्ने आफ्ना प्रमुख वाचाहरूमध्ये एक बताएका छन्।  नाइजेरियाले उत्तरपूर्वी क्षेत्रमा जिहादी, उत्तरपश्चिममा आपराधिक मिलिसिया र केन्द्रीय राज्यहरूमा अन्तर–साम्प्रदायिक हिंसाको सामना गरिरहेको छ।

नाइजेरियाली रिस्क कन्सल्टेन्सी एसबिएम इन्टेलिजेन्सका अनुसार मेमा टिनुबुले पदभार सम्हालेदेखि नाइजेरियामा तीन हजार नौ सय ६४ व्यक्ति अपहरणमा परेको रेकर्ड गरिएको जनाएको छ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation