
काठमाडौंका सडकहरू फेरि रगतले पोतिएक छन्। हातमा मोबाइलको टर्च, स्वरमा विद्रोह, आँखामा असन्तोषको झिल्को-यी युवाहरूले देखाएको दृश्य सामान्य विरोध होइन। यो पुस्ताले चाहेको छ स्वतन्त्रता, अभिव्यक्ति र समान अवसर।
तर विडम्बना के छ भने, जहाँ युवामा आँधीजस्तो उर्जा छ, त्यहाँ स्पष्ट दिशा छैन। एक दिनको प्रदर्शन, अर्को दिनको आक्रोश-तर दीर्घकालीन योजनाको खाका भने शून्यजस्तै। इतिहासमा धेरै आन्दोलनहरू यही कारण असफल भए-उर्जा दिशाहीन हुँदा त्यो सत्ता बदल्ने शक्ति नभई क्षणिक कोलाहलमा सीमित रह्यो।
अर्कोतिर सत्ता भने उस्तै छ-भ्रष्ट, जनविरोधी, दमनकारी जसको जति भत्सर्ना गरेपनि कम हुन्छ। उनीहरूको प्राथमिकता देश होइन, दलालहरूको कमीशन हो। जनताको आवाज दबाउन, सञ्जाल बन्द गर्न, लाठीचार्ज र अश्रुग्यास फ्याँक्न र गोली चलाउन उनीहरू सजिलै तयार हुन्छन्। यिनले बुझ्न सकेका छैनन्-यस्तो दमनले आन्दोलन रोकिँदैन, बरु अझै उग्र हुन्छ। चेतनालाई बन्दुकले रोकिँदैन, प्रतिबन्धले दबिँदैन।
तर, आन्दोलनकारीहरूले पनि आत्ममूल्यांकन गर्नैपर्छ।
* के उनीहरूको आन्दोलन केवल “सामाजिक संजाल खोले” यतिमै सीमित हुन्छ?
* कि यसले भ्रष्ट मानसिकता र संरचनागत अन्यायलाई उखेल्ने लामो बाटो तय गर्छ?
सरकारले जसरी दमनको नीति अख्तियार गरेको छ, त्यस्तो दमन र हत्या कुनै पनि परिस्थितिमा जायज हुँदैन। जीवन मानवताको सर्वश्रेष्ठ सम्पत्ति हो, जसलाई हिंसाको भर्याङबाट मेटिनु सभ्यताको अपमान हो। शक्ति, प्रतिशोध वा धर्म-जातको नाममा निर्दोष प्राण लिनेहरू वास्तवमा कायर हुन्-किनकि सत्यसँग वादविवाद गर्न नसक्ने, तर्कसँग उभिन नसक्नेहरूले मात्र अरूको जीवन समाप्त पार्छन्।
मानव सभ्यताको विकास तर्क, सहिष्णुता र सहअस्तित्वमा आधारित छ, तर दमन र हत्या यसैको प्रतिकूल चरम अन्धकार हो। दमनबाट समाधान होइन, झन् द्वन्द्व, त्रास र प्रतिशोधको श्रृङ्खला जन्मन्छ। त्यसैले, हरेक हत्या-दमन केवल एक व्यक्तिको मृत्यु मात्र होइन-मानवताको सामूहिक हार हो, जसको भत्सर्ना गर्ने कुनै शब्द छैन।
अबको आन्दोलन: यदि यो पुस्ताले इतिहासमा आफ्नो नाम लेख्न चाहन्छ भने, आन्दोलनलाई निम्न मोडालिटीमा रूपान्तरण गर्नुपर्छ:
* केवल सडकमा नाराबाजीले पुग्दैन, समानान्तर वैकल्पिक योजना र दीर्घकालीन एजेन्डा चाहिन्छ।
* स्वतःस्फूर्त भीड टिक्दैन। स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म नेटवर्क, नेतृत्व र रणनीति बनाउनु आवश्यक छ।
* फेसबुक वा युट्युब बन्द हुनु आन्दोलनको प्रारम्भ हो, अन्त्य होइन। वास्तविक मुद्दा रोजगारी, शिक्षा, समानता, र न्याय हो।
*सत्ताको भण्डाफोर मात्रै होइन, नयाँ समाजको खाका प्रस्तुत गर्न सक्नुपर्छ।
स्मरण रहोस्-जनतालाई दबाउन सकिन्छ, तर उनीहरूको चेतनालाई होइन। जब ऊर्जा संगठन र वैकल्पिक दृष्टिसँगै आउँछ, तब मात्र आन्दोलन “क्षणिक विद्रोह” बाट “ऐतिहासिक क्रान्ति”मा रूपान्तरण हुन्छ।
यसैबीच मैले बिहानै पोष्ट गरेको थिए-“There is solidarity and full support for this movement, which carries the slogan that I have been advocating for a long time. But let us be aware of the danger of the movement being misused by royalist or vested interest groups. The danger of infiltration may be even more terrible. Only the ideological commitment of the movement’s leadership determines the outcome of the movement.”
-यो कुरा आजले घटनालेअझै सान्दर्भिकरुपमा उजागर भएको छ। आन्दोलनमा हजारौँ युवाको ऊर्जा मिसिएको छ, तर त्यसैलाई अवसरवादी वा राजावादी शक्तिहरूले कब्जा गर्न खोजे भने यसले अर्को राजनीतिक दासत्व जन्माउन सक्छ। त्यसैले अबको आन्दोलन केवल आक्रोशको प्रदर्शन नभई, स्पष्ट वैचारिक धरातल र दीर्घकालीन योजनासहित अघि बढ्नैपर्छ।
भ्रष्टाचार, निरंकुशता र दमनकारी प्रवृत्तिको भण्डाफोर गर्दै आएको यो आन्दोलनले अब नयाँ मोड लिनुपर्नेछ-सङ्गठित संरचना, पारदर्शी नेतृत्व र विचारिक स्पष्टता। नत्र, सडकमा उत्रिएको यो असन्तोष फेरि पनि इतिहासकै अर्को अध्यारो अध्यायमा परिणत हुन सक्छ।
अन्ततः, नेपालमा चलेको जिन-ज़ेड आन्दोलन केवल सडकमा उभिएको असन्तुष्ट पुस्ताको प्रदर्शन मात्र हुनुहदैन, यो देशकै भविष्य लेख्ने एउटा निर्णायक मोड हुनपर्छ। यसले पुरानो पुस्ताले बेवास्ता गरेको प्रश्नहरूलाई धारिलो ढङ्गले उचाल्नुपर्छ-शिक्षा, रोजगार, समानता र अभिव्यक्ति स्वतन्त्रताको प्रश्न। तर यो आन्दोलनकै स्वरूपले एउटा कठोर वास्तविकता पनि उजागर गरेको छ-नेतृत्वहीनता, दीर्घकालीन दृष्टिकोणको कमी र भावनामा तात्ने तर रणनीतिमा कमजोर हुने कमजोरी। यसैको कारण यो आन्दोलनमा घूसपैठ, अराजकता र नेतृत्वले संस्थागत रूप लिन नसकेको प्रष्ट देखिन्छ।
















