शिक्षामन्त्री श्रेष्ठको सम्पत्ति : ११ तोला सुन बैंक खातामा डेढ करोड

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको बैंक खातामा डेढ करोड रुपैयाँ रहेको पाइएको छ ।

मंगलबार सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख भए अनुसार मन्त्री श्रेष्ठका श्रीमान पोल्याण्डका नागरिकको खातामा भएको रकमसमेत जोड्दा साढे ४ करोड रुपैयाँ पुग्छ ।

सम्पत्ति विवरणका अनुसार मन्त्री श्रेष्ठको एनआईसी एसिया बैंकको खातामा १ करोड १५ लाख रुपैयाँ छ । त्यस्तै एभरेस्ट बैंकमा ३७ लाख रुपैयाँ रहेको उनले खुलाएकी छन् । यो रकम आफ्नो पारिश्रमिक रहेको मन्त्री श्रेष्ठले उल्लेख गरेकी छन् ।

त्यस्तै उनका श्रीमान पोल्याण्डका नागरिक पावल स्वविन्स्कीको नाममा एक विदेशी बैंकमा १ लाख ८९ हजार ७०० डलर छ । जसलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्दा २ करोड ४१ लाख रुपैयाँ हुन आउँछ ।

त्यस्तै उनकै श्रीमानको नाममा पोल्याण्डको मुद्रा पनि १ लाख ८० हजार रुपैयाँ छ । जसको नेपाली रुपान्तरण गर्दा ६१ लाख ३२ हजार रुपैयाँ हुन्छ । यो विदेशी मुद्रा श्रीमानको परिवारले दिएको सुमनाले खुलाएकी छन् ।

शिक्षामन्त्री श्रेष्ठसँग काभ्रेको रियालेमा ८ रोपनी ६ आना ३ पैसा जग्गा छ । उनले उक्त जग्गा पारिश्रमिकबाट किनेको उल्लेख गरेकी छन् ।

मन्त्री श्रेष्ठले विवाहमा उपहार पाएको १० तोला र हजुरआमाको शेषपछि पाएको १ तोला गरी ११ तोला सुन, विवाहमा उपहार पाएको १ सय तोला चाँदी, विवाहमा उपहार पाएको हिराको सेट र हजुरआमाको शेषपछि पाएको हिराको टप रहेको विवरण सार्वजनिक गरेकी छिन् ।

त्यस्तै एक थान स्कुटर, एक थान विद्युतीय गाडी पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation