कतारका राजा आइपुगे काठमाडौं

११ वैशाख, काठमाडौँ 

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका क्रममा काठमाण्डाै आइपुग्नुभएकाे छ ।

कतारका अमिर थानी दिउँसाे पाैने ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएकाे हाे । विमानस्थलमा उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुभएको छ । राष्ट्रपति पौडेलको निमन्त्रणमा उहाँ दुई दिने राजकीय भ्रमणका लागि उनी नेपाल आउनुभएकाे हाे ।

कतारका अमिर थानीले आजै राष्ट्रपति पाैडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँकाे सम्मानमा राष्ट्रपतिले रात्रिभाेजकाे आयाेजना गर्नुभएकाे छ ।

भोलि बिहान कतारका अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुनेछ । कतारसँग २०३३ साल माघमा नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएयता कतारबाट मात्र नभई खाडी क्षेत्र (मध्यपूर्व)बाटै अहिलेसम्म राष्ट्राध्यक्षको स्तरमा हुन लागेको यो पहिलो नेपाल भ्रमण हो ।

कतारका राजा भोलि स्वदेश फर्किने कार्यक्रम छ । सरकारले कतारका राजाको राजकीय भ्रमणका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

कतारका अति विशिष्ट पाहुनाको स्वागतका लागि काठमाण्डाैकाे मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले स्वागतद्वार निर्माण, सडक सरसफाइलगायतका काम गरेको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation