राज्यले कौडीको भाउमा बेचेर कवाडीखाना बनेका देशका उद्योग धन्दा चलाउने ‘मुर्खता’ महावीर पुनले गरिरहेका छन् । महावीर पुन वि.सं. २०११ साल माघ ९ गते म्याग्दी जिल्लाको नागी गाउँमा जन्मिए । एक असाधारण प्रतिभाका धनि महावीर राष्ट्रिय आविष्कार केन्द्र खोलेर खोज अनुसन्धान र नवप्रवर्तनमा झण्डै दुई दशकदेखि होमिएका छन् । चोट, ठक्कर, अभाव र चुनौतिहरुमा सुन्दर जीवन खोज्ने महावीर नेपाली खोज अनुसन्धानको जगतमा एक्ला बृहस्पति नै बनेका छन् । वैज्ञानीक खोज र अन्वेषणमा अन्धो बनेको राज्यलाई महावीर पुनको यो महाअभियानले गिज्याइरहेको छ । विभिन्न व्यक्ति, संघसंस्थाहरुको साथ, सहयोग र हौसलामा थालिएको उनको यो अभियानले देशविदेशको ध्यान खिचिरहेको छ ।
२०७९ भदौ ३१ गतेदेखि नेपाल सरकार र महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग भएको सम्झौता बमोजिम वीरगन्जमा रहेको कृषि औजार कारखानालाई ३ वर्ष भित्रमा सञ्चालनमा ल्याउने गरी काम धमाधम अगाडी बढेको छ । सोही अभियानमा आर्थिक संकट झेलिरहेका महावीर पुन यतिबेला आर्थिक सहयोगार्थ देशव्यापी रुपमा अभियानमा लागेका छन् । त्यसको लागि उनले ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ नाममा सो पुस्तक बेच्दै देशावर गरिरहेका छन् । साधारण कृषक, विद्यार्थी, व्यवसायी आदिले उनको पुस्तक निकै रुचिका साथ किनिरहेको महावीर बताउँछन् । देशभर पुस्तकसँगै आर्थिक सहयोक संकलन अभियानमा निस्केको उनको टिमले अनलाइनमार्फत प्रि–अर्डर गर्ने व्यक्तिहरूलाई पुस्तक गराइरहेको छ । सो पुस्तकको प्रकाशक राष्ट्रिय आविष्कार केन्द्र रहेको छ ।
महावीर पुनका अनुसार पुस्तक बिक्री गरेर आएको सम्पूर्ण रकम वीरगञ्जको कृषि औजार कारखाना मर्मत गर्ने काममा तत्कालै खर्च गरिने छ । ३०० पेज रहेको आफ्नो जीवन कथामा आधारित पुस्तकको मूल्य ७६० रुपैयाँ तोकिएको छ ।
महावीर आफै सहभागी भएको अभियानमा माघ तेस्रो सातासम्म १४ हजार किताब विक्रि भइसकेको र अन्य व्यक्ति तथा पुस्तक वितरक केन्द्रबाट गरी हालसम्म ३५ हजार विक्रि भएको छ । यो अभियानमा दुई महिनासम्म आफै वितरणमा लाग्ने महावीर पुनले प्राणमञ्चसँग बताए । यसबापत २ करोड ६६ लाख आम्दानी भएको छ ।
उनी यतिबेला आफै फिल्डमा किताब बेच्दै हिंडेका छन् । उनले नेपालका पूर्वी भाग तथा मध्य र पश्चिम नेपालका पर्वत, स्याङजा, बागलुङ, पाल्पा, गुल्मी, अर्घाआँची, रोल्पा, रुकुम तथा सल्यान जिल्लामा पुस्तक विक्रि गरिरहेका छन् । उनी अगाडि भन्छन्, “वीरगन्जको कृषि औजार कारखानाका लागि तत्कालै पैसा नचाहिएको भए यो किताब लेखिने थिएन ।” आविष्कार केन्द्रमा अहिले दुई दर्जन प्रोजेक्टहरु चलिरहेका छन् । आविष्कार र नवप्रवर्तनको प्रयासमा यहाँ युवाहरु साँझ विहान नभनी काम गरिरहेका छन् । यही काम गर्ने क्रममा कहिले उनीहरु मेसिन चलाउँछन त अहिले हम्बर पिट्छन् । आविष्कार केन्द्रमा कार्यरत उनीहरु यहाँ आफैं इन्जिनियर पनि हुन्, कामदार पनि ।
विश्वविद्यालयभित्र उद्योगमै जसरी काम भइरहेको यो भवनमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ रहेको छ । राष्ट्रिय आविष्कार केन्द्र महावीर पुनको परिकल्पना हो । यो नेपाली युवाका लागि आविष्कार गर्न दिने ‘प्लेटफर्म’का रुपमा उनले नै स्थापना गरेका हुन् । यो केन्द्र सञ्चालनका लागि उनले केही वर्षयता आर्थिक सहयोग संकलन गर्दै आएका छन् ।
महावीरको मुलुक बनाउने यो महाअभियानमा देशविदेशका सहयोगी मनहरु निकै बढिरहेका छन् । हुन पनि थोपाथोपा मिलेर सागर बन्ने न हो । महावीर देशमा फैलिएको हानिकारक रोगबाट बचाउन देशमा नवप्रवद्र्धन र उद्योग धन्दाको प्रचुर विकास जरुरी रहेको निष्कर्ष सुनाउँछन् । यो महाअभियानमा लागेका आफु भने मुर्ख भन्न रुचाउँछन् ।
अस्तव्यस्त ठाउँबाटै भइरहेको छ नवप्रवद्धनको काम
राज्यको अरबौँ रकम खर्चेर पुर्व भिभिआइपिहरुको लागि आलिसान बंगलाहरु बन्दैगर्दा आविष्कार केन्द्रको परिसर भने कवाडीखाना जस्तै छ । नवप्रवर्तनमा कम्मर कसेर लागिपरेका महावीरको यो मुलृक निर्माणको महाअभियानमा राज्यसत्ताका सबै निकाय मुखदर्शक बनिरहेको छ । राष्ट्रिय आविष्कार केन्द्रको भवन निकै साँघुरो छ । त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराएको जमिनमा आविष्कार केन्द्रको उराठलाग्दो भवन छ । यो भवनको अगाडि पानी पर्नासाथ हिलो भरिन्छ । वरपर झाडी छ । परिसर सफा पनि छैन । भवनको लबीमा काठ टुक्र्याउनेदेखि फलाम काट्नेसम्मका मेसिन भवन, यन्त्र उपकारण र सरसामान छरपष्ट छन् । झट्ट हेर्दा यो कुनै ग्रिल कम्पनी वा फर्निचर कारखाना जस्तो पनि लाग्छ । भवनको बाहिर रहेको थोत्रो गाडीको मुनि पसेर काम गरिरहेका युवको समूह देख्दा ग्यारेजकै झल्को पनि आउँछ ।
के-के बनिरहेका छन् राष्ट्रिय आविष्कार केन्द्रमा ?
आविष्कार केन्द्रमा अहिले सेलरोटी बनाउने मेसिनदेखि औषधी बोक्ने ड्रोनसम्म बनिसकेका छन् । ‘गाउँघरमा ड्रोनबाट औषधी पठाउने परिकल्पना नेपाली युवाकै हो, आविष्कार केन्द्रले त्यसलाई सघाएको हो,’ पुनको दाबी छ ।
आविष्कार केन्द्रमा ९ महिना नपुग्दै जन्मिएका र नियमोनियाबाट प्रभावित शिशुलाई लक्षित गरी बेबी वार्मर मेसिनहरु पनि तयार भइरहेको छ । छिट्टै जन्मिएका बच्चाको स्वास्थ्यमा उचित ताप नपुगेर पर्ने असरलाई ध्यानमा राखेर नेपालमै यस्तो मेसिन बनाउन लागिएको हो । सञ्जयसिंह ठकुरी र सुनिल बानियाँ लगायतको टोली यसमा संलग्न छ ।
ईन्क्युबेटर समय नपुगिकन जन्मेको बच्चाहरु र जन्डिस भएका बच्चाहरुलाई बचाउनको लागि प्रयोग गर्न सकिने छ ।
यस्तै आविष्कार केन्द्रमा विद्युतीय सवारी साधनहरु प्नि बनिरहेका छन् । नयाँ प्रयोगहरु गरेर विद्युतीय सवारी निमाण गर्ने गरी पनि प्रोजेक्ट चलाइएको छ । गाडीमा अटोमेटिक ड्राइभिङ लगायतको परीक्षण पनि गरिँदैछ । विद्युतीय सवारीमा नयाँ फिचर्सहरु थप्न नेपाली युवाहरु प्रयत्न गर्दछन्, आविष्कार केन्द्रमार्फत ।
आविष्कार केन्द्रमा बाँदर भगाउने मेसिनको सफल प्रयोगसँगै देशभर यसको चर्चा र माग चुलिएको संचालक महावीर पुनले प्राणमञ्चसँगको कुराकानीमा बताए । अत्याधुनिक सुविधासतिहको एपको पनि विकास गरिँदैछ ।
युवको एक समूहले ‘ओके जर्नी’ नामको बसको टिकट बुकिङ गर्ने एप बनाएका छन् ।
‘यो एप बनाउन लागेको झण्डै डेढ वर्ष भएको थियो, तर, स्रोतको अभावमा समस्या परिरहेको थियो, आविष्कार केन्द्रमा आएपछि यसलाई अझै उन्नतरुपमा विकास गर्न सहयोग मिलेको छ,’ एपको परिकल्पनाकार राजेश दास भन्छन्, ‘यो एपले भविष्यमा टिकट काट्न लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्नेछ ।’
यहाँ पानी तताउने विद्यमान सोलर थर्मल कलेक्टर (एसटीसी) प्रविधिको दक्षता सुधार गर्न प्रोटोटाइप विकसित गरी परीक्षण पनि सफल भएको छ । ग्रामीण क्षेत्रका लागि पानी फिल्टर र ट्रिटमेन्ट प्रणालीको विकास गरिदैछ । थ्री व्ह्विलर सवारीहरुका लागि लिड–एसिड ब्याट्री चार्जिङ र मर्मत प्रणाली विकास गरिएको छ । यहाँ नै विकास भएको ई–कमर्स प्लेटफर्म एभरेष्ट कार्ट विकास गरी सार्वजनिक भइसकेको छ ।
शहरको सडक बत्तीको लागि स्वचालित सोलर प्यानल सफाई प्रणालीको विकास गरिएको छ भने शहरी क्षेत्रमा बस्ने कम आय भएका घरपरिवारका लागि सरल र सस्तो कपडा धुने मेसिन विकास भएको छ ।
सरल जीवनशैलीका उदाहरण महावीर
म्याग्दीको दुर्गम गाउँ नागीमा सामान्य परिवारमा जन्मेका महावीर खानपानमा खासै ध्यान छैन । जे पायो, जहाँ पायो त्यो खायो उनको मान्यता हो । लुगाफाटोमा पनि खासै मतलब गर्दैनन् । उनी आफूले धेरै वर्षदेखि लुगाफाटो नकिनेको समेत सम्झन्छन् । ‘साथीभाइहरू दिन्छन्, जे पायो त्यही लगाउने हो,’ पुन थप्छन्, ‘सानो छँदा लुगाफाटो लगाउनै पाइएन ।’ उनी राजनीति र नेताहरूका बारे कुनै टिप्पणी गर्न रुचाउँदैनन् । तर नेपालका राजनेताहरूले राजनीति गर्न नजानेको उनको बुझाइ छ । पुस्तक अभियानमा स्थानीयहरुको हौसला, साथ र सहयोगप्रति निकै कृतज्ञ छन् महावीर ।
महावीरले भविष्यमा मुलुकको प्रतिभाहरूलाई देशमै रोक्न, काम दिन नेपाल राष्ट्रिय अविष्कार केन्द्रसमेत दर्ता गरेका छन । उनको सोचाइ छ– विदेशमा आफ्नो उच्च क्षमता प्रदर्शन गरिरहेका नेपाली प्रतिभाहरूलाई देशमा फिर्ता गरी यतै काम गर्ने उपयुक्त वातावरण बनाउन पहल गर्ने । विदेश जाँदा ठूलाठूला नेपाली वैज्ञानिक भेटिने तर देशमै भने यस्ता प्रतिभा टिक्नै नसक्ने कुराले उनलाई पिरोल्छ ।
मौलिक काम गर्ने प्रतिभाशाली नेपालीहरू मुलुकबाट पलायन हुने विदेशीका लागि आफ्नो क्षमता दक्षताको प्रयोग गरिरहेको देख्दा उनी असन्तुष्ट छन् । ‘प्रतिभा पलायनलाई नरोकेसम्म मुलुकको कहिले विकास हुँदैन,’ पुन भन्छन्, ‘रेमिट्यान्सको भरमा नेपाललाई कहिल्यै विकसित देश बनाउन सकिंदैन ।’
संघर्षको नालीबेली
महावीरको बाल्यकाल हजुरबुबासँग भेंडाबाख्रा चराउँदै, साथीसँग खेल्दै, वनपाखामा डुल्दै आनन्दसँग गुज्रिएको थियो । उनको बुबा दूरदर्शी नभएका भए महावीर सायद यस्तै रमाइलोमा हराइरहन सक्थे । वा अशिक्षित नै रहन पनि सक्थे । ब्रिटिस आर्मीका अवकाशप्राप्त सैनिक बुबाले उनलाई गाउँकै स्कुलमा भर्ना गरे । त्यसताका उनको गाउँमा पढे लेखेका मान्छे कोही थिएनन् । महावीरका बुबालाई लाग्यो– छोराको दिमाग तेज छ, सुनेको कुरा राम्ररी टिप्न सक्छ । कालान्तरमा छोराले बुबाको त्यो अनुमान र विश्वासलाई सही साबित गरिदिए ।
के गरेनन् पुनले ?
गाउँका मान्छेहरूलाई आर्थिक समस्या भएको सोचेर उनले चौरीगाई र गाईको फारम खोले । हिमाल नजिक गाउँ भएका कारण गाउँमा थुप्रै विदेशीहरू हिमाल हेर्न, घुम्न भन्दै पुग्थे । पुनले सन् १९९४ मा विदेशीहरूका लागि कोठा र चिसोमा नुहाउनको लागि तातो पानी सहितको शौचालय व्यवस्था गरे ।
यी स–साना कोठामा बसेबापत उनीहरूले पैसा तिर्नुपर्ने हुन्थ्यो । पुनले गाउँमा माछा पालन व्यवसाय पनि सुरू गरे । माछाले राम्रो बजार पायो । उनको नेतृत्वमा गाँउमा वृक्षारोपण कार्यक्रम पनि सुरू भयो । वृक्षारोपणको यो महाअभियानमा पनि अहिलेसम्म झन्डै १३ लाख रूख रोपेका छन् । म्याग्दीकै पौद्वर गाउँमा समेत पुनले चीज उत्पादन कार्यक्रम सुरू गरे । गाउँ भ्रमणमा आउने विदेशीहरूले गाउँमा उत्पादन भएको चीज किन्न थाले । यसरी चीज उत्पादनले पौद्वर गाउँका बासिन्दाको राम्रो आयस्रोत हुन थाल्यो । उनले गाउँलेहरूसँग मिलेर कागज बनाउने, मौरीपालन, च्याउखेती तथा गाउँमै लुगा बुन्ने कामको पनि अभियान थाले ।
अमेरिकाको नेव्रास्का विश्वविद्यालयबाट शिक्षा विषयमा स्नातक गरेर सन् १९९२ तिर पुन आफ्नो पैतृक गाउँ फर्किए । पछि उनले त्यही विश्वविद्यालयबाट स्नातकोत्तर गरे । उनले सन् १९९३ तिर गाउँमै माध्यमिक विद्यालय खोले । यसको करिब तीन वर्षपछि पुनः अमेरिका गएर उनले गाउँका बारेमा इन्टरनेटमा वेबसाइट बनाए । त्यसताका नेपालमा मर्कन्टाइलबाहेक कसैको वेबसाइट थिएन ।
नवप्रवर्तनको क्षेत्रमा निरन्तर उल्लेख्य काम गरेबापत ५० हजार डलरको म्यागासेसे अवार्ड पाउने उनी चौथो नेपाली हुन् । उनी आफुले पाएका विभिन्न सम्मानका अवार्डहरु पनि विक्रिवितरणको लागि खुला राखेका छन् । राज्यले आफुले गरिरहेको काममा सहयोग नगरेपछि उनले आफुले पाएका अवार्डहरु बेचेर नवप्रवर्तनमा लगानी बढाउने हुन् । प्राणमञ्चसँगको कुराकानीमा भने “यो किताब बेचेर आएको सबै पैसा वीरगञ्जको कृषि औजार कारखाना सुधार गर्ने र सञ्चालन गर्ने काममा जानेछ । अहिलेसम्म २५ हजार बढी पुस्तक विक्रि भइसकेको छ, यो पहिलो अभियानमा म आफै पनि दुई महिनासम्म फिल्डमै खटेर किताब बेच्ने छुँ ।” कहिले गाउँ बनाउने अभियानमा त, कहिले नवप्रवर्तन र आविष्कारको भिन्नै सोच बोकेर हिँडेका उनी र उनको कामलाई नचिन्ने सायदै नेपाली होलान । आफ्नै बलबुताले नेपालमा केही गर्न सकिन्छ भन्ने संकल्प लिएर हिँडेका उनी देशमै केही गर्छु भन्नेहरूका लागि एक भरोसा हुन् ।
जनस्तर र नेपाली विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेका छ । यो केन्द्रबाट उनी नयाँ सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन प्रेरित गर्दै निःशुल्क अध्ययन, अनुसन्धानको वातावरणसमेत मिलाउँदै आएका छन् । वर्तमान नेपालको चित्र हेर्दा यस्तो लाग्छ, महावीर पुन आफ्नो कामको पछाडि दौडिइरहेका छन् समृद्ध देश खाजिरहेका छन् भने यो देशले महावीर जस्तै महान व्यक्तिहरु खोजिरहेको छ । साथमा नेपाली जनको सम्मान उनको पछिपछि दौडिइरहेको छ ।