कर्फ्यूका बाबजुद जेनजीको आन्दोलन रोकिएको छैन। यसैबीच सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्। ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका हुन्। प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले आगो झोसेका छन्। आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ।
देशभरका प्रमुख शहरहरूमा अहिले पनि प्रदर्शन भइरहेको छ। काठमाडौंको बानेश्वर संसद भवन परिसरमा अहिले पनि प्रदर्शनकारीहरू देखिएका छन्।
हिजोको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि आज उनीहरू थप आक्रामक भएका छन्। काठमाडौँको कलंकीमा बिहानैदेखि टायर बालेर प्रदर्शन भइरहेको छ। सो क्रममा ठाउँ ठाउँमा प्रहरीसँग झडप समेत भएको छ।
प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भए पनि त्यसको परवाह नगरी जेनजीहरू सडकमा निस्कन थालेका छन्।

















