टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

शनिवार विहान करिब ९ बजे जलविद्युत् आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कदेखि फर्कने क्रममा लु २ ख ६११२ नम्बरको टिपर चिमखोलाको घैराबारीस्थित सडकबाट खसेर दुर्घटनामा परेको थियो।

दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्ति, सवारीसाधन र निर्माण उपकरणहरूको मर्मत गर्ने मिस्त्री भएको खुले पनि नाम र ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

टिपर दुर्घटनामा घाइते चालक सहित तीनजनाको चिमखोला स्वास्थ्यचौकीमा उपचार भइरहेको र थप उपचारका लागि हेलिकप्टरमार्फत पठाउने तयारी भएको रघुगंगा गाउँपालिका–७ का वडाध्यक्ष थकबहादुर पाइजाले जानकारी दिए।

उनले दुर्घटनामा परेका सबै जलविद्युत् आयोजनामा काम गर्नेहरू रहेको र स्थानीय कोही पनि नरहेको जानकारी दिए।

दुर्घटनामा परेको टिपर तुन्दी पावर कम्पनीको जलविद्युत् आयोजनाको ठेकेदार कम्पनी रामेछाप शेर्पा कन्ट्रक्सनमा निर्माण सामग्री ढुवानी गर्ने रहेको खुले पनि मृतक र घाइतेको पहिचान नखुलेको जनाइएको छ।

दुर्घटनामा परेका घाइतेलाई स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरी उपचारका लागि चिमखोला स्वास्थ्यचौकीमा पुर्‍याएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation