संसदीय समितिमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालबीच चर्काचर्की परेको छ ।
यादव प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति हुन् भने सुवाल सोही समितिका सदस्य हुन् ।
बिहीबार समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल थियो ।
छलफलमा कार्यसूची बाहिरको विषय राखेको र लामो समय लिएको भनेर सुवाललाई सभापति यादवले रोक्न खोजे । त्यसपछि यादव र सुवालबीच चर्काचर्की परेको हो ।
सुवालले ‘औंला ठड्याएर’ सत्ताधारी दलका सांसदले जति पनि समय बोल्ने आफूलाई बोल्न समय नदिने विषयमा असहमति रहेको बताए । त्यसपछि सभापति यादवले आफूबाट कसैलाई विभेद नरहेको भन्दै औंला नठड्याउन आग्रह गरे ।
त्यसबेला यादवले समितिको बैठक सकिएको घोषणा गरिसकेका थिए । बैठक सकिएको घोषणा गरिसकेपछि पनि उनीहरूबीच केही मिनेट विवाद कायम रह्यो ।
चर्काचर्कीकैबीच समितिका सदस्यहरू, सभापति यादव र सुवाल पनि निस्किए ।
यस्तो छ चर्काचर्कीको पछिल्लो सवालजवाफ
सभापति यादव : औंला तल राख्नुस् । नौटङ्की गर्ने ?
सदस्य सुवाल : तपाईंले …
यादव : यहाँ दोस्रो दल, तेस्रो दल …
सुवाल : तपाईं निरंकुश नहुनुस्, राणा शासनमा नजाऊ …
यादव : तपाईं चाहिं हिरो नबन्नुस् ।
सुवाल : मैले असहमति छ भनेपछि तपाईंले के हो भन्नुपर्छ ।
यादव : तपाईं रोकिनुस् ।
सुवाल : तपाईंलाई राजा जसरी हुत्याइन्छ, यो समितिबाट हुतिन्छ, होस् गर्नुस् ।
तपाईं बढ्ता नहुनुस्, तपाईं पनि एक्लै हो, म पनि एक्लै हो (समितिमा) । के फूर्ति गर्नुहुन्छ ? बढ्ता नहुनुस् ।
यादव : दलीय हिसाबमा छलफल भएको छैन ।
सुवाल : मैले भनेको छु– आपत्ति छ । तपाईंले त्यो आपत्ति के हो भनेर सोध्नु पर्दैैन सभापति ? तपाईं निरंकुश बन्ने ?
यादव : बन्ने ।
सुवाल : ठिक छ ।
यादव : ल ।
सुवाल : ठिक छ ।
यादव : आफ्नो असहमति राख्नुस् ।
सुवाल : कुन दिन हुत्तिन्छ होस् गर्नुस् । तपाईं सत्ता पार्टीको पुच्छर भएर नहिंड्नुस् । समितिको नेता बन्नुस् ।
यादव : यहाँ माओवादी सत्तापक्ष हो ?
सुवाल : हिजो (विगतमा) प्रधानमन्त्री भएका सबै सत्ता पार्टी हुन् । हिजो मन्त्री भएका सबै सत्ता पार्टी हुन् ।
यादव : …कमान्ड गर्नुस् तपाईं ।
सुवाल : दाँत किराले खान्छ, जिब्रो खाँदैन ।