प्रहरीको सर्वाधिक खोजीमा रहेका कुख्यात अपराधी शेख नुरुल्लाह १० महिनापछि पक्राउ

नेपाल प्रहरीको सर्वाधिक खोजीकाे सूचीमा रहेका कुख्यात अपराधी शेख नुरुल्लाह १० महिनापछि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार पत्रकार सम्मेलन गरी रौतहट देवाही गोनाही नगरपालिका– १ घर भएका ५२ वर्षीय शेख नुरुल्लाहलाई सार्वजनिक गरेको हो।

अपराध क्षेत्रको मास्टरमाइन्डका रूपमा कुख्यात नुरुल्लाहलाई रौतहटको राजदेवी नगरपालिका– ८ लक्ष्मीपुर बेलविछवा चोकनजिकैको नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

०८० जेठ ११ गते मध्यराति साढे १२ बजेको समयमा देवाही गोनाही नगरपालिका– १ करुनिया गाउँमा ७८ वर्षीय शेख तैयवलाई शेख नुरुल्लाहको आदेशमा सोही स्थानका शेख शेराज, शेख सद्दाम भन्ने खलिउल्लाह र भारतीय नागरिक राकेशकुमारले गोली हानी हत्या गरेका प्रहरीको भनाइ छ।

शेख शेराज र भारतीय नागरिक राकेश कुमारलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् भने मुख्य योजनाकार नुरुल्लाह र उनका भाइ खलिउल्लाह फरार रहँदै आएका थिए।

वृद्ध तैयवको हत्या गराउने मुख्य योजनाकार शेख नुरुल्लाह र खलिउल्लाविरुद्ध गत पुस १६ गते जिल्ला अदालत रौतहटले ज्यान कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो। गोप्य सूचनाका आधारमा प्रहरीले सीमावर्ती क्षेत्रहरूमा विशेष निगरानी बढाएको र सोही क्रममा आइतबार बिहान नुरुल्लाहलाई पक्राउ गर्न सफल भएको प्रहरीले बताएकाे छ।

माधवनारायण नगरपालिका– २ खेसरहिया बजारस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको हत्यामा  समेत उनी  मुछिएका छन्। ०७७ साल भदौ ३ गते राति ९ बजेतिर पुजारी साह मन्दिरपरिसरमा खाना खाँदै गरेको अवस्थामा नुरुल्लाहले देव्रे कन्चटमा गोली हानी हत्या गरेको प्रहरीको दाबी छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation