निर्घात कुटपिट र लुटपाट गरेर महानगरले न्यायकाे सट्टा झुलाउने काम गर्‍याे: पदम पाेख्रेल

काठमाडौंकाे सुन्धारामा फागुन १६ गते भएको फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपका क्रममा रिपोर्टिङ गरिरहेका प्राणमञ्च मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादक पदम प्रसाद पाेख्रेलमाथि महानगर प्रहरीले गरेकाे अकारण हमला, कुटपिट र लुटपाटकाे विषयमा न्याय निरुपण तथा क्षतिपूर्ति दिन महानगर प्रशासन उदासीन भएपछि पीडितले कानुनी रुपमा नेपाल प्रहरीमा उजुरी गरेका छन् । उनले नगर प्रहरी उपरीक्षक लामिछानेको कमाण्डमा खटिएका नगर प्रहरीविरुद्ध अंगभंग, आपराधिक बल प्रयोग, क्षतिपूर्ति तथा यातना सम्बन्धी कसुरमा जाहेरी दिइएकाे बताए ।

उनले रिपाेर्टस क्लबमा आयाेजित पत्रकार सम्मेलनमार्फत महानगरकाे प्रहरीले अकारण आफूमाथि ज्यान जाने उदेश्यले आक्रमण गरेर दिर्घराेगी बनाएर श्रम गरेर खाने अवस्थाबाट बञ्चित गरेर क्षति पुर्‍याउने सुरक्षा नामकाे अपराधीक जत्थामाथि कानुनी कारबाही र उचित क्षतिपूर्ति नहुँदासम्म आजीवन लडिरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

घटना भएको १ महिना बित्दापनि महानगरले पटकपटक न्याय दिने सम्झौता गरेर आलटाल गरिरहेपछि पाेख्रेलले महानगरीय परिसर टेकुमा उजुरी दिएकाे रिपार्टस क्लबमा आयाेजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा उनले भने, “महानगर प्रहरीले मलाई अकारण आक्रमण गरी सख्त घाइते बनायाे, दायाँ खुट्टाकाे लिगामेन्ट च्यातिएकाे छ, मासु फुटेकाे छ, शरीरभरी चाेटपटक र निलडाम अहिलेसम्म छन् । काठमाडौंकाे बिरानाे ठाउँमा न पैसा छ, न कुनै निकायकाे भरपर्दो साथ र सहयाेग छ, न पहँच छ न त कुनै राजनीतिक सहभागीता नै छ । कुनै पार्टीमा आवद्ध नभए, दलकाे झाेला नबाेकेरै मैले अहिलेसम्म न्याय नपाएकाे त हाेइन ? प्रहरीको साेखाले अमानवीय आक्रमणसँगै मसँग भएकाे २ लाख ८० हजार बराबरकाे क्यामेरा, ५० हजारकाे ल्यापटप, ६ हजार ५ सयकाे क्यामेरा झाेला, ११ हजार १ सयकाे घरायसी प्रयाेजनका सामाग्री, महत्त्वपूर्ण कागजात सबै लुटियाे, महानगर प्रहरीकाे याे खाले बीभत्स अन्यायकाे विषयमा पटकपटक महानगर पदाधिकारीहरुसँग छलफल भयाे, छलफलबाट समयमै निकास नआएपछि एक हप्ता (फागुन २९- चैत ४ सम्म) रिले अनसन पनि बसियाे । पुनः छलफल भयाे, महानगरले दीपक अधिकारीकाे संयाेजकत्वमा चैत ४ गते अधिकार सम्पन्न छानवीन समिति बनायाे । साे समितिले चैत ९ गते प्रतिवेदन सार्वजनिक गर्ने र साेहीबमाेजिम कुटपिटकाे घटनामा संगलग्न प्रहरीलाई कानुनी कारबाही गरिने र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने सहमति भयाे तर आजका मितिसम्म साे समिति बेखबर भएपछि कानुनी रुपमै मुद्दा दर्ता गर्न बाध्य भइयाे । अब अदालतबाटै न्यायीक छिनाेफानाे गरिने छ । यद्यपि ममाथि ज्यान मार्ने उदेश्यले आक्रमण गर्ने महानगर प्रहरीकाे एसपी मनाेज लामिछानेकाे सुरक्षा जत्थालाई कारबाही नभएसम्म निरन्तर लडिने छ, यत्तिकै कुनै पनि हालतमा छाेडिनेवाला छैन।”

उनले पत्रकार माथि भएको अकारण हमला, कुटपिट र लुटपाटकाे विषयमा यसअघि पनि राष्ट्रिय मानवअधिकार आयाेग, महानगरकै न्यायीक समितिमा पनि उजुरी दर्ता गरिसकेकाे बताए ।

श्रमजिवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीले काठमाडौं महानगर प्रहरीले पत्रकारमाथि यसरी निर्घात कुटपिट र अमानवीय व्यवहार गर्नु दुःखद् रहेको बताए । उनले पीडितसँग गरेको सम्झौता कार्यान्वयनमा महानगर प्रशासनले कुनै चासो नदेखाएको बताए ।

 


तपाईँमाथि कुटपिट भएको देखियो । यसका लागि महानगर क्षमाप्रार्थी छ । आइन्दा यस्ता कार्य महानगरबाट हुनेछैन । त्यो खालको प्रतिवद्धतासहित पदमलाई न्याय दिने हिसाबले अध्ययन समिति बनाउने लिखित सम्झौता भयो । शुक्रबारसम्म छानविन समितिले रिपोर्ट ल्याउने र त्यो रिपोर्टका आधारमा पीडितलाई क्षतिपूर्ति दिने, न्याय दिलाउने प्रतिवद्धता थियो ।’ उनले भने, ‘त्यो पनि पुरा भएन । त्यो नभएपछि उनले आज टेकुस्थित महानगरीय प्रहरी वृत्त कार्यालयमा नगरप्रहरी मनोज लामिछानेका विरुद्ध किटानी जाहेरी दिएका छन् ।’

पत्रकारहरुमाथि कुनै पनि हिसाबले आक्रम हुने कुरा आफूहरुलाई सह्य नहुने उनले बताए । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले पनि पत्रकारमाथिको आक्रमणलाई सच्याउने कुरामा गम्भीर नभएको उनको भनाइ छ ।

उता मिडिया एक्सन नेपालमार्फत अमेरिकाकाे न्युयोर्कस्थिति संसाभर क्रियाशील रहेका पत्रकारहरुकाे पेशागत, भाैतिक, सामाजिक तथा आर्थिक सुरक्षाकाे विषयमा काम गर्न गठन गरिएको पत्रकारहरुकाे सुरक्षा समिति (Committe to protect journalist- CPJ) मार्फत महानगरकाे याे खाले ज्यादतीका विरुद्ध अन्तर्राष्ट्रिय फाेरमहरुमा दुख व्यक्त गर्दै पत्रकारले अकारण भाेग्नुपरेकाे त्यसप्रकारकाे शारीरिक, मानसिक र आर्थिक क्षतिमा सबै सराेकारवालाहरु गम्भीर बन्न र यथासक्य छिटो न्याय एवम् क्षतिपूर्ति प्रदान गर्न अपिल पनि गरेकाे छ ।

राष्ट्रिय मानवअधिकार आयाेगले साे घटनाबाट पीडित बनेका पत्रकार लगायत सबै पीडितहरुलाई उचित न्याय तथा क्षतिपूर्ति उपलब्ध गराउन महानगरलाई परिपत्र गरेकाे छ भने फ्रिडम फाेरम नेपाल, विभिन्न मिडियामा आवद्ध सञ्चारकर्मी, मानवअधिकारकर्मी, सुकुम्बासी, पुटपाथ व्यवसायी, कानुनव्यवसायीहरु पनि बालेन प्रशासनकाे ज्यादती बन्द गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराइरहेका छन् । विभिन्न चरणको आन्दाेलनहरु गरिरहेका छन् ।

कार्यक्रममा बाेल्दै पदमले सञ्चारकर्ममा लागेकाे १३ वर्ष भएकाे र विगतका ४ वर्षदेखि दाङलाई केन्द्रविन्दु बनाएर पत्रकारिता गर्दै आएको बताए । सूचना विभाग र प्रेस काउन्सिलमा केही संस्थागत काम भएर आफू सो समयमा काठमाडौं आएको उनले बताए । काठमाडौंबाट घर फर्किने क्रममा पठाओ कुरिराखेको अवस्थामा फुटपाथ व्यवसायी र महानगर प्रहरीबीचको झगडाको फोटो तथा भिडिओ खिचेकै निहुँमा आफूमाथि आक्रमण भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation