Pranmancha

Advertisment

SKIP THIS

लेनिन स्मृति शतवार्षिकी समितिकाे संयाेजकमा प्रमाेद

विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा मार्क्सवादी चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले लुम्बिनी प्रदेशको दाङमा शनिबार (०८१ असार १ गते) ‘लेनिन स्मृति शतवार्षिकी’ दाङ संयोजन समिति गठन भएको छ। लेखक, संस्कृतिकर्मी प्रमोद धितालको संयोजकत्वमा दाङ संयोजन समिति गठन गरिएको हो।

दाङको घोराहीमा सम्पन्न भएको भेलाले धितालको संयोजकत्वमा एकजना पछि थप्ने गरी ९ सदस्यीय समिति निर्माण गरेको छ । समिति सदस्यहरुमा विकास गौतम, पार्वता न्यौपाने, रामप्रसाद जैसी, तिलक विश्वकर्मा, बुद्धिप्रकाश धिताल, मेघराज भट्टराई र विकास सी रहनुभएको छ।

शतवार्षिकी समितले लेनिनको व्यक्तित्व, दर्शन, राजनीति र विश्व कम्युनिष्ट आन्दोलनमा उनको योगदान र लेनिनवादका विषयमा चर्चा, विचार गोष्ठी, प्रशिक्षणात्मक कार्यक्रम, सांस्कृतिक कार्यक्रम आदि गर्ने योजना बनाएको छ। साथै समितिको बैठक बसी आगामी कार्यक्रमहरु तय गरिने शतवार्षिकी समितिका संयोजक प्रमोद धितालले जानकारी दिनुभयो।

भेलामा वामपन्थी नेता तथा बुद्धिजीवीहरु सविन सी, गणेश आचार्य, लेखराज रेग्मी, तिलक वि.क.,सूर्य वि.सी., रामप्रसाद जैसी, बुद्धिप्रकाश धिताल, पदम पोख्रेल लगायतका व्यक्तिहरुले सुझावहरु राख्नुभएको थियो।

यसअघि गत वर्ष पुसमा मार्क्सवादी समालोचक तथा बौद्धिक निनु चापागाईंको संयोजकत्वमा काठमाडौंमा मूल आयोजक समिति गठन गरिएको थियो भने फागुनमा मार्क्सवादी लेखक रामराज रेग्मीको संयोजकत्वमा पोखरा संयोजन समिति निर्माण भएको थियो। नवगठित दाङ संयोजक धिताल मूल आयोजक समितिका सदस्य समेत हुनुहुन्छ। मूल आयोजक समितिलाई अरू सहर र प्रदेशमा पनि विस्तार गरिने र यसमार्फत् वर्ष २०२४ भरि विभिन्न सहरमा कार्यक्रमहरु आयोजना गरिनेछ।

शतवार्षिकी समितिले विभिन्न प्रदेश तथा सहरमा सम्भव भएसम्म संयोजन समिति निर्माण गर्ने र आश्यकताअनुसार विभिन्न विभाग बनाएर एक वर्षभरि कार्यक्रम गर्ने योजनाअनुसार कार्यक्रमहरू गर्दै आएको छ।

मूल आयोजक समितिले काठमाडौंमा पत्रकार सम्मेलन, पर्चा प्रकाशन, आठ मार्चमा महिला मुक्ति सम्बन्धी अन्तर्क्रिया, २२ अप्रिल (वैशाख ९ र १०) मा दुईदिने “अन्तर्राष्ट्रिय लेनिन गोष्ठी” लगायत कार्यक्रम गरिसकेको छ। त्यस्तै पोखरा संयोजन समितिको संयोजनमा गत चैत २४ गते पोखरामा “नेपालमा लेनिनवादको सान्दर्भिकता” विषयक विचारगोष्ठी पनि सम्पन्न भइसकेको छ।

जनस्तरमा गठित लेनिन स्मृति शतवार्षिकी मूल समितिले समाजवादी क्रान्तिमा र मार्क्सवादको विकासमा लेनिनका योगदानबारे र लेनिनवादको सान्दर्भिकताबारे विचारगोष्ठी तथा वैचारिक बहसहरु आयोजना गर्ने, लेनिनका महत्त्वपूर्ण रचनाहरुको पुन: प्रकाशन गर्ने, विभिन्न सहरमा सांस्कृतिक प्रकृतिका सभा र कलात्मक प्रदर्शनीहरु गर्ने र लेनिनबारे स्मारिका तयार गर्ने योजना पनि बनाएको छ।

लेनिन रुसमा सन् १९१७ सम्पन्न भएको समाजवादी क्रान्तिका नायक तथा प्रथम समाजवादी व्यवस्थाका संस्थापक लेनिन मार्क्सवादी धाराका दार्शनिक, क्रान्तिकारी सिद्धान्तकार र मजदुरवर्गीय आन्दोलनका अगुवाका रुपमा प्रख्यात छन् । उनी कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले प्रतिपादन गरेको कम्युनिस्ट सिद्धान्तलाई रुसमा क्रान्ति सम्पन्न गरी व्यवहारद्वारा सिद्ध गर्ने र संसारमा समाजवाद सम्भव छ भन्ने सन्देश फैलाउने नेता हुन्।

लेनिनको जन्म सन् १८७० अप्रिल २२ मा भएको हो । उनको मृत्यु सन् १९२४ जनवरी २१ मा भयो । सन् २०२४ मा उनको मृत्यु भएको १०० वर्ष पूरा भएको छ । संसारभरिका क्रान्तिकारी कम्युनिस्टहरुले यो वर्षलाई लेनिनको स्मृतिको शताब्दी वर्षका रुपमा मनाइरहेका छन् ।

शतवार्षिकी समितिले लेनिनको मृत्यु भएको दिन जनवरी २१ (०८० माघ ७) मा आफ्नो पहिलो कार्यक्रम काठमाडौंमा गरेर शतवार्षिकी अभियान सुरू गरेको थियो भने आगामी २०२५ को जनवरी २१ मा सम्पूर्ण वार्षिक अभियान समापन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation