सपना तिम्रो !

लुटको स्वर्ग फिर्ता माग्ने,
पापात्मालाई धर्मात्मा ठान्ने,
भृत्य सेवक बन्ने सपना सजाएका,
चिहानबाट कङ्काल ब्युँझाउन हिडेका मृतआत्माहरू।

नयाँ आवाज सुन्नै नचाहने,
आलोचना र विरोध सहनै नसक्ने,
परिवर्तनलाई बुझनै नचाहने,
सङ्घर्षको रापतापले दुलोभित्र लुकेका लुटेराहरू।

अर्ध-निद्राबाट ब्यूँझीएर,
बेसुरले बरबराई रहेका,
आफै नाङ्गिदा समेत पत्तै नपाई नाचिरहने नर्कटहरू—
के यिनीहरूको विवेक गुमेकै हो त?

आफ्नै घर जलेर खरानी भएको बेला,
त्यहि खरानी माथि उभिएर बिहानीलाई स्वागत गर्नेहरू,
आलोचनालाई आत्मसाथ गर्दै सङ्घर्षलाई समर्थन गर्नेहरू,
निष्ठाको दिप जलाई पसिनाको मसिले कविता कोर्नेहरू,
बन्दुक संग नडराई बैरीसँग नझुकी आगोसँग खेल्नेहरू —
के उनीहरू पनि तिनैसँग तुलना गर्न मिल्ने हुन् त?

नव-जवानहरू हो,
यदि तिम्रो बुझाइ यही हो भने
तिम्रो पनि विवेक सुन्य नै होला त ?

कसैले बजाएको सङ्गीतको धुनमा फुरूङ्ग भइ,
अरूकै तालमा नाचिरहने नचर्गी जस्तो होलाउ तिमी?

बैरीहरूले झुक्याउन सक्छन्,
तिमी झुक्किन सक्छौं—
साबधान!

आफ्नै ताल, आफ्नै लय, आफ्नै सङ्गीतमा झुम्न सिक।
मित्र को हो, बैरी को हो, आफ्नै दृष्टिले छुट्याउन सिक।

सङ्घर्ष के हो?
निशाना कहाँ हो?
अर्जुन दृष्टि लगाउन सिक।

सिर्जना तिम्रै थियो,
साहस तिमीले नै गरेका हौँ,
निर्णय तिम्रै लागु हुनु पर्छ।

रगत तिम्रै बगेको थियो,
बलिदान तिमीलेनै गरेका हौँ,
सपना तिम्रै पुरा हुनु पर्छ।
***

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation