नेपाली मिडियाको अवस्था: बढ्दै श्रमशोषण, एक वर्षमा २९ महिला पत्रकारले छोडे पेशा

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले प्रेस स्वतन्त्रता उल्लंघनका घटनाहरू सार्वजनिक गरेको छ ।

मे २०२३ देखि मे २०२४ सम्मको अवधिमा नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका ३४ वटा घटना घटना भएमा मिडिया एक्सन नेपालले जनाएको छ । ती घटनामा पत्रकारविरुद्धका धम्की, आक्रमण र उत्पीडनसमेत छन् ।

यी घटनाहरूमा शारीरिक आक्रमण, मौखिक दुर्व्यवहार, धम्की, गैरकानुनी गिरफ्तारी र उपकरण जफतसहितलाई समेटिएको छ ।

प्रतिवेदनले  पत्रकारिता पेशाबाट महिला पत्रकारहरूको चिन्ताजनक पलायनलाई पनि झल्काएको छ । यस अवधिमा २९ जना महिलाहरूले यो पेशा छोडेका छन् ।

यो समस्याले महिला पत्रकारहरूले कार्यस्थलमा सामना गर्ने चुनौती र जोखिमहरूलाई उजागर गरेको छ ।

महिला पत्रकारहरूले लैङ्गिक भेदभाव, यौन उत्पीडन र करिअर अघि बढाउँदा असमान अवसरहरूको पनि सामना गर्नु परेको छ ।

यी घटनाले महिलासँगै सबै पत्रकारहरूका लागि सुरक्षित र थप समावेशी वातावरण सिर्जना गर्न सुधारको आवश्यकता देखाएको छ ।

प्रतिवेदनले नेपालका मिडिया हाउसभित्र श्रम अधिकार उल्लंघनलाई पनि उजागर गरेको छ ।

यिनमा बेतलबी तलब र सम्झौता कागजातहरूको अभावदेखि न्यायका लागि जटिल कानुनी प्रक्रिया र मिडिया मालिकबीचको समूहवादसम्म छन् ।

श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन नहुनुले पत्रकारहरूलाई शोषण र दुर्व्यवहार, उनीहरूको स्वतन्त्रतामा हनन र पत्रकारिता पेशामै चुनौती थपिदिएको छ ।

पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनताका कारण समस्या भएको छ । द्वन्द्वकालमा दर्ता भएका ३९ वटामध्ये पाँच वटामा मात्रै मुद्दा चलाइँदा थप चुनौती बढेको छ ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग प्रभावकारी रूपमा न्याय दिन नसक्दा पीडित र तिनका परिवारहरू निराश भएका मिडिया एक्नले जनाएको छ । मिडियामा पनि डर र दण्डहीनताको संस्कृति कायम उक्त संस्थाले जनाएको छ ।

कार्यक्रममा बोल्दै मिडिया एक्सन नेपालकी उपाध्यक्ष  प्रियंका झाले मिडियामा महिला सुरक्षा, प्रेस स्वतन्त्रता र समावेशिताका लागि सबैले मिलेर अघि बढ्नु पर्ने बताइन् ।

उक्त कार्यक्रमका वातावरण मन्त्री नवल किशोर साह सुडीले पत्रकारहरू समाजको  मार्गदर्शन गर्ने तेस्रो आँखा भएको बताए ।

उनले आफूलाई मात्रै नभई अबको पिढीलाई लागि पनि  वातावरण बनाउन अनुरोध गरे । पत्रकारहरूविरुद्धका हिंसा बढ्दै  गएकाले सबै नागरिकले सुरक्षामा ध्यान दिनुपर्ने उनले बताए ।

यस्तै वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले पत्रकारहरूले आफ्नो अधिकार र दायित्व बुझ्दै जिम्मेवार नागरिकको भूमिका निभाउनु पर्ने बताए ।

युनेस्कोका नेपाल प्रतिनिधि माइकल क्रफ्टले प्रेस र स्वतन्त्र वातावरण दुवै खतरामा रहेकाले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।

मिडिया एक्सन नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा पत्रकारसम्बन्धी मुद्दाहरूको जवाफ,  प्रतिवेदनले सङ्क्रमणकालीन न्यायका लागि संयन्त्रलाई सुदृढ गर्न, पत्रकारको अधिकार रक्षा गर्न, श्रमजीवी पत्रकार ऐन लागू गर्न र कार्यस्थलमा हुने लैङ्गिक भेदभाव तथा उत्पीडनलाई सम्बोधन गर्नु आवश्यक रहेको जनाएको छ ।

प्रतिवेदनले प्रेस स्वतन्त्रतालाई आधारभूत लोकतान्त्रिक सिद्धान्तका रूपमा कायम राख्न, सञ्चारमाध्यम र पत्रकारमाथिको स्वेच्छाचारी प्रतिबन्धबाट टाढा राख्न पनि भनेको छ ।

पत्रकारको अधिकारको रक्षा र प्रेसको अखण्डताको संरक्षणमा जोड दिँदै सञ्चारमाध्यमसँग सम्बन्धित कानुन बनाउनुअघि सरोकारवालासँग सार्थक परामर्श लिन पनि संस्थाले सरकारलाई भनेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation