१६ पुस, प्युठान
प्रथम भित्रिकोट प्युठान महोत्सव रद्द भएको छ। संरक्षक संस्था प्युठान नगरपालिकाले सोमबार साँझ एक सूचना सार्वजनिक गर्दै प्रथम भित्रिकोट प्युठान महोत्सव सञ्चालन गर्न दिएको अनुमति सहमति सम्झौताअनुसार कार्यान्वयन नगरिएकाले रद्द गरेको हो।यहि पुष ५ गतेदेखि लागिरहेको महोत्सव १७ गतेसम्म लाग्ने भनिएको हो।सञ्चालित महोत्सव भोलिदेखी लागू हुनेगरी खारेज गरेको छ ।
आयोजक समूहले नगरपालिकासँग गरेको सम्झौता कार्यान्वयन नगरेकोप्रती गुनासोहरु आईरहेको र शान्ति सुरक्षामा चुनौती देखिएपछी दर्शकको जिउधनको रक्षाको लागि महोत्सव सञ्चालन अनुमती सम्झौता खारेज गरिएको प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीले बताउनुभयो।नगरप्रमुख योगीले भन्नुभयो ‘आयोजक संस्थाले समय व्यवस्थापन गर्न नसक्दा विभिन्न घटनाहरु घटेको छ,यी यस्ता घटनामा संवेदनशील हुनका लागि हामिले सम्झौता खारेज गर्यौं।’
महोत्सव अवधिमा शान्ति सुरक्षाको विषयमा नै चुनौती थपिदा नगरपालिकालाई धेरै क्षेत्रबाट गुनासो आएपछी सञ्चालित महोत्सव रद्द गरिएको प्युठान नगरपालिकाका नगरप्रवक्ता सुमनराज श्रेष्ठले बताउनुभयो।
नगरपालिकाले आयोजक समूहसँग छलफल नै नगरी महोत्सव रद्द गर्ने निर्णय गरेको बताउँदै उद्योग वाणिज्य संघ प्युठान नगर बजार क्षेत्रका अध्यक्ष प्यार अलि खानले आपत्ति व्यक्त गर्नुभएको छ।खानले भन्नुभयो ‘प्युठान नगरपालिकाको अदुरदर्शी निर्णयप्रती घोर निन्दा प्रकट गर्दै सशक्त प्रतिवाद गर्नेछौं।’ महोत्सव सञ्चालन गर्नेकी नगर्ने भन्ने विषयमा भोलि बिहानै उद्योग वाणिज्य संघ प्युठानको आकस्मिक बैठक बसि निर्णय गर्ने अध्यक्ष खानले जानकारी दिनुभयो।
जिल्ला प्रशासन कार्यालय प्युठानले महोत्सव सञ्चालन अवधिभर साँझ ५ बजेपछी महोत्सव नचलाउनु भनेर सम्झौता गरेतापनी आयोजक संस्थाले समय व्यवस्थापन गर्न सकिरहेको थिएन।
आयोजकले महोत्सव सञ्चालनको समयावधि समेत ख्याल नगरी मेला सञ्चालन गरेको र त्यसको प्रभाव सडक दुर्घटना र महोत्सव स्थलमै दर्शकको ज्यान जाने अवस्था सिर्जना भईरहेको विद्यार्थी संगठनका एक नेताले बताउनुभयो।
मेला हेर्न आएका मल्लरानी गाउँपालिका–४ बासखोलाका ७७ वर्षीय रामचन्द्र शाहको आईतबार बेलुकी पौने ७ बजे मोटरसाइकलले ठक्कर दिँदा आइतबार निधन भएको थियो।हिजो नै म्याजिक र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजना घाइते भएका छन् भने सोमबार हर्टट्याकका कारण महोत्सव प्राङगणमै प्यूठान नगरपालिका- १ का ५५ वर्षीय कमल नेपालीको मृत्यु भएको थियो।