आसन्न स्थानीयतहको निर्वाचनका लागि उदयपुरमा तयारी तीव्र पारिएको छ। वैशाख ३० गते तोकिएको चुनावको मिति नजिकिदै जाँदा तयारी तीव्र पारिएको बुधबार आयोजित एक कार्यक्रममा निर्वाचन कार्यालयले जानकारी गराएको हो।
निर्वाचन तयारीको सिलसिलामा कार्यालयले बुधबार ‘निर्वाचन सम्बन्धि पत्रकार आचारसंहिता र हालसम्म्को अवस्था’बारे अन्तरक्रिया कार्यक्रम गरेको छ। जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहमा खटाइएका निर्वाचन अधिकृतको उपस्थिति रहेको कार्यक्रममा चुनावको तयारी तीव्ररुपमा भईरहेको जानकारी दिइयो। कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाले मतदानको समय अव २३ दिन मात्र बाँकी रहेको भन्दै कार्यालयले गर्नुपर्ने आवश्यक सम्पूर्ण तयारीलाई तीव्रता दिईरहेको बताए।
उनका अनुसार ८ वटै स्थानीयतहमा खटाइएका निर्वाचन अधिकृतहरु बिहीबार विहान एकैचोटी सम्बन्धित स्थानीयतह गएर निर्वाचना अधिकृतको कार्यालय स्थापना गरेर सञ्चालन गर्नेछन्। कोईरालाका अनुसार त्यसका लागि बुधबारै सम्बन्धित स्थानीयतहलाई निर्वाचन अधिकृतहरु बुझाईसकिएको छ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधिश दिपक खनालले वैशाख ३०० गते हुने स्थानीयतहको चुनावलाई स्वतन्त्र, निश्पक्ष, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने बताए। नागरिक समाजका अगुवा मानिने पत्रकाहरुले स्वच्छ, निश्पक्ष, भयरहित ढंगले चुनाव सम्पन्न गर्ने दायित्व पत्रकारहरुको पनि भएको भन्दै सो जिम्मेवारी वहन गरिदिन खनालले आग्रह गरे।
सञ्चारमाध्यममा आएका ससाना कुराले पनि ठूलो प्रभाव पार्नसक्ने भएकाले निर्वाचन आयोगले पत्रकार आचारसंहिता बनाएको उनको भनाई थियो। कतिपय कुरामा निर्वाचन आचारसंहिताबारे स्वयं जनप्रतिनिधि, दलका नेता कार्यकर्ता र सर्वसाधरण जानकार नहुँदा कानुन आकर्षित हुने गरेको भन्दै मुख्य निर्वाचन अधिकृत खनालले त्यसबारे प्रष्ट पार्न मिडियाकर्मीहरुले सचेतनामूलक सूचना संप्रषण गर्नुपर्ने दायित्व स्मरण गराए। प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले सबै पंक्षलाई निर्वाचन आचारसंहिता पूर्ण कार्यान्वयन गरिदिन आग्रह गरे।
फेसबुक, मेसेन्जर, ट्विटरजस्ता सामाजिक सञ्जालमा कुनै पनि उमेदवार र तिनका परिवारलाई आरोप, लाञ्छना लगाउने खालका सामग्रीहरु प्रकाशन, प्रशारण गर्न नहुने तथा प्रशारित प्रकाशित सामग्रीलाई लाईक, कमेन्ट गर्न नहुनेतर्फ सचेत गर्दै खनालले असान्र्दभिक विषयबस्तुप्रति सजग रहन आग्रह गरे। उनले निर्वाचन शान्तिपूर्णरुपले सम्पन्न गर्न सुरक्षा व्यवस्था तयार गरिएको पनि बताए।
कार्यक्रममा पत्रकार महासंघ अध्यक्ष भरत खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालयले एकजना सूचना अधिकारी तोकेर नियमित निर्वाचनबारे सूचना पत्रकारलाई उपलब्ध गराउन मिडिया डेक्स स्थापना गर्न सुझाए। जतिधेरै सूचना प्रवाह भयो उत्ति नै निर्वाचन पारदर्शी, स्वच्छ र निश्पक्ष हुने भन्दै अध्यक्ष खड्काले सूचना प्रवाह गर्न कन्जुस्याई गरे पत्रकारहरुले सहयोग गर्न असहज हुनेतर्फ सचेत गराए। सूचना लुकाउन खोज्दा कहिले काही यथार्थ कुरा ओझेलमा पर्ने तथा समाजमा गलत सन्देश प्रवाह हुनसक्ने भएकाले समयमै सूचना उपलब्ध गराउन उनको आग्रह थियो।
कार्यक्रममा अन्य पत्रकारहरुले तयारीदेखि मतपरिणामसम्मको समय र निर्वाचन हुने दिन अनुगमन गर्न पत्रकारलाई अझ बढी प्रेसर आउने भएकाले पत्रकार आवागमन सहज हुने व्यवस्था मिलाईदिन आग्रह गरेका थिए। उनीहरुले सञ्चारकर्मीहरु आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाउँदै तर, त्यसका लागि प्रशासन, प्रहरी र राजनीतिक दलहरुबाट सहजीकरण हुनुपर्ने ग्यारेन्टी मागेका थिए।
निर्वाचन अधिकारी कोईरालााले आचारसंहितामा भएको व्यवस्था, तयारीबारेमा कार्यपत्र प्रस्तुत गर्दै मतपत्र, चुनावमा खट्ने कर्मचारी, सुरक्षा व्यवस्था, मतदाता शिक्षा, राजनीतिक दल, पत्रकार, निर्वाचन अधिकारीसँग अन्तरक्रिया कार्यक्रम तिव्ररुमा भईरहेको बताएका थिए।