`तीज´ एक पितृसत्तात्मक जंन्जीर !

 

तीजलाई हाम्रो समाजमा “श्रद्धा” र “संस्कार”को पर्व भनेर चित्रण गरिन्छ, तर यसको मूल संरचना गहिरो पितृसत्तात्मक विचारमा जरा गाडेर बसेको छ। जहाँ एक नारीको सम्पूर्ण तपस्या र त्याग केवल एक “आदर्श पति” पाउने प्रयोजनमा सीमित छ। धार्मिक दृष्टिले यसलाई देवीप्रतिको भक्ति, दाम्पत्य सुख र पतिको दीर्घायुको प्रतीक मानिन्छ; तर नवैज्ञानिक दृष्टिकोणले हेर्दा यो विश्वास वैज्ञानिक, नैतिक र मानवीय स्वतन्त्रताको दृष्टिले समस्या ग्रस्त छ।

वैज्ञानिक-सामाजिक दृष्टिकोणबाट, कुनै पनि प्राकृतिक घटना वा मानवीय सम्बन्ध-जस्तै स्वास्थ्य, जीवनको अवधि वा वैवाहिक सफलता-कुनै अदृश्य शक्ति वा अलौकिक हस्तक्षेपले नियन्त्रित गर्छ भन्ने दाबी प्रमाणित हुन सक्दैन। तीजका कर्मकाण्ड, उपवास, र गीत-नृत्यकाभित्र लुकेका संदेशहरू महिलालाई धार्मिक-सांस्कृतिक जन्जीरमा बाँध्ने प्रवृत्तिको हिस्सा हुन्, जहाँ नारीको पहिचान र मूल्य केवल “पत्नी” र “पतिव्रता”को भूमिकासँग सीमित गरिन्छ।

यसैले, तीजलाई एउटा सांस्कृतिक अभ्यासको रुपमा अध्ययन गर्न सकिन्छ, तर यसको धार्मिक मिथक र अन्धविश्वासलाई आलोचनात्मक रूपमा उउजागर गर्नु आवश्यक छ-किनकि यस्ता संस्कारले लिङ्गीय-समानता, वैज्ञानिक चेतना र व्यक्तिगत स्वतन्त्रताको बाटोमा देखिने सौन्दर्यपूर्ण तर खतरनाक अवरोधको काम गर्छन्।

तीजलाई प्रायः “नारीहरूको महान चाड” भनेर प्रचार गरिन्छ, तर यसको आधार र उत्पत्ति हेर्दा स्पष्ट हुन्छ-यो केवल पितृसत्ताको पुरानो संरचनालाई संरक्षण गर्ने, महिलालाई “पति-परायण” बनाउने र अन्धविश्वासको जालमा बाँधिराख्ने एक धार्मिक आवरण मात्र हो।

तीजको मिथक रामायण र पुराणहरूमा आधारित छ, जसमा पार्वतीले महादेवलाई पतिको रूपमा पाउन कठोर ब्रत बसेको कथालाई आदर्शको रूपमा प्रस्तुत गरिन्छ। यस कथाले सीधा सन्देश दिन्छ-महिलाको जीवनको सर्वोच्च उद्देश्य पति पाउनु र पतिको सुखका लागि आफ्नो जीवन बलिदान गर्नु हो। यो विचार विज्ञान, समान अधिकार, र आधुनिक मानवाधिकार सिद्धान्तसँग प्रत्यक्षरुपमा अन्तरविरोधी छ।

वैज्ञानिक दृष्टिले ब्रत बस्दा “पति लामो आयु पाउँछ” भन्ने दाबीको कुनै प्रमाण छैन। मानव शरीर स्वास्थ्य पोषण, व्यायाम, मानसिक सन्तुलन, र समयमै उपचारमा निर्भर हुन्छ। कसैको लागि खान नखानाले अर्काको जीवन अवधि बढ्छ भन्ने कुरा पूर्ण रूपमा अवैज्ञानिक हो। यदि यसरी जीवनको आयु नियन्त्रण गर्न सकिने हो भने, संसारमा अस्पताल, औषधि र चिकित्सकको आवश्यकता नै रहने थिएन।

