१४ असार, सुर्खेत
![](https://pranmancha.com/wp-content/uploads/2024/06/karnali-2.jpg)
कर्णालीमा ‘प्रथम कर्णाली सांस्कृतिक सम्मेलन’ सुरु भएको छ। ‘मौलिक लोक, कला, संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन’ गर्ने उद्देश्यसहित वीरेन्द्रनगरमा उक्त सम्मेलन सुरु भएको हो।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेश र वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सुरु भएका सम्मेलन आज र भोलि शनिवार चल्ने छ।
सम्मेलको उद्घाटन मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति ध्रुव गौतमले गरेका छन्। पहिलो पटक हुन लागेको उक्त कार्यक्रममा कर्णालीको लोक, साहित्य र संस्कृतिको बारेमा वृहतरुपमा बहस गरिने छ। त्यसका लागि कर्णालीभित्रका कलाकार, संस्कृतविद् तथा लेखकहरुको सहभागीता रहेको छ।
कार्यक्रममा लोप हुन लागेका कर्णालीको संस्कृति र मौलिक नाच हुड्के, मागल, मारुनीदेखि विभिन्न मौलिक कला र संस्कृतिको जगेर्नाका लागि उक्त कार्यक्रम गरिएको प्रतिष्ठानकी प्रदेश अध्यक्ष हरिमाया कार्कीले बताइन्।
कार्यक्रममा विभिन्न कर्णालीको सभ्यता र संस्कृतिका विभिन्न विधामा रहेर बहस हुने छ। ‘प्राकृति नेपाली भाषा र कर्णाली सभ्यता’ शीर्षकमा डा. जीवेन्द्र देव गिरी, डा. महेन्द्रकुमार मल्ल, पण्डित तिलक रिजाल, खडानन्द चौलागाईँले बहस गर्नेछन् भने हेमन्त भुषालको कौरा नृत्य रहने छन्।
वरिष्ठ कलालकार गंगा केसी, कुलमान नेपाली, भीमबहादुर कार्कीको कथावाचन रहेको छ भने ‘कर्णालीको संस्कृति कति छ र कति छैन’ शीर्षकमा लेखक ओम रिजाल, मोतिराज बम र वसन्ती शाहीले बहस गर्नेछन्।
मोहन परियारले हुड्के नाच प्रस्तुत गर्नेछन् भने ‘कर्णालीको संस्कृति नेपालमा र नेपालको संस्कृति विश्वमा’ शीर्षकमा जोगेन्द्र केसी, रिता थापा मगर, वरिष्ठ कलाकार प्रेमदेव गिरी र कृष्णराज धमलाले बहस गर्नेछन्।
साथै अन्य विभिन्न सांस्कृतिक नाच तथा कर्णालीको सभ्यताको उत्खननका विषयमा छलफल तथा बहस हुने बताइएको छ।