किलोको ६० रुपैयाँमा प्याज किन्न थापाथलीमा लाइन

१२ असोज, काठमाडौं । खाद्य व्यवस्था तथा बजार कम्पनीमा सहुलियत मूल्यमा प्याज किन्न उपभोक्ताको भिड लागेको छ ।

बजार अनुगमनको क्रममा जफत गरिएको प्याज कम्पनीले शुक्रबारदेखि प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्न थालेपछि सर्वसाधारणको भिड बढेको हो ।

बजारमा अहिले प्याजको मूल्य प्रतिकिलो १४० रुपैयाँ भन्दा माथि छ । त्यसैले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सस्तोमा बिक्री गरेपछि धेरै टाढादेखि मानिसहरु आएका छन् ।

कम्पनीका बागमती प्रदेश बिक्री प्रमुख रणबहादुर बुढोथाकीले एक जनालाई बढीमा ३ किलोसम्म प्याज बिक्री गरेको बताए। बजार मूल्य भन्दा प्रतिकिलो ८० रुपैयाँ कममा सरकारी कम्पनीले प्याज बिक्री गर्न थालेपछि कोरोना जोखिमकाबीच उपभोक्ताहरु लाइन लागेका हुन् ।

सरकारी कम्पनीबाट प्याज खरिद गर्दा उपभोक्ताले बजार मूल्यको तुलनामा दुई सय चालिस रुपैयाँ बचत गर्छन् । अघिल्लो साता बजार अनुगमनको क्रममा बल्खु तथा कालीमाटी बजारमा लुकाएर राखिएको झण्डै १२ हजार किलो प्याज सरकारले जफत गरेको थियो । सोही प्याज सहुलियत मूल्यमा बिक्री गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation