१६ जेठ, काठमाडौं
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिला अधिकार र मानव अधिकार एकअर्काका परिपूरक भएको बताएका छन् ।
शनिबार महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला अधिकारको सम्मान र सफल कार्यान्वयन बिना समग्र मानव अधिकारको अवस्था सबल बन्न नसक्ने उनको भनाइ छ ।
अध्यक्ष मगरले संवैधानिक व्यवस्थाअनुसार मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धन गर्नु आयोगको प्रमुख कर्तव्य रहेको उल्लेख गरे ।
उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, आदिवासी तथा लैंगिक एवं यौनिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित गर्न आयोगले उजुरी लिने, अनुगमन गर्ने र सरकारलाई आवश्यक सिफारिस गर्ने कार्यलाई निरन्तरता दिइरहेको जानकारी दिए ।
‘महिला अधिकार र मानव अधिकार एक अर्काका परिपूरक हुन । महिला अधिकारको सम्मान र सफल कार्यान्वयन बिना मानव अधिकारको अवस्था सबल बन्न सक्दैन । हामी सबै सर्वप्रथम मानव हौं,’ उनले भने ।
सरकारी कार्यालयहरूमा शिशु स्याहार केन्द्र स्थापना र हानिकारक अभ्यासका रूपमा रहेको छाउपडी प्रथाको अन्त्यका लागि आयोगले सरकारलाई आवश्यक सिफारिस गरिसकेको उनले बताए ।
अध्यक्ष मगरले संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिको समितिमा आयोगका तर्फबाट छैटौं र सातौं आवधिक प्रतिवेदन पेश गरिएको जानकारी दिए ।
‘बोक्सीको आरोपमा महिलामाथि हुने दुर्व्यवहारलाई अपराध मान्नुपर्ने आयोगको सिफारिस कार्यान्वयन भई हाल कानुनी सजायको व्यवस्था भइसकेको छ । त्यस्तै, बलात्कारका घटनाको अनुसन्धानका लागि हरेक प्रदेशमा डीएनए परीक्षण गर्ने विधिविज्ञान प्रयोगशाला स्थापना गर्न गरिएको सिफारिसका आधारमा केही प्रदेशमा प्रयोगशाला स्थापना भइसकेका छन्,’ उनले भने ।

















