२८ फागुन, दाङ
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनलाई दाङमा भव्य स्वागत गरिएको छ । विगत तीन महिना देखि बीरगंजको कृषि औजार कारखाना पून: सञ्चालन गर्ने उद्देश्यले आफ्नो सस्मरणात्मक पुस्तक बेच्दै देश दौडाहामा निस्किएका पुनलाई घोराहीमा स्वागत तथा सम्मान गरिएको हो ।
विज्ञान शिक्षक समाज नेपाल ( STAN) र घोराही पालिका समितिले आइतबार साँझ सिटी प्लाजामा एक कार्यक्रम आयोजना गरि उनलाई स्वागत गरेको विज्ञान शिक्षक समाज नेपालका सचिव विष्णु हमालले जानकारी दिए ।
विज्ञानको उन्नयन र नवप्रवर्धनमा सदा सकृय रहेका पुनको अभियानलाई ऐक्यबद्धता जनाउँदै सो कार्यक्रम गरिएको हमालले बताए ।
बन्द अवस्थामा रहेको बीरगंजको कृषि औजार कारखाना पून: सञ्चालनमा ल्याई थोरै भएपनि रोजगारी र राष्ट्रिय उत्पादनमा ठूलो टेवा पुर्याउने उदेश्यले आर्थिक जोहो गर्नकालागी निस्किएको महावीर पुनको भनाइ छ ।
विज्ञान शिक्षक समाज नेपाल ( STAN) घोराही नगरका अध्यक्ष प्रकाश गौतमका अनुसार पुनलाई पुस्तक विक्रिमा सहयोग पुगोस भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको हो।
उक्त कार्यक्रममा विभिन्न क्षेत्रका बौद्धिक एवम् सामाजिक व्यक्तित्वको उपस्थित रहेको थियो ।
महावीर पुनले आज बिहान नौ बजेदेखि घोराही बजारमा पुस्तक बेचिरहेका छन् ।