
भौतिकवादी समाज नेपाल सिराहा जिल्ला समितिको आयोजनामा गोलबजारस्थित उद्योग वाणिज्य संघको सभाहलमा ‘भौतिकवाद के हो र के होइन ?’ विषयक अन्तरक्रिया तथा तेस्रो जिल्ला भेला सम्पन्न भएको छ। करिब एक सय जनाको सहभागिता रहेको कार्यक्रममा भौतिकवादको आवश्यकता, वैज्ञानिक चेतना, अन्धविश्वास तथा आधुनिक विज्ञानको भूमिकाबारे व्यापक छलफल गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले आजको विश्व विज्ञान र प्रविधिको अभूतपूर्व विकासको युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै मानिसको दैनिक जीवनका हरेक गतिविधि विज्ञान र प्रविधिमै निर्भर रहेको बताए। सञ्चार, यातायात, स्वास्थ्य, शिक्षा, कृषि तथा उत्पादनका क्षेत्रमा भएको क्रान्तिकारी परिवर्तन प्रकृतिविज्ञान र आधुनिक विज्ञानकै उपलब्धि भए पनि समाजमा अझै धार्मिक भ्रम, भाग्यवाद, कर्मकाण्ड र अन्धविश्वासले गहिरो प्रभाव कायम राखेको उनीहरूको निष्कर्ष थियो।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव विश्वभक्त दुलाल ‘आहुति’ले भौतिकवाद कुनै व्यक्तिविशेष वा समूहविरुद्धको विचार नभई सत्य, तर्क र वैज्ञानिक प्रमाणमा आधारित जीवनदृष्टि भएको धारणा राखे। अन्धविश्वासमा विश्वास गर्ने मानिसहरूलाई शत्रुका रूपमा नभई सचेतनाको यात्रामा रहेका साथीका रूपमा हेर्नुपर्ने र वैज्ञानिक सोच विस्तारमार्फत समाजलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता उनले औंल्याए।
भौतिकवादी समाज नेपालका केन्द्रीय सदस्य रोशन जनकपुरीले भौतिकवादलाई कुनै नयाँ सिद्धान्तका रूपमा नभई हजारौं वर्षदेखि विकसित हुँदै आएको दार्शनिक परम्पराको निरन्तरताका रूपमा व्याख्या गरे। दक्षिण एसियाली दर्शनमा चार्वाक परम्पराबाट विकसित भएको भौतिकवादी चिन्तनले प्रकृति र समाजलाई अलौकिक शक्तिबाट होइन, वस्तुगत यथार्थबाट बुझ्ने दृष्टिकोण विकास गरेको उनको भनाइ थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले नेपालका धेरै राजनीतिक तथा सामाजिक कार्यकर्ताहरूले आफूलाई प्रगतिशील दाबी गरे पनि व्यवहारमा धार्मिक अन्धविश्वास, भाग्यवाद र कर्मकाण्डबाट पूर्ण रूपमा मुक्त हुन नसकेको चर्चा गरे। विज्ञानको प्रयोग गरेर जीवन सञ्चालन गर्ने तर समस्याको समाधान खोज्दा पुनः अलौकिक शक्तिमाथि निर्भर हुने प्रवृत्ति समाजमा अझै विद्यमान रहेको उनीहरूको विश्लेषण थियो।
भौतिकवादी समाज नेपालका केन्द्रीय अध्यक्ष बैद्यनाथ श्रमजीवीले भौतिकवादी समाज कुनै राजनीतिक दलको भ्रातृ संगठन नभई वैज्ञानिक सोच, तर्कशीलता र अन्धविश्वासविरुद्धको साझा अभियानका रूपमा स्थापित भएको बताए। देशभरका विभिन्न विचार र राजनीतिक पृष्ठभूमिका व्यक्तिहरूलाई वैज्ञानिक चेतनाको आधारमा एकताबद्ध गर्ने उद्देश्यले समाज गठन गरिएको जानकारी उनले दिए।
वक्ताहरूले भौतिकवादी बन्नु भनेको कुनै धर्म, संस्कृति वा समुदायप्रति घृणा गर्नु नभई कुनै पनि विषयलाई प्रमाण, तर्क, अनुभव र वैज्ञानिक परीक्षणका आधारमा बुझ्ने अभ्यास विकास गर्नु भएको स्पष्ट पारे। समाजमा विद्यमान अन्धविश्वास, जातीय विभेद, भाग्यवाद र अलौकिक भ्रमविरुद्ध संघर्ष गर्दै वैज्ञानिक चेतनाको विस्तार गर्नु आजको आवश्यकता भएको उनीहरूको निष्कर्ष थियो।
कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष बिमल यादवले गरेका थिए भने सहजीकरण केन्द्रीय सदस्य शिवकुमार महराले गरेका थिए। केन्द्रीय सल्लाहकार राम रिजन यादवले कार्यक्रमको अवधारणापत्र प्रस्तुत गरेका थिए।
अन्तरक्रियापछि सम्पन्न भेलाले रविन्द्र महराको अध्यक्षतामा २५ सदस्यीय नयाँ जिल्ला समिति चयन गरेको छ। साथै आठ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ। भेलाले सिराहामा वैज्ञानिक चेतना, तर्कशील सोच तथा अन्धविश्वासविरुद्धको अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
















