चर्कदैँ चीन–अमेरिका सम्बन्ध, चिनियाँ चेतावनी विपरित अमेरिकी सभामुुख ताइवान भ्रमणमा, साउथ चाइना सि मा सर्वाधिक तनाव

काठमाडौँ — चीनको निरन्तर चेतावनीका बावजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् । मंगलबार उनी उच्च सुरक्षाबीच ताइपेइको विमानस्थलमा अवतरण गरेकी हुन् ।

उनी जहाजबाट ओर्लिँदै गरेको तस्बिर बीबीसीसहितका अन्तर्राष्ट्रिय मिडियाले सार्वजनिक गरेका छन् । अमेरिकी सरकारले औपचारिक घोषणा नगरेको यस भ्रमणलाई पछिल्लो २ दशकभन्दा लामो समयको अन्तरालमा अमेरिकी उच्च अधिकारीको महत्त्वपूर्ण भ्रमणको रुपमा व्याख्या गरिएको छ ।

 

अमेरिकाले पेलोसीको भ्रमणअघि नै ताइवानको समुद्री क्षेत्रमा युद्धपोत तैनाथ गरिसकेको थियो । चीनले भने सोमबारदेखि नै ताइवानको सीमा क्षेत्रको आकासमा विमान उडाउदै आएको छ ।

यसैबीच पेलोसीको भ्रमणलाई लिएर यसअघि नै चीनले कडा शब्दमा अमेरिकालाई चेतावनी दिएको थियो । साथै रुसले पनि उक्त भ्रमणको विरोध जनाएको थियो । पेलोसी मंगलबार रात ताइवान बसेर बुधबार त्यहाँको संसद्‍ भवन पनि पुग्ने तालिका छ ।

चीनमा भने पेलोसीको भ्रमणलाई लिएर सामाजिक सञ्जाल भरिएको छ । मंगलबार अधिकांश चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पेलोसीको भ्रमणबारे टिप्पणी गरेका छन् ।

 

कतिपयले ताइवानलाई फिर्ता लिनुपर्ने भन्दै चीनलाई आग्रह पनि गरेका छन् । मंगलबार मात्रै चिनियाँ अधिकारीले पेलोसीको भ्रमणलाई लिएर यदि उनी ताइवान पुगे चिनियाँ सेना मुकदर्शक बनेर नबस्ने भन्दै चेतावनी दिएका थिए ।

यस भ्रमणलाई लिएर गत साता पनि चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी समकक्षी जो बाइडेनसँगको एक घण्टा लामो वार्तामा पेलोसीको भ्रमणको प्रसंग उठाएका थिए । त्यसबेला पनि सीले अमेरिकालाई चेतावनी दिएका थिए ।

पेलोसीको भ्रमणसँगै अमेरिकी सभामुखको सचिवालयले मंगलबार नै विज्ञप्ति जारी गरेको छ । उक्त भ्रमणलाई इन्डो प्यासिफिक पारस्परिक सुरक्षा तथा आर्थिक साझेदारी र लोकतन्त्रिक सुशासनमा केन्द्रित यात्राको एक हिस्सा भएको विज्ञप्तिमा जनाइएको छ ।

पेलोसी नेतृत्वको प्रतिनिधिमण्डलको ताइवान भ्रमणले ताइवानको जीवन्त लोकतन्त्रलाई समर्थन गर्ने अमेरिकी अटल प्रतिबद्धता जनाउने पनि बताइएको छ ।

यससँगै चीनको परराष्ट्र मन्त्रालयले पनि पेलोसीको भ्रमणप्रति आपत्ति जनाउँदै यस भ्रमणले एक चीन नीतिको गम्भीर रुपमा उल्लंघन गरेको जनाएको छ । पेलोसीको भ्रमणलगत्तै चीनले विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो । यस भ्रमणले चीन–अमेरिकाको राजनीतिक सम्बन्धको संरचनामा गहिरो प्रभाव पारेको भन्दै चेतावनी दिइएको छ । चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता गम्भीर उल्लंघन गरेको पनि चीनले विज्ञप्तिमार्फत् जनाएको छ ।

बिबिसी को सहयोगमा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation