लिफ्ट दिने आश्वासनमा अपार्टमेन्टमा लगेर बलात्कार – पीडित गर्भवती, अभियुक्त छुटे धरौटीमा

सडकमा अलपत्र अवस्थामा भेटिएकी बालिकालाई घर पुर्‍याइदिने आश्वासनमा आफ्नै अपार्टमेन्टमा लगेर बलात्कार गर्ने युवकलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । पीडित बालिका गर्भवतीसमेत रहेको अनुसन्धानमा खुलेको छ ।

काठमाडौंको भाटभटेनी अपार्टमेन्टमा बस्ने प्रकाशकुमार श्रेष्ठले गत १२ मंसिरमा बालिकालाई बलात्कार गरेको भन्दै मुद्दा दायर भएको थियो । जसमा गत ८ पुसमा जिल्ला अदालत, काठमाडौंका न्यायाधीश उत्तम सिलवालको इजलासले प्रतिवादी श्रेष्ठलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । सो आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, उच्च अदालत गएको छ । बलात्कारका पर्याप्त प्रमाण हुँदा पनि धरौटीमा छाड्ने आदेशमा असन्तुष्टि जनाउँदै सरकारी वकिल कार्यालय त्यसविरुद्ध उच्च अदालत गएको हो ।

पीडित १५ वर्षीया बालिका नौ कक्षामा अध्ययनरत छिन् । स्वास्थ्य जाँचका क्रममा उनी गर्भवती रहेको खुलेको थियो । न्यायाधीशले पीडित र प्रतिवादीसँगै कोठामा बसेलगत्तै ‘प्रेग्नेन्सी पजिटिभ’ देखिनु र पीडितमा संघर्षका चोटपटक शरीरमा नदेखिएको आधारमा प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश दिएका हुन् ।

पीडितको शारीरिक जाँचको रिपोर्टमा ‘हाइमेन ओल्ड टियर’लाई धरौटीमा छाड्ने अर्काे आधार लिइएको छ । बालिकालाई उनको आफन्तकोमा लगेर छाडिदिएको विषय पनि आदेशमा उल्लेख छ । तर, पीडितकी दिदीले प्रहरीलाई खबर गर्छु भनेर धम्क्याएपछि उनले बालिकालाई वसुन्धारा पुर्‍याएको प्रहरी अनुसन्धानबाट देखिन्छ । न्यायाधीशको आदेशमा भनिएको छ, ‘प्रतिवादी र पीडित प्रतिवादीको कोठामा बसेको समय अवधि तथा पीडित भनिएको व्यक्तिमा तत्काल प्रेग्नेन्सी पजिटिभ देखिनु तथा अन्य घर्षणका ‘फ्रेस इन्जुरिज’हरू नदेखिई पीडितले दिदीलाई पटकपटक फोन गर्दा सम्पर्क हुन नसकी आफ्नोमा लगी राति २:५१ बजे दिदीसमक्ष पुर्‍याएको अवस्थासमेतबाट प्रतिवादी प्रकाशकुमार श्रेष्ठलाई अहिले नै थुनामा राख्नुपर्ने अवस्था देखिएन ।’

न्यायाधीशले विगतकै सम्बन्धबाट बालिका गर्भवती भएको हुन सक्ने संकेत गरेका छन् । तर, बलात्कार भए–नभएको विषयमा ध्यान नदिई आदेश दिएको पीडित पक्षको गुनासो छ । प्रहरीले पनि पीडित पहिले नै गर्भवती रहेको वा बलात्कारबाट गर्भवती रहेको विषयमा विस्तृत अनुसन्धान गरेको छैन । तर, अनुसन्धानमा आबद्ध प्रहरी र सरकारी वकिल कार्यालयका अधिकारी भने बालिकालाई बलात्कार गरेका बलिया प्रमाणसहित अभियोजन गरिएको बताउँछन् ।

पीडित बालिका भक्तपुरमा बस्ने र दुई दिनअघि वसुन्धरास्थित मामाको छोरीकोमा गएकी थिइन् । साथीलाई भेट्न त्यस दिन त्यहाँबाट उनी चाबहिल गएकी थिइन् । राति ९ बजे चाबहिल चोकमा सवारीसाधन कुरिरहेको वेला श्रेष्ठ सडकमा गाडी रोकेर बसेका थिए । पीडितले श्रेष्ठसँग वसुन्धरा जाने बाटो सोधेकी थिइन् । पछि ट्याक्सी कुरिरहेको अवस्थामा उनले आफूलाई बोलाई गाडीमा बसाएर बसुन्धरा लगेको पीडितको कागज छ । ट्याक्सीमै जान्छु भन्दा श्रेष्ठले पुर्‍याइदिन्छु भनेर जिद्दी गरेको पीडितको भनाइ छ ।

वसुन्धरा पुग्दा पीडितको दिदीको फोन उठेन । गाडीबाट झर्न खोज्दा उनले आफू घरमा एक्लै रहेकाले जाऊँ भनेर कर गरेको पीडितले प्रहरीसँगको कागजमा बताएकी छिन् । सुरुमा बाहिर खाना खान जाऊँ भनेर ठमेल लिएर गएकोमा पीडितले टाउको दुखेको बताएपछि अपार्टमेन्टमा लगेका थिए ।

श्रेष्ठले उनलाई नुहाउन र आफ्नो लुगा लगाउन भनेका थिए । नमानेपछि टिभी खोलिदिएको र टिभी हेरिरहेको अवस्थामा आफ्नो शरीर छुन थालेको र पछि जबर्जस्ती कपडा खोलेर बलात्कार गरेको उनको भनाइ छ । ४० वर्षीय श्रेष्ठ अपार्टमेन्टमा एक्लै बस्दै आएका थिए ।

प्रहरी अनुसन्धान प्रतिवेदनअनुसार यसबीचमा अपार्टमेन्टबाट पनि उनले दिदीलाई बारम्बार फोन गर्दा पनि उठेको थिएन । पछि दिदीको कोठासँगैकी अर्की महिलालाई फोन गरी आफू समस्यामा परेको भन्दै दिदीलाई उठाइदिन आग्रह गरेकी थिइन् । त्यसपछि दिदीसँग उनको फोन सम्पर्क भएको थियो । दिदीले प्रतिवादी श्रेष्ठलाई फोनमै गाली गरेपछि उनले बालिकालाई वसुन्धरा पुर्‍याइदिएका थिए । सोही दिन पीडित पक्ष प्रहरीमा गएको थियो । प्रहरी वृत्त मालीगाउँले त्यही दिन ढोकाको लक फुटाएर त्यही अपार्टमेन्टबाट उनलाई पक्राउ गरेको थियो । ढोका नखोलेपछि प्रहरीले लक फुटाएर उनलाई पक्राउ गरेको थियो । बयानमा उनले बलात्कार नगरेको दाबी गरेका छन् ।

पीडितका अनुसार अस्थायी साधनसमेत प्रयोग नगरी श्रेष्ठले बलात्कार गरेका थिए । त्यस विषयमा उनको अपार्टमेन्टबाट विर्यलगायत प्रमाण संकलन गरी प्रहरीले परीक्षणमा पठाएको छ । जुन विषयमा रिपोर्ट आइनसकेको मालीगाउँ वृत्तले जनाएको छ । अभियुक्तले गाडीदेखि नै पीडित बालिकाको हात समातेको र बलात्कारपछि पैसा दिन्छु भन्दै फकाएको प्रहरी अनुसन्धानमा खुलेको छ । यस्ता गम्भीर अपराधका अभियुक्त पनि धरौटीमा छुटेपछि अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीसमेत अचम्मित भएका छन् । वृत्तका एक अधिकृत भन्छन्, ‘यस्तो केसमा अभियुक्त धरौटीमा छुटेको अहिलेसम्म मलाई थाहा थिएन ।’

गत २ पुसमा पनि जिल्ला अदालतले नाबालिका बलात्कारका आरोपी काठमाडौं बालुवाटारका हिमाल शाहीलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । १४ वर्षीया नाबालिकालाई बालुवाटारमा पटक–पटक बलात्कार गरेको अभियोग शाहीमाथि थियो । न्यायाधीश शिशिरराज ढकालको आदेशअनुसार शाही तीन लाख धरौटीमा छुटेपछि शाहीलाई थुनामै राख्नुपर्ने भन्दै सरकारी वकिल उच्च अदालत गएको छ ।

-न.प.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation