
सुन्दैछु मन्त्री ज्यू-
आज तिमीले आफ्नो नाङ्गो लगत बुझायौ रे!
पारदर्शिताको यो रङ्गमञ्चमा-
तिम्रा सुकिला महल र सुनका ढिक्काहरू
पत्रिकाका पानामा ‘मोडल’ झैँ मुस्कुराइरहेछन्।
तिमी इमानको तौल जोखेर दंग छौ,
म भने ५० डिग्रीको भट्टीमा आयु पगालेर
तिम्रो वैभवको अदृश्य लागत तिरिरहेछु।
ए मन्त्री ज्यू!
त्यो सुनको चमकमा एकपटक ऐना हेर्नू,
त्यहाँ मेरा बा-आमाका ओभानो आँखा देखिनेछन्-
जसको औषधि तिम्रो दराजको असर्फीमा कैद छ।
त्यो सुनको डल्ला सुँघेर हेर्नू त-
त्यहाँ खाडीबाट बाकसमा फर्केका
मेरा दौँतरीका कुहिएका सपनाको गन्ध आउनेछ।
तिमी जग्गाका कित्तामा वंश सुरक्षित गर्छौ,
म पुर्ख्यौली आँगन धितो राखेर बन्दकी बस्छु।
तिम्रा ‘शून्य’ हरू बैंकमा थपिँदै जाँदा
मेरो ऋणको ब्याज मरुभूमिमा थपिँदै जान्छ।
गर्व गर मन्त्री ज्यू!
तिम्रो कुर्सी मेरो देश निकालाको जगमा छ,
जहाँ बसेर तिमीले सुनको लगत त बुझायौ-
बिदेसिएको श्रमको लागत कहिल्यै जोखेनौ।
तिमीलाई तिम्रो सम्पत्ति ‘मुबारक’ होस्,
मलाई त बस् त्यो रित्तो बाकससँग डर लाग्छ-
जसमा सुन त हुँदैन,
एउटा सिङ्गो परिवारको ‘भरोसा’ सुतेको हुन्छ।
भनिदेऊ मन्त्री ज्यू-
कुन दिन तिम्रो यो समृद्धिको सूचीमा
मेरा साना खुसीहरूको पनि नाम भेटिनेछ?
कि सधैँ यसरी नै-
तिम्रो घरको ‘सुन’ बढिरहनेछ,
अनि मेरो गाउँको ‘सूनसान’ बाँचिरहनेछ?















