Pranmancha

Advertisment

SKIP THIS

साहित्यकार रिजालले गरे ५१ हजारकाे अक्षयकोष

१ असार, रोल्पा 

प्युठान घर भई लामो समय रोल्पामा अध्यापन गरेका एक श्रष्टाले एकाउन्न हजार रासीको कला तथा साहित्य अक्षयकोष स्थापना गरेका छन् । २११ औं भानु जयन्तीको अवसरमा प्युठानका देवेन्द्रकुमार रिजालले उक्त अक्षय कोष स्थापना गर्नु गरेका हुन् ।

बेगममाला कला तथा साहित्य पुरस्कार नामाकरण गरिएको उक्त अक्षयकोषको रकम ललित साहित्य परिषद् रोल्पालाई हस्तान्तरण गरिएको हो । अक्षयकोषदाता रिजालले ललित साहित्य परिषद् रोल्पाका अध्यक्ष कल्पना बुढा मगरलाई सो रकम हस्तान्तरण गरेका हुन् । अक्षयकोषदातासँग समन्वय गरी अक्षयकोष सञ्चालन कार्यविधि तयार गरी आगामी वर्षदेखि कला र साहित्य क्षेत्रमा उल्लेख्य योगदान गर्ने श्रष्टालाई उक्त पुरस्कार प्रदान गरिने ललित साहित्य परिषद् रोल्पाका अध्यक्ष कल्पना बुढा मगरको भनाइ छ ।

अक्षयकोषदाता रिजालले लामो समय रोल्पा सदरमुकाम लिवाङमा रहेर शिक्षण गर्नु भएको थियो । आफुले करिव दुई दशकअघि रोल्पामा रहेर एक दशक बढी नेपाली भाषा र साहित्यको पठनपाठन गरेको स्मरण गर्दै रोल्पाको साहित्यलाई थप प्रवद्र्धन गर्न आफुले अक्षयकोष स्थापना गरेको बताएका छन् । जन्म प्युठान भए पनि केही समय रोल्पामा कर्म गरेका रिजाल हाल दाङमा बस्दै आएका छन् । ‘अक्षयकोषले रोल्पा जिल्लाको कला साहित्य उन्नयनमा सहयोग गर्ने अपेक्षा गरेको छु’– रिजालले भने ।

२११ औं भानु जयन्तीको अवसरमा ललित साहित्य परिषद् रोल्पाले दुईजना श्रष्टालाई पुरस्कृत गरेको थियो । पुरस्कृत हुनेहरुमा रोल्पा नगरपालिका–४ का माधवप्रसाद आचार्य र थवाङ गाउँपालिका– ३ का मालबहादुर बुढा मगर (महेश आरोही) रहेका थिए । आचार्यलाई रोल्पा सुनछहरी गाउँपालिका–७ जेल्वाङका क्षितिज मगरले स्थापना गरेको दलसुर स्मृति कथा पुरस्कार प्रदान गरिएको थियो । महेश आरोहीलाई सीमा वारी सीमा पारी साहित्य पुरस्कारबाट पुरस्कृत गरिएको थियो । आचार्यको रोल्पामा धुरुधुरु रोएर कथा संग्रहलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । २०६२÷०६३ सालको आन्दोलनमा गिरफ्तारीमा परी एक महिनाको हिरासत बसाइका क्रममा आफूले उक्त कथा संग्रह तयार गरेको पुरस्कृत व्यक्तित्व आचार्यले वताए। यसैगरी महेश आरोहीको मगर खामभाषामा लेखिएको जिन्दगीलाई फर्केर हेर्दा कृतिलाई सो पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कृत माधवप्रसाद आचार्यको व्यक्तित्व र कृतित्वको बारेमा साहित्यकार गोकर्णप्रसाद पुनले प्रकाश पारेका थिए । यसैगरी महेश आरोहीको व्यक्तित्व र कृतित्वबारे साहित्यकार मानसिंह श्रीसले प्रकास पारेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation