Pranmancha

Advertisment

SKIP THIS

गर्भावस्थामा यात्रा गर्दा के–के कुरामा ध्यान दिने ?

गर्भावस्थाको समयमा महिलाले अन्य समयमा भन्दा धेरै आफ्नो हेरचाह गर्नुपर्छ । उठ्दा, बस्दा र हिंड्दा सावधानी अपनाउनुका साथै खानपानमा पनि धेरै ध्यान पुर्‍याउनुपर्छ । त्यसैगरी गर्भावस्थामा यात्रा गर्नुअघि पनि धेरै कुराको ख्याल गर्नुपर्ने हुन्छ ।

सामान्यतया गर्भवती महिलाले सम्भव भएसम्म गर्भावस्थाभर लामो दूरीको यात्रा नगर्नु नै राम्रो हुन्छ । विशेषगरी पहिलो तीन महिनामा लामो यात्रा तथा गाह्रो काम गर्दा गर्भ खेर जान सक्ने जोखिम हुन्छ । अन्तिम तीन महिनामा पनि यात्रामा गाह्रो वा थकित हुने गतिविधिले समय नपुगी व्यथा लाग्न सक्छ ।

त्यसबाहेक पेट दुखेको छ, टाउको दुखेको छ वा ज्वरो आएको छ, रक्तस्राव भएको छ वा अन्य कुनै स्वास्थ्य समस्या छ भने पनि लामो दूरीको यात्रा नगर्नु नै लाभदायक हुन्छ । कच्ची बाटो, अप्ठ्यारो तथा खाल्डाखुल्डी बाटोमा यात्रा गर्नुहुँदैन । यसले गर्भ तुहिने जोखिम हुन्छ ।

विशेषगरी पहिलो त्रैमासिकमा लामो यात्राबाट जोगिनु नै राम्रो हुन्छ । यो समयमा महिलालाई थकान, कमजोरी, बान्ता जस्ता समस्या हुनसक्छ । यस अवधिमा यात्रा गर्दा गर्भपातको जोखिम बढ्न सक्छ ।  गर्भावस्थाको समयमा छोटो दूरीको यात्रा भने गर्न सकिन्छ ।

कुन महिनामा यात्रा गर्नु सुरक्षित ?

गर्भावस्थाको दोस्रो चरण १४ देखि २८ हप्ताको बीचमा यात्रा गर्नु उपयुक्त मानिन्छ । किनभने यस अवधिमा बान्ता हुने र कमजोरी हुने समस्या कम हुन्छ । यद्यपि, लामो यात्राबाट जोगिनैपर्छ, किनभने लामो यात्राको क्रममा बस्न गाह्रो हुनसक्छ । खुट्टा सुन्निन सक्छ । यात्रा गर्नैपर्ने अवस्था छ भने दोस्रो त्रैमासिक राम्रो विकल्प हुनसक्छ ।

गर्भावस्थामा महिलाहरू धेरै पटक शौचालय जानुपर्ने हुन्छ, जसले समस्या निम्त्याउन सक्छ । त्यसैले महिलाले गर्भावस्थामा आफ्नो सुविधालाई ध्यानमा राखेर मात्रै यात्राको योजना बनाउनुपर्छ ।

गर्भावस्थामा यात्रा गर्दा ध्यान दिनुपर्ने कुरा

छोटो दूरीको यात्रा जस्तो दुई-तीन घण्टाको राम्रो पिच बाटो छ भने त्यसमा समस्या हुँदैन । बिस्तारै सवारीसाधन रोक्दै-रोक्दै जान मिल्छ । गर्भावस्थामा गाडी चलाएर वा बसेर लामो दूरीको यात्रामा जानुपर्ने बाध्यता छ भने बाटोमा सानो सानो ब्रेक लिएर आराम गर्दै जानुपर्छ । तर सार्वजनिक यातायातमा यात्रा गर्दा भने असहज हुन्छ ।

अलि लामो दूरीको यात्रा गर्नुपर्ने छ भने जहाजबाट गर्नु राम्रो हुन्छ । मोटरसाइकल र गाडीको तुलनामा जहाजको यात्रा धेरै सुरक्षित हुन्छ ।

गर्भको अवस्था हेरेर चिकित्सकको सुझाव अनुसार मात्र यात्रा गर्नुपर्छ । यदि सुरुदेखि नै गर्भमा समस्या छ भने यस्तो अवस्थामा अलि बढी ध्यान पुर्‍याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation