टी-२० शृङ्खला : नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज

२० बैशाख, काठमाडौँ

नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ ।

पाँचवटा टी–२० खेलको शृङ्खला खेल्न हाल वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल भ्रमणमा छ । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टोलीका अधिकांश खेलाडीले सिनियर टोलीबाट थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।

जारी शृङ्खलामा वेस्ट इन्डिज २–१ ले अगाडि छ । शृङ्खलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो खेलमा पनि वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको थियो ।

वेस्ट इन्डिजविरुद्धको शृङ्खलामा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान रोहित पौडेल हुन् । उनले शृङ्खलाको पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक बनाएका थिए । वेस्ट इन्डिजका जोन्सन चार्ल्सले पनि एउटा शतक बनाएका छन् ।

440983491_857042896452092_5432369323869960486_n

उनले नेपालविरुद्धको तेस्रो खेलमा अविजित एक सय १९ रन बनाएका थिए । जोन्सन नेपाली भूमिमा खेलिएको क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो क्यारेबियन खेलाडी पनि बनेका छन् । जोन्सन चार्ल्सले वेस्ट इन्डिजको सिनियर टोलीबाट पनि विभिन्न प्रतियोगिता खेलिसकेका छन् ।

यसै वर्षको जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेस्ट इन्डिजबिच यो मैत्रीपूर्ण अभ्यास खेल खेलिएको हो । वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो ।

438060057_855054719984243_3275268702192453969_n

यसअघि नेपाल र वेस्ट इन्डिजबिच एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ । सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्ट इन्डिजबिच खेल भएको थियो । त्यो खेलमा क्यारेबियन टोली एक सय एक रनले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation