पत्रकार पाेख्रेललाई न्याय दिलाउन नेपाल पत्रकार महासंघ र श्रमजीवी पत्रकार संगठन महानगरमा

काठमाडौंकाे सुन्धारामा फागुन १६ गते भएको फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपका क्रममा रिपोर्टिङ गरिरहेका प्राणमञ्च मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादक पदम प्रसाद पाेख्रेलमाथि महानगर प्रहरीले गरेकाे सांघातिक हमला, कुटपिट र लुटपाटकाे विषयमा नेपाल पत्रकार महासंघ र श्रमजीवी पत्रकार संगठनले आज पुनः ध्यानाकर्षण गराएका छन् । सँगसँगै साे घटनाका प्रत्यक्षदर्शी एवम् पीडित पदम प्रसाद पाेख्रेलले पनि न्याय तथा क्षतिपूर्तिको लागि प्रदीप परियारसामु निवेदन पेस गरेका छन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पाेख्रेल, केन्द्रीय सदस्य सुशील पाेख्रेल र भवानी पाण्डे तथा श्रमजीवी पत्रकार संगठनका अध्यक्ष जन्मदेव जैसी, चमन काेइराला, भरत माल्लाकार, प्रेम न्यौपाने र सरोज न्यौपानेको संयुक्त टाेलीले महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पाैडेललाई ध्यानाकर्षण गराएकाे हाे ।

महासंघका अध्यक्ष विपुल पाेख्रेलले आगामी दिनमा सहज ढंगले रिपोर्टिङ गर्ने वातावरणकाे सिर्जना गर्न महानगर थप जिम्मेवार हुनुपर्ने सुझाउँदै पदमकाे सम्पूर्ण उपचार खर्च महानगरले व्यहोर्नुपर्ने र खाेसिएका सबै सामाग्री अविलम्ब फिर्ता गरिदिन अपिल गर्दै त्यसाे नभए थप संघर्ष गर्न बाध्य हुने बताए ।

टाेलीले पीडित पदम प्रसाद पाेख्रेलले दिएकाे निवेदनकाे यथासक्य छिटाे सुनुवाइ गरी खाेसिएका उल्लेखित सम्पूर्ण सामाग्री ससम्मान फिर्ता गरी आगामी दिनमा प्रेस तथा पत्रकारमाथिकाे हमला राेक्न अपिल पनि गरेकाे छ ।

त्यस्तै श्रमजीवी पत्रकार संगठनले आइतबार पुनः एक ध्यानाकर्षण पत्र जारी गर्दै छिटोभन्दा छिटो न्याय तथा क्षतिपूर्ति नभए आन्दोलनमा उत्रिन बाध्य हुने  सो सगठनका केन्द्रिय अध्यक्ष जन्मदेव जैसी द्वारा हस्ताक्षरित विज्ञप्तिमा चेतावनी दिएको छ ।

श्रमजीवी पत्रकार संगठनकाे ध्यानाकर्षण पत्र र पदम पाेख्रेलकाे निवेदन बुझ्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले अप्रत्याशित साे घटनाले आफू निकै दुखित भएको बताउँदै नगर प्रहरीबाट पत्रकारमाथि भएको ज्यादतीका विषयमा सुरक्षाकर्मीसँग थप स्पस्टिकरण मागिने बताए ।

उनले १६ गतेकाे घटना र त्यसपछिका परिस्थितिले गम्भीर परिवेश निर्माण भएको स्विकार्दै आगामी दिनमा महानगर प्रहरीबाट त्यसाे हुन नदिने र उल्लेखित माग तथा मुद्दाउपर महानगर प्रमुख बालेन्द्र शाहसँग थप सल्लाह गरेर विषयवस्तुकाे छिट्टै सम्बाेधन गरिने प्रतिबद्धता जनाए ।

  यस्तो छ पिडितले दिएको निवेदन !

महानगर प्रमुख ज्यू, मिति :           २०८०/११/२०
काठमाण्डाैं महानगरपनलिका
न्यायीक समिति विभाग काठमाण्डौं, नेपाल

विषय :              न्याय तथा क्षतिपूर्ति सम्बन्धमा

महाेदय,

मिति २०८०/११/१६ गते रातकाे ८ बजेकाे समयमा काठमाडौंकाे सुन्धारामा भएको फुटपाथ व्यवसायी र महानगरप्रहरीबिच भएको घटना सर्वबिदितै छ ।

साेही क्रममा म (प्यूठान जिल्ला नाैबहिनी गापा – ८ निवासी, नेपाल पत्रकार महासंघ प्युठान शाखाकाे सदस्यता नम्बर ८० काे क्रियाशील सदस्य तथा प्राणमञ्च मासिक र प्राणमञ्च डटकम अनलाइनकाे प्रधान सम्पादक) पनि १० दिनकाे काठमाडाैं बसाइ सकेर न्युराेड बजारमा कार्यालय तथा घरायसी प्रयाेजनकाे लागि सामान किनमेल गरेर कलंकीबाट रात्री बस चढेर दाङ फर्कनकाे लागि पठाओकाे प्रतिक्षामा रहेकाे बखत सुन्धारा चाेकमा फुटपाथ व्यवसायी र महानगर प्रहरीबिच भएको भीडभाड र हानाहानकाे विषयमा रिपोर्टिङ गरिरहेकाे थिएँ । प्रेस परिचयपत्र गलामा भिरेर फाेटाे खिचिरहेकाे समयमा प्रहरीले बिनाकारण अकस्मात ममाथि जाइलागेर मरणासन्न हुनेगरी कुट्दा ठुलाे शारीरिक एवम् मानसिक क्षति भएको ।

निशस्त्र सञ्चारकर्मीलाई एसपी मनाेज लामिछाने नेतृत्वको नगर प्रहरीले ज्यान मार्ने उदेश्यले लगातार कुटपिट गरेकाे र विभत्स लछारपछारले मसँग भएकाे (i7 8th Laptop/dell mouse) ल्यापटप, क्यामेरा(CANON, 6D MARK-2), माेबाइल vivo, Y-56), प्रेस परिचयपत्र र क्यामेरा ब्यागसमेत खाेसिएकाे छ ।

त्यस्तै घरायसी प्रयाेजनकाे लागि किनिएकाे रु ८ हजारकाे लत्ताकपडा, दुई हजारकाे मिठाईजन्य पदार्थ र एक हजारकाे फलफूलजन्य वस्तुपनि फ्याँकिएकाे / लुटिएको छ । बाटाेमा हिंडिरहेकाे एउटा निहथ्था संचारकर्मीमाथि महानगरकाे प्रहरी बलले गरेकाे सांघातिक हमला, कुटपिट, धरपकट र गिरफ्तारीकाे जति निन्दा गरेपनि कम हुन्छ ।

१. कर्मथलाे दाङ जाने टिकट लिएर संयाेगले साे भीडमा पुगेर रिपोर्टिङ गरिरहेको अवस्थामा म प्रेस परिचयपत्र भिरेकाे र म पत्रकार हाे, ममाथि हातपात नगर्नुस् भनेर पटकपटक विनम्र अनुराेध गरेर त्यहाँबाट उम्किन खाेज्दा पनि एक दर्जन बढी महानगर प्ररहरीले मलाई नियन्त्रणमा लिएर लगातार कुटपिट र लुटपाट गर्नुकाे कारण स्पष्ट पार्न अनुराेध छ ।

२. मलाई नियन्त्रणमा लिएर पनि प्रहरी परिसर त्रिपुरेश्वर पुग्दासमम गाडीमा लगातार ज्यान मार्ने उदेश्यले गरेकाे निर्मम कुटपिटमामा संगलग्न नगर प्रहरीलाई कानुनबमोजिम कडा कारबाहीकाे माग गर्दछुँ ।
३. साथै लुटिएका/ खाेसिएका सम्पूर्ण सामाग्रीकाे ससम्मान फिर्ता, अनाहकमा भएकाे अमानवीय कुटपिटबाट लागेकाे चाेटपटककाे सम्पूर्ण उपचार खर्च प्राप्तिको लागि जाेडदार माग गर्दछुँ । (स्मरण रहाेस्: मेराे दायाँ खुट्टाकाे तिघ्रा र घुँडाकाे लिगामेन्ट´मासु` च्यात्तिएको छ, शरीरभरी असंख्य चाेटपटक र निलडाम छन् भने बायाँ खुट्टाको तिघ्राकाे हड्डीमा पनि गहिराे दुखाइ छ)

४. महानगरपालिकाले प्रेस जगतलाई भयरहित ढंगले पत्रकारीता गर्ने वातावरणकाे ज्ञारेन्टीकाे र आगामी दिनमा प्रेस जगत तथा पत्रकारहरुमाथि आक्रमण कदापि नगर्ने प्रतिबद्धताकाे जाेडदार माग गर्दै याे निवेदन पेस गरेकाे छुँ ।

निवेदक

पदम प्रसाद पाेख्रेल
प्रधान सम्पादक
प्राणमञ्च मासिक/प्राणमञ्च डटकम अनलाइन

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation