Pranmancha

Advertisment

SKIP THIS

एनपीएल: आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स यथा काठमाडौं र सुदूरपश्चिम भिड्दै

२० मंसिर, काठमाडौं 

नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार दुई खेल हुँदैछन्  पहिलो खेलमा अपराजित जनकपुर बोल्ट्स र पहिलो खेलमा पराजित भएको पोखरा एभेन्जर्सबीच हुनेछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

जनकपुर बोल्ट्स सुरुवाती दुई खेलमा लगातार जित हात पार्दै लयमा छ । उद्घाटन खेलमा विराटनगर किंग्सलाई हराएको जनकपुरल त्यसपछि सन्तुलित र चर्चित टिम मानिएको कर्णाली याक्सलाई पराजित गरेको थियो ।

उता पोखरा भने आफ्नो पहिलो खेलमै चितवन राइनोजसँग पराजित भयो । दुई खेल जितेर लयमा रहेको जनकपुर र पहिलो जितको खोजीमा रहेको पोखरा एभेन्जर्सबीच खेल कस्तो होला कसले बाजी मार्ला? के जनकपुरले लगतार तेस्रो खेल जित्ला वा पोखराले पहिलो जित हात पार्ला ? त्यसको लागि भने खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

मार्की खेलाडी आसिफ शाह रहेको जनकपुरको कप्तानी अनिल शाहले गरिरहेका छन् । यो जोडीले पछिल्लो समय राष्ट्रिय टिममा पनि ओपनिङ गर्दै आएको छ । अनिल आउनुअघि आसिफ र कुशल भुर्तेल ले लामो समय राष्ट्रिय टिममा सँगै ओपनिङ गरेका छन् । उनै भुर्तेल पोखराको मार्की र कप्तान पनि हुन् ।

अनिल र आसिफले राम्रो प्रदर्शन गर्दा कुशल भुर्तेल भने पहिलो खेलमा चितवन विरुद्ध पहिलो बलमै आउट भए । त्यसैले उनका लागि पनि जनकपुर विरुद्धको खेल पुनरागमन गर्ने अवसर हुनेछ ।

अनिल र आसिफसहित जनकपुरमा राष्ट्रिय टिमका स्पीनर ललित राजवंशी पनि छन् । यसबाहेक चार विदेशी खेलाडीको साथ अनी मडियम पेसर किशोर महतो छन् । यू१९ टिमका कप्तान हेमन्त धामी सहित आकाश त्रिपाठी पनि यू१९ एसिया कप खेलेर बुधबार बेलुका स्वदेश फर्किसकेका छन् । छैटौं विदेशी खेलाडी जोसुअ ट्रोम्प पनि नेपाल आइपुगेका छन् । जनकपुरको टिम अब पूर्ण बनेको छ ।

उता पोखरामा भुर्तेलसहित राष्ट्रिय टिमका सागर ढकाल छन्  । राष्ट्रिय टिमबाट खेलिसकेका मिडियम पेसर आकाश चन्द पहिलो खेलमा खेलेनन् । पोखराको टिममा पनि छैटौं विदेशीको रुपमा आन्द्रेस गौस आइसकेका छन्  ।दुवै टिममा ६ विदेशी खेलाडी हुँदा पहिलो रोजाईँमा विकल्प हुनेछ । एक टिमले ४ जना विदेशी खेलाउन पाउनेछ ।

पहिलो खेलमा पोखराले चितवन विरुद्ध बिर्सनलायक प्रदर्शन गरेको थियो । चार ओभरभित्र ७ रन जोड्दा ६ विकेट गुमाएको पोखराले खराब प्रदर्शन गरेको थियो । चितवन विरुद्ध ८७ रनले पराजित भएको पोखराले त्यो हार बिर्सेर आउने खेलमा राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

जनकपुर भने सुरुवाती खेलमा जितले उत्सही छ । तर दुवै खेलमा शीर्ष अर्डरले नै खेल जिताउँदा जनकपुरको मध्यक्रम टेष्ट हुन बाँकी छ । जनकपुरका लागि पहिलो खेलमा लाहिरु मिलान्थाले अर्धशतक बनाउँदै जित दिलाएका थिए भने दोस्रो खेलमा अनिल शाहले कप्तानी इनिङ्स खेलेका थिए ।

खेल : जनकपुर बोल्ट्स भर्सेस पोखरा एभेन्जर्स

मिति र समय : २० मसिर, बिहान ९ बजे

स्थान : टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर

जनकपुरको सम्भावित ११ : आसिफ शेख, अनिल शाह, लाहिरु मिलान्था, आकाश त्रिपाठी/शुभ, हर्श थाकेर, जिम्मी नीशम, मोहम्मद मोहसिन, किशोर महतो, शेर मल्ल, ललित राजवंशी, हेमन्त धामी/तुल बहादुर थापा

पोखराको सम्भावित ११ : कुशल भुर्तेल, आन्द्रेस गौस, दिलिप नाथ/दिनेश खरेल, बास डे लिड, सुनाम गौतम, म्याट क्रिटले/माइकल लिस्क, किरण ठगुन्ना/तृत राज दास, रेमोन रेइफर, नारायण जोशी, विपिन खत्री, सागर ढकाल छन ।

त्यस्तै दोस्रो खेलमा काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ ।

काठमाण्डु करण केसीको तथा सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छन् । दुवै टोली पछिल्लो खेल जितेर आएका टोली हुन् ।

काठमाण्डुले २ खेलमा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले एक खेल खेल्दा जितेको छ । दुवै टिममा राष्ट्रिय टिमका अनुभवी खेलाडी देखि विदेशी खेलाडीहरु पनि राम्रा छन् ।

काठमान्डु टिममा करणसहित राष्ट्रिय टिमका भिम शार्की छन् भने राष्ट्रिय टिमको अनुभव भएका स्पीनर शाहब आलमदेखि मिडियम पेस बलिङ अलराउण्डर रासिद खान पनि छन् । करणले बुधबारको खेलमा राम्रो प्रदर्शन गर्दै टिमको जितमा अहम भूमिका खेलेका थिए ।

यसैगरी उमेर समूहबाट आएका युवा स्पीनर दिपेश कँडेल पनि छन् । यसबाहेक घरेलु क्रिकेटमा नियमित खेलिरहेका शंकर राना, सुमित महर्जन र कृष्ण कार्की पनि छन् । सुमित महर्जन बुधबार कर्णाली याक्ससँगको खेलमा म्यान अफ दि म्याच भएका थिए ।

विदेशी खेलाडीमा नामिबियाका कप्तान जेरार्ड एरासमस र नेदरल्याण्ड्सका माइकल लेभिट छन् भने इंग्ल्याण्डका स्टफेन इस्किनाजी, डान डौथवेट र नाथन सोटर छन् । बुधबारको खेलमा सोटरलाई मौका दिएको सुदूरपश्चिमले उनैलाई निरन्तरता दिन सक्ने छ ।

उता सुदूरपश्चिममा कप्तान र मुख्य प्रशिक्षकदेखि धेरै खेलाडी आफ्नै क्षेत्रका छन् । नेपालका सफल प्रशिक्षक जगत टमाटा प्रशिक्षक रहेको टिममा कप्तान दीपेन्द्रबाहेक विनोद भण्डारी, नरेन साउद, भोजराज भट्ट, हाल क्यानडामा बसेर उतै क्रिकेट खेल्ने नरेश बुढाएर, खडग बोहरा र बसन्त खत्री छन् ।

यस बाहेक सुदूरपश्चिम बाहिरका आरिफ शेख, अर्जुन कुमाल अमित श्रेष्ठ इशान पाण्डे जस्ता खेलाडी छन् । यू१९ एसिया कप खेल्न युएईमा गएका अर्जुन कुमाल र नरेन साउद फर्किसकेका छन् । उनीहरू खेलका लागि उपलब्ध हुनेछन् ।

सुदूरको विदेशी खेलाडीमा चर्चित रोहन मुस्ताफा, न्युजिल्याण्डका स्कट कुगेलेइन, स्कटल्याण्डका ब्राण्डन म्याकमुलेन र इंग्ल्याण्डका सैफ अली जैब छन् । उनीहरू चारैजना आज खेल्ने छन् ।

काठमाण्डुको टप अर्डरले अझै पनि सोचेजस्तो प्रदर्शन गर्न सकेको छैन । त्यसमा सुधार गर्नुपर्ने हुन्छ । यता सुदूरले पहिलो खेलमा राम्रो ब्याटिङँगै शानदार बलिङ गरेको थियो । आज पनि त्यस्तै प्रदर्शनको अपेक्षा हुनेछ ।

खेल : काठमान्डु गुर्खाज भर्सेस सुदूरपश्चिम रोएल्स

मिति र समय : २० मंसिर, दिउँसो १ बजे

स्थान : टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर

काठमान्डु गुर्खाज सम्भावित ११ : माइकल लेभिट, स्टेफेन इस्किनाजी, सुमित महर्जन, जेरार्ड एरासमस, भिम शार्की, शंकर राना, नाथन सोटर, करण केसी, रासिद खान, शाहब आलम, दिपेश कँडेल

सुदूरपश्चिम रोएल्स सम्भावित ११ : इशान पाण्डे, अमित श्रेष्ठ, विनोद भण्डारी, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, रोहन मुस्तफा, सैफ अली जैब, अविनाश बोहरा, स्कट कुगेलेइन, भोजराज भट्ट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation