प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रभातफेरी

२२ बैशाख, काठमाडौं 

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार लालटिन बालेर पत्रकारहरुले प्रभातफेरि गरेका छन् ।

मे ३ का दिन विश्वभर मनाइने प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनको उद्घाटनअघि बिहान शान्तिवाटिकादेखि राष्ट्रियसभा गृहसम्म लालटिन बालेर प्रभातफेरि गरिएको हो ।

श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष एवं पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य जन्मदेव जैसीले संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थाविपरीत हुनेगरी सर्वोच्च अदालतको आदेशबाट ध्यानाकर्षण भएको भन्दै दिवसको अवसरमा लालटिन बालेर प्रभातफेरि गरेको बताए ।

बिहान ७:३० बजेदेखि ८:३० बजेसम्म लालटिन बालेर पूर्ण प्रेस स्वतन्त्रतामाथि प्रहार भएको, श्रमजीवी पत्रकारको श्रम अधिकार संकटमा परेकाले बाध्य भएर लालटिन बाल्न परेको जैसीले बताए ।

‘सम्मानित अदालतबाटै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवहेलना भएको छ,  प्रमाण नष्ट गरेर कसरी छानबिन गर्ने ?’ उनले प्रश्न गरे । पत्रकार नेता जैसीले नेपालको संविधानले ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रता अपहरण भएकाले तत्काल फिर्ता गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न माग गरे ।

बिहीबार पनि पत्रकारहरुले माइतीघर मण्डलामा यसरी नै स्वस्फुर्त पत्रकारहरुले लालटिन बालेर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation