


१५ श्रावण, काठमाडौं। असंलग्न आन्दोलनमा आवद्ध राष्ट्रका युवाहरुको अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा भाग लिएर नेपाली प्रतिनिधि मण्डल आइतबार स्वदेश फर्किएको छ ।
अजरवैजानको राजधानी बाकुमा आयोजित युवाहरूको शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत गएका थिए। प्रतिनिधि मण्डलमा बस्नेतसहित युवा तथा खेलकुद मन्त्रालयका उपसचिव डा।कृष्णवहादुर घिमिरे समेत रहेका थिए।
जुलाई २५ देखि २९ सम्म बाकुमा सञ्चालित सम्मेलनले ‘नन् एलाइन्ड मुभमेन्ट युथ अर्गनाइजेसन ‘ नामक अन्तर्राष्ट्रिय संस्थासमेत स्थापना गरेको छ। आगामी तीन वर्षका लागि अजरवैजानले उक्त संगठनको अध्यक्षता गर्ने मौका पाएको छ । सो सम्मेलनमा असंलग्न आन्दोलनको सदस्य रहेका ६१ देशका प्रतिनिधिले भाग लिएको बस्नेतले बताएका छन् ।
पाँच दिनसम्म चलेको उक्त सम्मेलनमा असंलग्न देशका युवाले भोगेका समस्या , दिगो विकास लक्ष्य , नीति निर्माण र कार्यान्वयन प्रक्रियामा युवा सहभागिता र युवा सशक्तीकरणका लगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको बस्नेतले बताए ।