Pranmancha

Advertisment

SKIP THIS

अभावमा जन्मिएकी फ्लोरेन्स नाइटिङ्गेल कसरी संसारकै आदर्श नर्स बनिन् ?

जीवनलाई आजीवन समाजसेवा र जनसेवामा अर्पित गर्ने मानिसहरू संसारमा धेरै कम हुन्छन् । आजको दुनियाँमा निस्वार्थ भावले मानवसेवालाई आफ्नो कर्म बनाउने मान्छे औंलामा गन्ने नै छन् भन्दा अत्तियूक्ति नहोला । हिजोआज समाज सेवामा लागेकाहरु नाफा घाटाको हिसाब गरेर मात्र सहभागी हुन्छन् । कैयौंले मानवसेवालाई कभर बनाएर लूटको धन्दा चलाइरहेका छन् । नाफाघाटाको स्वार्थमा चलेको आजको दुनियाँमा फ्लोरेन्स नाइटिङगेल जीवनभर जनसेवामा समर्पित एक कालजयी उदाहरणीय पात्र हुन् । विश्वमा उनलाई आधुनिक नर्सिङ पद्धतिको जन्मदाता भनेर पनि चिनिन्छ । स्वास्थ्य सेवाको अलावा फ्लोरेन्स सेवाकी मुर्ति, त्यागकी प्रतिमुर्ति करुणा र ममताकी खानी थिइन् ।

अहिलेका अस्पतालहरु केही हदसम्म सफासुग्घर छन्, अत्यावश्यक सामाग्रीहरुको उपलब्धता पनि छ। हिजोआजका चिरपरिचित स्वास्थ्य संस्थाहरुमा सुन्दर र सुरम्य नर्सहरु सफा र चिटिक्क पहिरनमा रोगीहरुको सेवामा तल्लीन भइरहेको देखिन्छन् । उनीहरू सधै हसिला, रसिला र फुर्तिला देखिन्छन । उनीहरूको बोली मिठो छ, व्यवहार राम्रो छ, चालचलन झन राम्रो छ । उनीहरूको प्रसन्न मुहार देखेर रोगीहरुले आफुलाई धेरै आराम भएको महसुस गर्दछन् । यो स्वास्थ्य मनोविज्ञानमा नभइनहुने विषय पनि हो । तर नाइटिङ्गेलको त्यो अभावग्रस्त जमानामा अस्पतालहरु सफा थिएनन, सर्वत्र दुर्गन्ध र दुर्दशा थियोे । त्यतिबेला विकसित देशहरुमा मात्रै छिटपुट रुपमा नर्सहरु थिए तर तिनीहरुमा व्यवहारिक ज्ञान र चिकित्सा मनोविज्ञानको चरम अभाव थियो । पितृसत्ता, सामान्ति प्रथा, कुरीति र कुसंस्कारको जाँतोमा पिल्सिएका महिलाहरु तत्कालिन परिबन्धबाट निकै उराठ र विकल्पहिन थिए । त्यसकारण पनि तत्कालिन नर्सहरुको बोली रुखो हुन्थ्यो, व्यवहार अभद्र थियो । पितृसत्तात्मक सामन्तवादी हेपाहकै कारणले गर्दा समाजमा महिलाहरुको कुनै स्थान थिएन भने नर्सहरुको स्थिति झनै नाजुक थियो, बदनामित थयो । सोही कारणले मानिसहरुले नर्सिङ पेसालाई हेयको दृष्टिले हेर्थे । यसैकारण फ्लोरेन्स नाइटिङगेलका माता पिताले उनलाई नर्सिङ पेसा रोज्ने सम्बन्धमा अप्ठ्यारो मानेका थिए।
पिता विलियम एडवर्ड नाइटिङगेल र माता फेनी स्मीथ दम्पतीको कोखबाट १२ मे १८२० मा फ्लोरेन्स नाइटिङगेलको जन्म भएको थियो । उनको जन्म इटालीको फ्लोरेन्स सहरमा एउटा सम्पन्न परिवारमा भएको थियोे। उनको नाम उनका मातापिताले जन्मस्थानको नामबाट फ्लोरेन्स राखे। उनी निकै सुन्दर थिइन। उनले आफ्ना पिताबाट धेरै भाषा सिकिन् । अध्ययनकै क्रममा उनले इतिहास र दर्शनबाट प्रभावित भएर दुबै विधामा राम्रो अध्ययन गरिन् । बाल्यकालदेखिनै उनको हृदयमा मानवीय दया र करुणाको लहर उर्लेको थियो । विपतमा परेका हरेक पीडित प्रति उनको हृदयमा असीम करुणा थियोे। उनी दश वर्षको हुँदा भएको एउटा घटनाबाट उनी निकै प्रभावित भइन् । घटना के थियो भने उनको सहरमा स्थानीय बदमास केटाहरुले एउटा कुकुरलाई ढुङ्गाले हानेर घाइते बनाए । विछिप्त घाइते अवस्थाको त्यो कुकुरलाई उनले घरमा लगेर तातो पानीले घाउ सफा गरेर मल्हम पट्टि लगाइदिइन् । क्रमशः उपचरपश्तात कुकुर निको भएको देखेर उनी निकै प्रफुल्लित भइन् । जीवन भोगाइका उनका पानाहरु सरसर्ति हेर्दा फ्लोरेन्स नाइटिङगेलको जीवनका दुई पाना थिए । एकातिर उनी धनाढ्य परिवारको छोरी भएकाले तत्कालिन समय÷समाजको सुखानुभूति गरिसकेकी थिइन् । अर्कोतिर रुग्ण एवम् अभावग्रस्त मानिसहरुसित उनको हेलमेल थियो। सहरमा दुखपूर्ण जीवन बिताइरहेका मानीसहरु उनलाई असाध्यै माया गर्थे । ती मानिसहरुको रुग्ण अवस्था देखेपछि उनले नर्स भएर रोगी र दिनदुःखीहरुको सेवा गर्ने संकल्प गरिन ।
समय बित्दै जाँदा नाइटिङ्गेलले आफ्नो योजनाबारे आफ्ना मातापितालाई सुनाइन्। नर्स बनेर समाजसेवा गर्ने फ्लोरेन्सको कुरा सुनेर उनका बा–अमा झसङ्ग भएका थिए । एक शिक्षित नारी त्यो बेला नर्स बन्ने कुरा सोच्न नसकिने कुरा थियोे। त्यो बेला नर्सिङ पेसालाई तल्लो स्तरको पेसा मानिन्थ्यो । तर पनि उनले निडरताका साथ आफ्ना मातापिताको अगाडि यो कुरा भन्दै अठोट गरिन की, “रोगीको सेवा गर्नु जस्तो पवित्र पेशा अर्को कुनैपन छैन।“ आफुले अठाोट गरेको योजना सफल पार्ने यात्राकै क्रममा उनले प्रसिद्ध समाजसेविका एलिजावेथ फ्राइलाइ भेटिन् । फ्राइ महिला कैदीहरुको सेवामा लागेकी भद्र समाजसेवी महिला थिइन्। फ्लोरेन्सको नर्स हुने विचार सुनेर बुढी भइसकेकी एलिजावेथ फ्राइले उनलाई सहयोग गर्ने बाचा दिइन् ।
सन् १८४४ बाट उनले नर्सको तालीम लिन थालिन् । त्यसैक्रममा उनले जर्मनी, फ्रान्स, इटाली र ब्रिटेनका विभिन्न अस्पतालमा निरीक्षण गर्ने मौका पाइन् । ती देशका स्वास्थ्य संस्थामा खटिएका नर्सको सेवाभाव देखेर उनी प्रभावित भइन् । तर अस्पतालमा देखिएको दुर्गति देखेर दिक्क भइन् । त्यसकारण उनले आफू नर्स बनेर अस्पतालको स्थिति सुधार्ने योजना पनि बनाइन् । सन १८५४ मा क्रिमियामा युद्ध छेडियो । जसमा बेलायत, फ्रान्स, टर्की एकातिर र अर्कोतिर रूस थिए । त्यहीबेला फ्लोरेन्स नाइटिङगेलका साथी सिड्नी हर्बटले उनलाई नर्सहरुको टोली लिएर टर्कीको स्कुटारीमा जान आव्हान गरे । उनले यो आमन्त्रण स्वीकार गरी २१ अक्टोबर १८५४ मा ३८ जना नर्सहरु लिएर इङ्गल्यान्डबाट हिडेर १६ दिनपछि टर्कीको स्कुटारी पुगिन् । उनले त्यहाँको नर्कजस्तो अस्पताललाई सुधारिन् । अस्पताल परिसरमा दिसापिसाबको दुर्गन्ध थियो । भवन जीर्ण र भत्केको थियो । पानीको चराम अभाव थियो । बत्ती थिएन । टेबुल, कुर्सी, कुचो, तौलिया, काटा, चम्चा टेबुल, कुर्सी, कुचो, तौलिया, काटा, चम्चा लगायत केही पनि चिकित्सकीय उपकरणहरु थिएनन् । औषधि र मलहमपट्टी थिएन । अदम्य उत्साह र व्यवस्थित योजनाका साथ उनले अस्पतालको व्यवस्था मिलाइन । रोगीको लागि आफै खाना बनाउन थालिन् । उनले आफुसित तीस हजार पाउन्ड र अस्पतालका धेरै सामाग्री लिएर टर्की आएकी थिइन् । वार्डहरुमा गएर उनी घन्टौं खट्थिन, घाइतेहरुलाई आफै हेर्थिन, उनीहरूको पीरमर्का बुझ्थिन्। राती पनि उनी हातमा बत्ती लिएर हिडथिन् । त्यसैकारण पनि सबैले उनलाई “लेडी विथ द ल्याम्प“ भन्थे । डाक्टरले समेत बाँच्ने आशा छैन भनेका बिरामीको स्याहारसुसार गरेर तंग्राउने काम गरिन् । नयाँ जीवन पाएका रोगीले उनको मुक्तकण्ठले प्रशंसा गर्थे। बेलायतकी रानी भिक्टोरियाले समेत उनको कामको सह्राना गरेकी थिइन् । विस्तारै क्रिमियाको युद्ध थामियो । अस्पतालका बिरामीहरु सन्चो भएर घर हिडेपछि उनी पनि बेलायत फर्किन् । उनको संघर्ष, करुणा, न्याय र निष्पक्षताबाट पञ्भावित भएर बेलायतीहरुले उनलाई राष्ट्रिय नायिका घोषित गरे र भव्य रुपमा स्वागत गरे । जीवनभरी अरुकै सेवा गर्दागर्दै उनलाई बिहे गर्ने फुर्सद पनि भएन। उनी आजीवन अविवाहित रहेर हजारौँ बिरामीहरुको निस्वार्थ सेवामा अहोरात्र खटिइन् । उनी विश्वप्रसिद्ध नायिका भइन तर यो प्रसिद्धिका निम्ति उनले काम गरेको आभाष उनमा थिएन । निरन्तर दिनदुःखीको सेवामा जीवन समर्पण गरेकी नाइटिङगेलको सन् १९०१ मा आखाको दृष्टि गुम्यो । त्यसको पाँच वर्षपछि उनको स्मरणशक्तिमा ठुलो गिरावट आयो र उनलाई दमले पनि आक्रमण ग¥यो ।
१९०६ मा उनलाई महारानी भिक्टोरियाले दर्शनभेट दिइन्। सो पल फ्लोरेन्सको लागि अति खुसीको दिन थियोे । ८० वर्षको उमेरमा उनले दृष्टि गुमाइन् । १९०७ मा उनलाई देशको सर्वोच्च उपाधी “अर्डर अफ मेरिट“ प्रदान गरियो । तीन वर्षपछि उनी थला परिन् । केहि दिनसम्म दीपशीखा धिपधिप गर्दै बलिरह्यो। अन्तमा १३ अगस्ट १९१० मा उनको दीपशीखा झ्याप्प निभ्यो । उनको मृत्यसँगै एक असल र प्ररणदायी महामानवको अभाव अझैसम्म पनि संसारभर खडकिरहेको छ । स्वास्थ्य क्षेत्रमा उनले गरेको यो अतुलनिय योगदानकै स्मरणमा प्रत्येक वर्ष १२ मईलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रुपमा विश्वव्यापी रुपमा मनाउने चलन छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation