थप १८ जनाको मृत्यु, संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघ्यो

८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ ।

देशभरका प्रयोगशालाहरुमा ११ हजार ४४९ नमुना परीक्षण गर्दा ५१३ महिला र ९८४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

थप १८ जनाको मृत्यु

काठमाडौंमा ४, भक्तपुर र कपिलवस्तुमा २/२ तथा झापा, मोरङ, सुनसरी, रौतहट, सप्तरी, धादिङ, दाङ, नवलपरासी, तनहुँ र डडेलधुराका एकएक जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५६ पुगेको छ ।

  • टेकु, काठमाडौंका ८० वर्षीय पुरुषको बुधबार पाटन अस्पतालमा मृत्यु भएको छ । ५ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया भएर ६ गते अस्पताल भर्ना भएका थिए ।
  • जोरपाटी, काठमाडौंका ७५ वर्षीय पुरुको बुधबार पाटन अस्पतालमै मृत्यु भएको छ । उक्त रक्तचाप र मधुमेहका विरामी उनलाई २६ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो र २७ गते अस्पताल भर्ना भएका थिए ।
  • सोह्रखुट्टे, काठमाडौंका ७९ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा बिहीबार मृत्यु भएको छ । मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी श्वासप्रश्वासको समस्या दिएर २७ भदौमा अस्पताल भर्ना भएका थिए ।
  • सोल्टीमोड, काठमाडौंकी ८२ वर्षीया महिलाको बुधबार पाटन अस्पतालमै मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्या भएकी उनलाई २४ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • सूर्यविनायक, भक्तपुरका ८४ वर्षीय पुरुषको नोबेल अस्पतालमा बिहीबार मृत्यु भएको छ । ६ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी श्वासप्रश्वासमा समस्या भएपछि ७ गते अस्पताल भर्ना भएका थिए ।
  • भोलाछें, भक्तपुरका ७३ वर्षीय पुरुषको मेघा अस्पतालमा बिहबिार मृत्यु भएको छ । मुटुसम्बन्धी रोगबाट पीडित उनी श्वासप्रश्वासको समस्या दिएर ५ असोजमा अस्पताल भर्ना भएका थिए ।
  • बुद्धभूमि नगरपालिका-६, कपिलवस्तुका ५० वर्षीय पुरुषको कोरोना अस्पताल, बुटवलमा मृत्यु भएको छ । असोज १ गते अस्पताल भर्ना भएका उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी थिए ।
  • बनगाई, कपिलवस्तुकी ७० वर्षीया महिलाको बिहीबार कारोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ । दमका रोगी उनी असोज ५ गते अस्पताल भर्ना भएकी थिइन् ।
  • धादिङकी ३२ वर्षीया महिलाको पाटन अस्पतालमा बिहीबार मृत्यु भएको छ । ५ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी ६ गते अस्पताल भर्ना भएकी थिइन् र उनलाई निमोनिया भएको थियो ।
  • रामग्राम नगरपालिका-३, नवलपरासीका ४९ वर्षीय पुरुषको बिहीबार कोरोना अस्पताल, बुटवलमा मृत्यु भएको छ । भदौ २७ गते अस्पताल भर्ना भएका उनी कलेजो र मिर्गौलासम्बन्धी दीर्घ रोगी थिए ।
  • आँबुखैरहनी नगरपालिका-३, तनहुँका ३९ वर्षीय युवकको बुधबार चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । डायलासिस गराउन भदौ २९ गते अस्पताल पुगेका उनलाई कोरोना संक्रमण भएको भदौ ३१ गते पुष्टि भएको थियो ।
  • नवदुर्गा गाउँपालिकाका, डडेलधुराका ४८ वर्षीय पुरुषको बुधबार डडेल्धुरा अस्पतालमा मृत्यु भएको छ । केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो ।
  • राजविराज नगरपालिका-७, सप्तरीका ५५ वर्षीय पुरुषको बिहीबार होम आइसोलेसनमा मृत्यु भएको छ । ३१ भदौमा कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका उनलाई सुरुमा ज्वरो आएको थियो । तर पछिल्लो समय स्वास्थ्य अवस्था सामान्य थियो ।
  • तुलसीपुर उपमहानगरपालिका-१०, दाङका ३९ वर्षीय पुरुषको बिहीबार हृयाम्स अस्पतालमा मृत्यु भएको छ । बोनम्यारोको समस्या देखिएपछि उनी भदौ ४ गते सिभिल अस्पताल भर्न भएका थिए । उपचारका क्रममा ३१ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि आईसीयू चाहिने भएपछि हृयाम्स लगिएको थियो ।

रौतहटका ६५ वर्षीय पुरुष, झापाका ७८ वर्षीय पुरुष, मोरङकी ५५ वर्षीया महिला र सुनसरीकी ८१ वर्षीया महिलाको पनि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघ्यो

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र ४५७ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५० हजार ४११ पुगेको छ ।

यो कुल संक्रमितको ७२.७ प्रतिशत हो ।

निको हुने दर बढेपनि संक्रमण दर बढेकाले खुशी भइहाल्ने अवस्था नरहेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुन भन्छन्, ‘संक्रमण दर बढेर १४ प्रतिशत पुगेको अवस्थामा निको हुने दर बढेर के खुशी हुनु ? निको हुने बढेपनि सक्रिय संक्रमित बढेकै छन् ।’

स्वास्थ्य मन्त्रालयले पनि सक्रिय संक्रमितको सङख्या बढेर २५ हजार पुगे फेरि बन्दाबन्दी गर्ने सुझाव दिएको छ । यसले पनि खतरा नटरेको संकेत गरेको भन्दै उनले भने, ‘परीक्षण अझै बढाउनुपर्छ किनकी हाम्रो जोखिम अझै टरेको छैन ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation