बरिष्ठ गजलकार प्रकट पंगेनी ‘शिव’ को निधन

उनको चर्चित गजल

साँझमा दियो बालिराख्यौ को आउँदै छ आज
हातका औँला चालिराख्यौ को आउँदै आज
हिजो अस्ति उक्किएका घरका छेउकुना
बिहानदेखि टालिराख्यौ को आउँदै छ आज
५ बैशाख, काठमाडौं

शृंगारिक गजलमार्फत आफ्नो छुट्टै पहिचान बनाएका साहित्यकार, गजलकार तथा गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ।

निमोनिया र जन्डिसका कारण स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि सोमबार अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मंगलबार निधन भएको हो। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

कास्कीको रूपा गाउँपालिका घर भएका ७० वर्षीय पंगेनी सोमबार अस्पताल भर्ना भएसँगै भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो। उनको उपचारका लागि आर्थिक जटिलता भएको र त्यसका लागि पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन सुरु भए पनि उनी संसार छाडी बिदा भएका छन्।

उनकाे बुधबार दाहसंस्कार गरिने परिवारजनले जानकारी दिएका छन्।

प्रकटको ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ…’ भन्ने गीत निकै चर्चित छ। १५ सय बढी गीत रचना गरेका उनका ६० हाराहारीमा गीतहरू रेकर्ड भएका छन् भने ‘यो मन कतै अल्झेको छ’ र ‘जुनको चिठी जुनलाई’ दुई गीतसंग्रहसँगै ‘प्रणय वेदका ऋचाहरू’ गजलसंग्रह प्रकाशन भएका छन्।

साहित्य साधनामा ३० को दशकदेखि क्रियाशील प्रकट ०३९ सालमा भएको नाटक महोत्सवमा सर्वोत्कृष्ट अभिनेता घोषित भएका थिए। आफ्नाे जन्मगाउँ रूपामा फार्म र कटेज सञ्चालनको तयारीमा जुटिरहेका प्रकट नफर्कने गरी बिदा भएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation