मासु र दूधमा हुनसक्छ एन्टिबायोटिक, शरीरलाई कति हानि गर्छ ?

 

 

हामी मासु किन खान्छौं ? सम्भवत: धेरैको जवाफ हुनसक्छ, ‘स्वादिलो भएर ।’ मुखको स्वाद फेर्नका लागि धेरैको भान्सामा माछामासु पाक्ने गरेको छ । मासु आफैंमा प्रोटिनको स्रोत पनि हो । तर पछिल्लो समय हामीले खाइरहेको मासुमा एन्टिबायोटिक पाइएको विभिन्न अध्ययनले देखाएको छ ।

शरीरमा कुनैपनि किसिमको जीवाणु संक्रमण हुँदा प्रयोग गरिने औषधि हो, एन्टिबायोटिक । यसको निश्चित मात्रा (डोज) हुने र संक्रमणको गम्भीरतालाई हेरेर कति मात्रामा प्रयोग गर्ने भनी टुंगो गरिन्छ ।

शरीरमा संक्रमणसँग लड्ने क्षमता विकास गर्नमा एन्टिबायोटिकलाई ‘रामवाण’ मानिएपनि यसलाई धेरै मात्रामा प्रयोग गर्नु जोखिमपूर्ण मानिन्छ । किनभने एन्टिबायोटिक खपत बढ्दै गएपछि शरीरमा यसको प्रभाव कम हुन्छ र भोलिका दिनमा कुनै गम्भीर संक्रमण भएमा एन्टिबायोटिकले काम नगर्ने स्थिति आउन सक्छ ।

अहिले आम मान्छेले औषधिको रुपमा मात्र नभई विभिन्न खानेकुराको माध्यमबाट पनि एन्टिबायोटिक लिइरहेकोमा चिन्ता व्यक्त गर्न थालिएको छ । जनरल फिजिसियन प्रा. डा. लोचन कार्की भन्छन्, ‘जब खानेकुराको माध्यमबाट शरीरमा एन्टिबायोटिकको डोज बढ्दै जान्छ, हाम्रो प्रतिरोधात्मक क्षमता पनि कम हुँदै जान्छ ।’

मासुका लागि पालिएका पशुपन्छी बिरामी हुँदा एन्टिबायोटिकको प्रयोग गरिन्छ । यस्ता पशुपन्छीको मासुमा एन्टिबायोटिकको अंश हुन्छ । त्यस्ता मासु खाँदा मान्छेको शरीरमा सो एन्टिबायोटिक पुग्छ र यसले मान्छेको प्रतिरक्षा प्रणालीमा असर गर्ने चिकित्सकहरु बताउँछन् ।

 

सामान्यत: कुनैपनि बिरामी हुँदा पनि हामीलाई चिकित्सकले सहजै ‘एन्टिबायोटिक खानु’ भन्दैनन् । किनभने एन्टिबायोटिकको मात्रा शरीरमा बढ्दै गएपछि त्यसका ब्याक्टेरियाले आफ्नो स्वरुप परीवर्तन गर्ने खतरा रहन्छ । यसको नतिजा के हुन्छ भने भोलिका दिनमा बिरामी भयौं भने हाम्रो शरीरमा औषधिले राम्ररी काम गर्न सक्दैन ।

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत अनुप हलवाई भन्छन्, ‘अहिले मान्छेले पशुमा एन्टिबायोटिकको प्रयोग गर्न थालेका छन् । त्यस्ता पशुको मासु, दूध मान्छेले खान्छन् । यसरी मासु र दूधजन्य पदार्थबाट हाम्रो शरीरमा एन्टिबायोटिक पुग्ने जोखिम धेरै छ ।’

पोषणविद् उमा कोइरालाका अनुसार अहिले व्यावसायिक पशुपालन गर्न थालेपछि पशुको उत्पादन बढाउन र निरोगी राख्न एन्टिबायोटिकको प्रयोग गरिएको पाइन्छ । यस्तो पशुबाट उत्पादित कुनैपनि कुरा उपभोग गर्दा त्यसमा एन्टिबायोटिकको मात्रा हुने उनी बताउँछिन् ।

सन् १९५० मा अमेरिकाको खाद्य र औषधि प्रशासनले मासु उत्पादन बढाउन पशुमा एन्टिबायोटिक प्रयोगका लागि स्वीकृति दिएको थियो । सन् १९६९ मा बेलायतले पनि यस्तै सिको गर्‍यो तर पछि के पाइयो भने ती पशुजन्य उत्पादन (मासु, दूध) खाने मान्छेमा एन्टिबायोटिकको मात्रा भेटियो ।

यद्यपि नेपालमा अहिलेसम्म यस किसिमको अध्ययन नभएको विज्ञहरु बताउँछन् । भेटनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक डा. सुजन राना भन्छन्, ‘हामीकहाँ कुनैपनि मासु वा दूधजन्य पदार्थमा एन्टिबायोटिक भेटियो भनेर दाबी गर्न सकिने स्थिति छैन । किनभने यस विषयमा अहिलेसम्म कुनै विस्तृत अनुसन्धान भएको छैन ।’

तर उनी के चाहिं स्वीकार्छन् भने अहिले जसरी मासु र दूधका लागि पशुपालन गरिएको छ, त्यसमा एन्टिबायोटिकको प्रयोग अधिक हुनसक्छ ।

सरकारले पशुपन्छीजन्य उत्पादनमा एन्टिबायोटिकको प्रयोग निषेध गरेपनि त्यसको कडाइपूर्वक निगरानी र जाँच गर्न सकेको छैन । पशु वध तथा मासु जाँच ऐन तथा नियमावली कडा रुपमा लागू गर्न सके मासुमा एन्टिबायोटिक छ कि छैन भनेर थाहा पाउन सकिने डा. राना बताउँछन् ।

राम्ररी पकाएको खानेकुरामा एन्टिबायोटिकको मात्रा हुन्छ ?

अहिले व्यावसायिक खेती तथा पशुपालनमा अनेक रसायनको प्रयोग अनियन्त्रित रुपमा भइरहेको पाइन्छ । कुनै समय सागसब्जी, फलफूल, अन्नमा रासायनिक मलखाददेखि विषादीहरुको प्रयोग अत्याधिक गरिन्थ्यो । यद्यपि अन्न, सागसब्जी, फलफूलमा विषादीको प्रयोग कम गर्ने केही विधि अपनाउन थालेका छन् ।

मासुमा हुने एन्टिबायोटिकको मात्रालाई भने हटाउन वा कम गर्न नसकिने पोषणविद् उमा को्इराला बताउँछिन् । ‘पकाएर खाएपनि मासुमा एन्टिबायोटिकको मात्रा रहन सक्छ,’ उनी भन्छिन् ।

उनका अनुसार एन्टिबायोटिक जस्तोसुकै अवस्थामा पनि बाँचिरहन सक्छ । धेरै तातो होस् वा धेरै चिसो । त्यसैले मासुमा यदि एन्टिबायोटिकको मात्रा छ भने त्यसलाई राम्ररी पकाएर, तारेर, उसिनेर, भुटेर जे गरेर खाएपनि एन्टिबायोटिक नष्ट हुँदैन ।

‘त्यसैले पशुपन्छीमा यदि एन्टिबायोटिक प्रयोग गरिएको छ भने त्यसको सोझो असर उक्त पशुपन्छीजन्य उत्पादन उपभोग गर्नेमा पर्छ,’ पोषणविद् कोइराला भन्छिन्, ‘यसलाई सच्याउने एउटै मात्रै उपाय भनेको पशुपन्छीमा अन्धाधुन्ध एन्टिबायोटिक प्रयोग नगर्नु नै हो ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation