सञ्जीवनी अस्पताकाे शान्तिनगरमा निशुल्क स्वास्थ्य शिविर हुने

३१ बैशाख, दाङ

संजीवनि शिक्षण अस्पताल घोराही र शान्तिनगर गाँउपालीकाको सहकार्यमा दाङको शान्तिनगर गाउँपालिकामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । आगामी २०८३ साल जेठ २ गते शनिबार शान्तिनगर गाउँपालिका वडा नं. ५ बैँसास्थित सभाहलमा सञ्चालन हुने शिविरबारे बुधबार गाउँपालिकाको सभाहलमा पत्रकार भेटघाट कार्यक्रम गरी जानकारी गराइएको हो ।

शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको उपस्थितिमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य शिविरमार्फत स्थानीय नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्य रहेको बताइएको थियो । विशेषगरी आर्थिक अभावका कारण नियमित स्वास्थ्य परीक्षण तथा उपचार सेवाबाट वञ्चित नागरिकलाई लक्षित गर्दै शिविर आयोजना गर्न लागिएको जनाइएको छ ।

अस्पतालका सिइओ दीपक रोकाका अनुसार शिविरमा जनरल फिजिसियन, जनरल सर्जरी, प्रसूति तथा स्त्री रोग, बाल रोग, नाक कान घाँटी तथा रेडियोलोजी सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिनेछ । साथै स्वास्थ्य परीक्षण, ल्याब टेस्ट, औषधि वितरण, भिडियो एक्स–रे तथा स्वास्थ्य परामर्श सेवा समेत निःशुल्क उपलब्ध गराइने जानकारी दिइएको छ ।

शिविर बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने बताइएको छ । कार्यक्रममा बोल्दै सिइओ रोकाले शिविरमा स्वास्थ्य जाँच गराएका बिरामीलाई थप उपचार आवश्यक परेमा संजीवनी शिक्षण अस्पतालमा आएर उपचार गर्दा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य पहुँच उपलब्ध गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको छ । साथै उँहाले स्थानीयवासीलाई स्वास्थ्य समस्यालाई बेवास्ता नगरी शिविरमा सहभागी भई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउन आग्रह गर्नुभएको छ ।

शिविरमा विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूलाई प्राथमिकताका साथ सेवा प्रदान गरिने जनाइएको छ । आयोजकले स्थानीय नागरिकलाई समयमै उपस्थित भई निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation