शिखरपथ !

सपना भनेको
कागजको अक्षर होइन,
आगो हो;
जसले अन्धकार जलाउँछ।

सपना भनेको
हावा होइन,
माटोमा छापिएका पाइला हुन्,
जसले बाटो देखाउँछ।

त्यसैले,
हामी हिँड्नैपर्छ;
तुफानसँग जुध्दै,
भोकसँग टक्कर खाँदै,
आफ्नै पाखुरामा भरोसा राख्दै।

न शोषणको जुत्तामुनि दबिनु पर्छ,
न अन्यायको कोर्रा सहनु पर्छ।
श्रमको हातलाई
दास होइन,
स्पात बनाउनुपर्छ।

शिखर;
केवल हिमालको टुप्पो होइन,
यो मानवताको मुक्तिको झण्डा हो।
यो चेतनाको घण्टी हो,
जसले अन्धविश्वासको निद्रा भङ्ग गर्छ।

हामीले चुम्नु पर्ने शिखर
कञ्चनजङ्घा होइन,
समानताको शिखर हो।
हामीले उक्लनु पर्ने पर्वत
सगरमाथा होइन,
न्यायको पर्वत हो।

सोधिन्छ;
किन चुम्नु पर्छ शिखर?
किन भने,
यदि हामी रोकियौं भने
हाम्रो सपना चिहानमा पुरिन्छ।
यदि हामी डरायौं भने
हाम्रो भविष्य अन्धकारमा डुब्छ।

त्यसैले,
हामीले भन्नैपर्छ;
“हामी यहाँ छौं,
हाम्रो हातमा शक्ति छ,
हाम्रो शिरमा स्वाभिमान छ,
हाम्रो हृदयमा विज्ञान छ।”

शिखर चुम्नु पर्छ;
यही हो हाम्रो वचन,
यही हो हाम्रो सपना,
यही हो हाम्रो जीवन।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation