गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन ०८४ को निर्वाचनसम्मै चल्ने दावी गरेका छन्।
आइतवार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औँ बैठकपछि सञ्चारकर्मीसँग उनले यस्तो दावी गरेका हुन्। उनले गठबन्धन नटिक्ने भन्ने कुरा हल्लामात्र भएको बताए।
उनले गठबन्धन नटिक्ने भन्ने हल्लामा विश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताए। उनले नेकपा एमाले र नेपाली कांग्रेसले गरेको सातबुँदे सहमतिअनुसार नै ०८४ सालको निर्वाचनसम्म यो सरकार चल्ने दावी गरे।
उनले संविधान संशोधन ०८७ पुग्छ कि कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय नभएको बताए। उनले संविधानको सबैभन्दा पहिला सबल र दुर्बल पक्षको पहिचान गरी सबै राजनीतिक दलहरुसँग छलफल र समन्वय गरेर संविधान संशोधन हुने बताए।
‘यो गठबन्धन टिक्दैन भन्ने हल्ला हो‚ यो हल्लामा विश्वास गर्नुपर्ने कुनै कारण छैन‚ गठबन्धन टिकिरहेको छ। राम्रो काम गर्नेकुरामा अघि बढेको छ र नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको सातबुँदे सहमतिबमोजिम गठबन्धन रहन्छ‚’ उनले भने, ‘र सहमतिअनुसार नै ०८४ सालको निर्वाचनसम्म यो गठबन्धन कायम हुन्छ। संविधान संशोधन चरणबद्ध हो। ०८७ पुग्छ कि कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय होइन।’
गृहमन्त्री लेखकले पश्चिम नेपालको भूकम्पले जाजरकोटलगायत जिल्लाहरुमा प्रभावित गरेको र डोटी इपिसेन्टर भएको तथा अछाम, बझाङ, बाजुरा, डडेलधुरालाई प्रभावित गरेको भूकम्प र पछिल्लो समयको मनसुनजन्य विपदबाट बाढी, पहिरोबाट भएको क्षतिको आँकलन भइसकेको बताए।