धर्मको आवरणमा लुकेका यस्ता कुतर्कले महिलालाई शारीरिक रूपमा कमजोर बनाउने मात्र होइन, मानसिक रूपमा पनि अपराधबोध र निर्भर मानसिकता भरिदिन्छ। “पति-केन्द्रित” चाडहरू, चाहे तीज होस्, या अन्य वास्तविक समानता र स्वतन्त्रताको मार्गमा बाधक हुन्। यस्ता चाडहरूको सामाजिक कार्य भनेको पितृसत्तात्मक मूल्यहरूको पुनः पुष्टि गर्नु मात्र हो। जहाँ पुरुष स्वतः पूजनीय र महिला सधैं बलिदानी पात्र बनिरहेका हुन्छन्।

आधुनिक युगमा, जहाँ महिलाले शिक्षा, रोजगार, र सामाजिक नेतृत्वमा योगदान दिइरहेका छन्, त्यस्ता मिथकलाई वैज्ञानिक, तार्किक र मानवअधिकारको दृष्टिले चुनौती दिन जरुरी छ। सांस्कृतिक उत्सव मनाउने अधिकार सबैलाई छ, तर त्यो अधिकार अन्धविश्वासको नारा र असमानताको संरचना बलियो बनाउने खालको हुनु हुँदैन।

तीजलाई यदि मनाउने नै हो भने, यसलाई “महिला-स्वास्थ्य, आत्मनिर्भरता, र समानताको उत्सव” का रूपमा पुनः परिभाषित गर्नुपर्छ। मिथकको ढर्राबाट मुक्त नगर्ने हो भने, यो चाड केवल रंगीचंगी जेलखाना जस्तो हुन्छ-जहाँ महिलाले हाँस्दै-रमाउदै आफ्नो स्वतन्त्रता गुमाईरहेका हुन्छन्।

अहिले तीज केवल पुराणका पार्वती-महादेव मिथकमा सीमित छैन, बरु धेरै शहरमा यसलाई “प्रगतिशील”, “सांस्कृतिक” र “आधुनिक” नाम दिएर प्रस्तुत गर्न थालिएको छ। रंगीन मञ्च, चम्किला पहिरन, महंगा होटल पार्टी, डीजे, र फोटो-सेसनले तीजलाई आधुनिकताको आवरणमा नयाँ रूप दिए जस्तो देखिन्छ। तर गहिराइमा गएर हेर्दा, यसको मूल संरचना र मानसिकता उस्तै पुरानै पितृसत्ताको सेवक रहन्छ।

पहिलो कुरा-प्रगतिशील भनिएका यी तीज कार्यक्रमहरूमा अझै पनि “शुभ पति”, “पति-परायण नारी” र “परम्परा जोगाउने महिला” भन्ने सन्देशलाई हल्का स्वरूपमा भए पनि पुनः उत्पादन गरिन्छ। मञ्चमा नृत्य गर्ने, हाँस्ने, सेल्फी खिच्ने, आधुनिक लुगा लगाउने-यी सबै देखावटी गतिविधिले महिलाको स्वतन्त्रता बढाएको भ्रम दिन्छ, तर विचारको तहमा महिलालाई अझै पनि “धर्म र संस्कृतिको वाहक” बन्न बाध्य पार्छ।

दोस्रो कुरा-यस्ता प्रगतिशील-तीजले वास्तविक महिला मुद्दाहरूलाई ओझेलमा पार्छ। श्रम, शिक्षा, यौनिक स्वतन्त्रता, कानुनी समानता, स्वास्थ्य अधिकारजस्ता गहिरा विषयहरूको सट्टा, सम्पूर्ण ऊर्जा र ध्यान सौन्दर्य प्रतियोगिता, महँगा गहना-साडी प्रदर्शन, र मनोरञ्जनमा खर्चिन्छ। यो महिलाको अधिकारलाई उपभोग्य वस्तुको रूपमा प्रस्तुत गर्ने अर्को छद्मरूप हो।

तेस्रो कुरा-सांस्कृतिक संरक्षणका नाममा भइरहेको महंगा तीज पार्टी र कार्यक्रमहरूले वर्ग-भेदलाई अझ बलियो बनाउँछन्। महंगा होटल, प्रवेश शुल्क, ब्रान्डेड पहिरन-यी सबैले आर्थिक रूपमा सम्पन्न महिला मात्र सहभागी हुन सक्ने गरी वातावरण बनाइन्छ। यसले ग्रामीण तथा आर्थिक रूपमा कमजोर श्रमिक महिलालाई अझै पनि सांस्कृतिक गतिविधिबाट अलग्याउँछ।

अन्ततः, “प्रगतिशील” भनिएको तीज पनि त्यहीँ पुरानो मूलभूत सन्देश बोकेर आउँछ-महिला जीवनको केन्द्र भनेको विवाह र पति हो, र उसको आत्मसम्मान उसको सौन्दर्य र संस्कारमा अडेको छ। फरक केवल बाहिरी आवरण मात्रै हो-जहाँ पुरानो पितृसत्ता बोतलमा नयाँ रङ्गीन स्टिकर टाँसेर ब्राण्डिङ्ग गरिएको छ।

प्रगतिशीलताको आवरणमा भएका यस्ता तीज गतिविधिहरूले महिलाहरुको स्वतन्त्रतालाई मुक्त नगरी, केवल नयाँ स्वादको पितृसत्तात्मक संस्कृति परोस्छन्। यदि साँच्चै प्रगतिशील तीज चाहिन्छ भने, यसले महिलालाई धार्मिक मिथकबाट मुक्त गर्दै, अधिकार, समानता, र आत्मनिर्भरता केन्द्रित राजनीतिक-सामाजिक विमर्शको रूप लिनुपर्छ-नत्र यो केवल “पितृसत्ताको आधुनिक फेससेभिङ” मात्र हो।

तीज, जसलाई धेरैले “संस्कार” र “आस्था”को नाममा पूज्छन्, वस्तुतः पितृसत्तात्मक संरचनाले महिलालाई नियन्त्रण गर्ने, उनीहरूको स्वतन्त्रता धार्मिक कथाहरूको आवरणमा सीमित गर्ने एउटा सांस्कृतिक उपकरण हो। यसको धार्मिक मिथक-जहाँ नारीको सर्वोच्च कर्तव्य र गौरव पतिको जीवन र इच्छापूर्तिको साधन मात्रै हो-आधुनिक, समानतामूलक र वैज्ञानिक समाजसँग पूर्ण असंगत छ।

मानव जीवनको सुख-दुःख, स्वास्थ्य वा दाम्पत्य सम्बन्ध कुनै देवी-देवताको कृपा वा कोपमा निर्भर छैन; यी सबै सामाजिक, जैविक र व्यक्तिगत कारणहरूले तय हुन्छन्। त्यसैले, तीजको वास्तविक मूल्य परम्परागत मिथकमा नभई, महिलाबीचको सामाजिक एकता, कला-संस्कृति आदान-प्रदान र स्वतन्त्र अभिव्यक्तिमा सीमित गर्नुपर्छ।

यदि हामी यस पर्वलाई धार्मिक अन्धविश्वास र अवैज्ञानिक कुतर्कबाट मुक्त गर्न सक्छौं भने मात्र तीज भविष्यमा एक प्रगतिशील र समानतामूलक उत्सवको रूपमा अस्तित्वमा रहन सक्छ। अन्यथा, यो पर्व केवल विगतको पितृसत्तात्मक जन्जीरको पुनरावृत्ति बन्नेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation