बसाइँसराइका कारण बागलुङका कैयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन्। गाउँमा जनसङ्ख्या घट्दै गएपछि विद्यालयमा विद्यार्थी घट्दै गएका छन्।
जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माविमा भने बजारबाट पढ्न आउँछन्। बजारका निजी विद्यालय छोडेर गाउँमा आउने विद्यार्थीले यस विद्यालयको गरिमालाई थप बढाएको छ। यो विद्यालयमा झण्डै एक सयभन्दा बढी विद्यार्थी अन्य जिल्लाबाट आएर अध्ययनका गरिरहेका छन्। नारायणस्थान गाउँका विद्यार्थीले मात्रै नभई अन्य ठाउँबाट पढ्न आएका बालबालिकाले गणेश माविमा चाप बढेको हो।
यो वर्ष ७१५ जना विद्यार्थी रहेका छन्। कक्षा कोठा अभाव हुँदा कक्षा ११ र १२ बिहानमा सञ्चालन गर्नुपरेको रिजालले बताए। हाल कक्षा ११ र १२ मा ६५ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयले शैक्षिक गुणस्तर बढाउन थालेपछि तीन वर्षयता ३०० जना विद्यार्थी निजी विद्यालय छोडेर यहाँ आएका छन्।
सहजरूपमा शिक्षण सिकाइ गर्नका लागि १५ भन्दा बढी विद्यार्थी भएको कक्षामा ‘सेक्सन’ छुट्याएर पठनपाठन गराउँदै आएको छ। अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएकाले पनि निजी विद्यालयबाट यहाँ विद्यार्थीको आकर्षण बढेको हो। विद्यालयको शैक्षिक गुणस्तर समेत गण्डकी प्रदेशमा नै अब्बल मानिदै आएको छ।
विद्यार्थीको सङ्ख्या बढेसँगै शैक्षिक गुणस्तरमा पनि जोड दिइएको विद्यालयका प्रधानाध्यापक एकनाथ रिजालले बताए। विद्यालयले शनिबारबाहेक दशैँमा १० दिन र तिहारमा एक साता मात्रै बिदा गर्ने गरेको छ। विद्यालयले एसइइसहित अन्य परीक्षामा शतप्रतिशत नतिजा प्राप्त गर्ने हुँदा अन्य विद्यालयबाट आउने विद्यार्थीको आकर्षण बढेको रिजालले बताए। उनका अनुसार छिमेकी जिल्ला पर्वतको कुश्मा बजारबाट दैनिक दर्जनौँ विद्यार्थी पुल तरेर यहाँ पढ्न आउँछन्।
विद्यालयमा निःशुल्क होस्टेलको सुविधा छ भने यहाँ बस्ने विद्यार्थीले खानाको मात्रै शुल्क तिरे पुग्छ। अहिले १५० जना विद्यार्थीले आवासीय सुविधा लिएर अध्ययन गरिरहेका छन्। टाढाका विद्यार्थी ल्याउन विद्यालयले स्कुल बस सञ्चालनमा ल्याएको छ। गरिब विद्यार्थीलाई निःशुल्क आवासीय सुविधासमेत दिइएको छ। नेपाल सरकारको नमुना विद्यालयमा छनोट गरेपछि आव २०७८।०७९ देखि पाँच वर्षसम्म सात करोड ५० लाख रुपैयाँ बजेट कार्यान्वयनको चरणमा रहेको विद्यालयले जनाएको छ।
विसं २०३७ सालमा स्थापना भएको विद्यालयमा कक्षा चारदेखि अनिवार्य कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला लगायतका अतिरिक्त कक्षासमेत सञ्चालनमा छन्। १८ जना दरबन्दीका शिक्षक रहेको विद्यालयमा अन्य शिक्षक तथा कर्मचारी गरी ५० जना कार्यरत रहेका छन्। यो विद्यालयमा ‘बोर्डिङ स्कूल’मा भन्दा राम्रो पढाइ हुने हुँदा कुश्माबाट आएर पढ्ने गरेको कक्षा ८ मा अध्ययनरत छात्र अंकित खत्रीले बताए।
गशेण माविमा आउन एक घण्टा लाग्ने भए पनि पढाइ राम्रो भएकाले आफू बजारमा नपढेर गाउँको विद्यालयमा आएको उनको भनाइ छ।