२६ जेठ, पोखरा
कवि सुमिनाका प्रेमदेखि विद्रोही कविताको यात्राबारे शनिबार पोखरामा परिचर्चा भएको छ।
विद्यालय जाने वेलादेखि नै फाट्टफुट्ट कविता रच्थिन् कवि सुमिना। प्रेम, भावना र आफ्नो दैनिकीका भोगाइलाई शब्दमा उतार्थिन्।
विद्यालयपछि लेखनको सिलसिला झन् मजबुत बन्न थाल्यो। उनले समाज बुझ्दै गइन्, समाजमा रहेको विभेद, थिचामिचो, पितृसत्तालाई नजिकबाट नियालिन्। जसै समाज बुझिन्, लेखनमा झन् निखार आयो।
विस्तारै उनले विद्रोहका कविता लेख्न थालिन्। लेखमार्फत चिन्नेले बागी आवाजका रुपमा अर्थ्याउन थाले। “लेखनमा सत्ता संरचनासँग प्रश्न गर्न थालियो,” कवि सुमिनाले भनिन्, “विगत पाँच वर्षमा लेखिएका कविताको संगालो हो, बागी स्त्रीको आत्मकथा।”
गत वर्ष प्रकाशित कवि सुमिनाको बागी स्त्रीको आत्मकथाले प्रगतिशील कविताको रुपमा चर्चा बटुलेको छ। त्यही बागी स्त्रीको आत्मकथामाथि शनिबार पोखरामा परिचर्चा भएको छ।
र्यान्डम रिडर्स सोसाइटीले आयोजना गरेको कार्यक्रममा पत्रकार रिना थापा ‘तानी’ले कवितामाथि अवधारणापत्र पेश गरिन्। सुमिनाका कविताले पितृसत्तामाथि सशक्त प्रहार गरेको थापाको भनाइ थियो।
त्यस्तै प्रेम र विद्रोहको विरोधाभास कवितामा रहेको उनको तर्क थियो। “सदियौंदेखि पितृसत्ताले थिँचिदै आएका आम महिलामाथिको दमनलाई विद्रोही चेतयुक्त बागी स्त्रीको आत्मकथाले ‘म’ लेखेको छ, ‘हामी’ लेखेको छ,” थापाले भनिन्।
कवि रमेश श्रेष्ठले सुमिनाको लेखनको प्रशंसा गर्दै विश्व समुदायमा नेपाली कविता कमजोर नरहेको जिकिर गरे। भाषाका कारण नेपाली कविताको उपस्थिति संसारसामु हुन नसकेको श्रेष्ठको भनाइ थियो।