Pranmancha

Advertisment

SKIP THIS

विनवार्ड्सविद्धको तेस्रो खेलमा नेपाल ७४ रनले पराजित

६ जेठ, काठमाडौं

नेपाली टोली तेस्रो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजसँग पराजित भएको छ ।

पहिलो र दोस्रो खेल जितेर तीन खेलको शृङ्खला जितेको नेपालले शनिबार राति भएको तेस्रो खेलमा भने विनवार्ड्ससँग ७४ रनको फराकिलो हार बेहोरेको छ ।

२०६ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १३८ रनमात्रै बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ३ चौका र ४ छक्काको मद्दतमा ३६ बलमा ५३ रन बनाए ।

ओपनर आशिफ शेखले २४, सन्दीप जोराले २१ र करण केसीले १३ रन जोडे अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

विनवार्ड्सका डैरोन नेड र कभेम होजले तीन/तीन तथा निकलस रेडहेड र डीन ब्राउनले दुई/दुई विकेट लिए ।

त्यसअघि टस जितेर घरेलु मैदानमा ब्याटिङ गरेको विनवार्ड्सले डिलन डगलस र शाद्रक डेसकार्टेको अर्धशतक मद्दतमा २०५ रन बनाएको थियो ।

डिलनले ३२ बलमा ५६ रन बनाए भने शाद्रकले २७ बलमा ५५ रनको योगदान गरे ।

नेपालका कमलसिंह ऐरीले ४, सोमपाल कामीले ३ तथा करण केसी, सागर ढकाल र कुशल भुर्तेलले एक/एक विकेट लिए ।

तेस्रो खेलमा नेपालले यसअघिको खेलबाट तीन परिवर्तन गरेको थियो । ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोरा टोलीमा थिएनन् । उनीहरूको ठाउँमा करण केसी, सागर ढकाल र कमल सिंह ऐरीले खेलेका थिए ।

कमलको यो तीन खेल शृंखलाको पहिलो खेल हो भने कुशल मल्ल तीनवटै खेलमा प्लेइङ-११ मा परेनन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation