दलालहरुको राजनैतिक खिचातानीले सँस्कृत विश्वविद्यालय हरिविजोगमा, १२ वर्षदेखि विद्यार्थीलाई न प्रमाणपत्र न त दिक्षान्त समारोह नै

नेपाल संस्कृत विश्वविद्यालयमा १२ वर्षदेखि दीक्षान्त हुन नसक्दा विभिन्न तहको अध्ययन पूरा गरेका करिब ६ हजार विद्यार्थी दीक्षित हुनबाट वञ्चित भएका छन् । मूल प्रमाणपत्र नहुँदा उत्कृष्ट विद्यार्थीले समस्या भोग्नुपरेको छ भने उनीहरूले राष्ट्रको महत्वपूर्ण पदकसमेत पाउन सकेका छैनन् । विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रार भागबन्डामा नियुक्त हुने र नियुक्त पाएदेखि नै विवाद हुने गरेको छ । ०६७ पछि आएका दुई कार्यकालका पदाधिकारीले दीक्षान्त कार्यक्रम गर्नसमेत सकेनन् । नयाँ पदाधिकारीले समेत झन्डै दुई वर्षसम्म दीक्षान्तलाई प्राथमिकतामा राखेको बताए पनि पूर्णता पाएको छैन । पछिल्ला केही नयाँ कार्यक्रमको ब्याचले दीक्षान्त समारोहमा भाग लिनै पाएका छैनन् ।

संस्कृत विश्वविद्यालयमा दीक्षान्त समारोहसमेत गर्न नसकी पदाधिकारीले चार वर्षको दुई कार्यकाल बिताएका छन् । उपकुलपति रहेका प्रा.डा. शिवहरि मरहठ्ठाको चारवर्षे कार्यकाल र उनीपछि उपकुलपतिको जिम्मेवारी सम्हालेका प्रा.डा. कुलप्रसाद कोइरालाको पनि चारवर्षे कार्यकाल दीक्षान्त समारोहसमेत गर्न नसकी सकिएको थियो । विश्वविद्यालयका पदाधिकारीमा इच्छाशक्ति नहुँदा दीक्षान्त समारोह हुन नसकेको र त्यसको पीडा विद्यार्थीले भोग्नुपरेको एक प्राध्यापकले बताए ।
विश्वविद्यालयका रजिस्ट्रार माधव अधिकारीले प्रत्येक वर्ष हुनुपर्ने दीक्षान्त धेरै वर्ष नहुनु राम्रो सन्देश नभएको बताए । ‘दीक्षान्त समारोहका लागि धेरै तयारी गर्नुपर्छ, तयारी नपुगेर वा इच्छाशक्ति नभएर पनि नभएको हुन सक्छ,’ उनले भने, ‘हामी आएपछि दीक्षान्तलाई प्राथमिकतामा राखेर तयारी गरेका छौँ ।’

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री, सहकुलपति रहने शिक्षामन्त्री, सचिवहरू, विभिन्न संस्थाका प्रमुखहरू रहेको सभा बस्नुपर्ने र त्यसको व्यवस्थापनमा कठिन भएर पनि लामो समय बितेको हुन सक्ने उनले बताए । हरेक वर्ष हुनुपर्ने दीक्षान्त समारोह नहुँदा विद्यार्थीले अवसरसमेत गुमाउन बाध्य छन् भने अन्तर्राष्ट्रियस्तरमा समेत लज्जाको विषय भएको छ ।

प्रा.डा. शिवहरि मरहठ्ठा र प्रा.डा. कुलप्रसाद कोइरालाले दीक्षान्त नगरी चारवर्षे कार्यकाल बिताए, विद्यार्थीले मूल प्रमाणपत्र पाउन सकेनन्, उत्कृष्ट विद्यार्थी पदक पाउनबाट पनि वञ्चित

तेस्रो कार्यकालको नेतृत्व गरेका पदाधिकारीले दीक्षान्तको तयारी भएको बताए पनि समय निश्चित भएको छैन । विश्वविद्यालयका रजिस्ट्रार अधिकारीले विश्वविद्यालयको छविमा मात्र होइन आर्थिक भार पनि थपिँदै गएको बताए । ‘एकैपटक धेरै खर्च हुने भयो, पहिलेको नियमअनुसार पदकमा सुनको मात्रा राख्नुपर्छ, अहिले महँगो हुने भयो,’ रजिस्ट्रार अधिकारीले भने, ‘हामी छिटो दीक्षान्त गर्नुपर्छ भनेर लागेका छौँ ।’

विभिन्न तह उत्तीर्ण भएर ट्रान्सक्रिप्ट लिएका विद्यार्थीले समेत सास्ती खेपेका छन् । मूल प्रमाणपत्र माग्न आउने विद्यार्थीलाई विश्वविद्यालयले अस्थायी सर्टिफिकेट दिएर पठाउने गरेको छ । मूल प्रमाणपत्र नहुँदा विदेश अध्ययन, सरकारी सेवामा प्रवेश गर्नेलगायत विद्यार्थीलाई समस्या परेको छ । विश्वविद्यालयका पदाधिकारीले बेवास्ता गर्दा विद्यार्थी मारमा परेका हुन् । दिलनाथ दंगालले संस्कृत विश्वविद्यालयबाट नेपाली विषयमा विद्यावारिधि (पिएचडी) सकेका छन्, तर उनी मूल प्रमाणपत्र नहुँदा थप अध्ययनका लागि विदेश जान सकेका छैनन् । दंगालले भने, ‘म दुई वर्षदेखि पोस्टडक्टका लागि विदेश जान खोजेको मूल प्रमाणपत्र नहुँदा समस्या भयो ।’

उत्कृष्ट विद्यार्थी राष्ट्रको सम्मान र पदक पाउनबाट वञ्चित
सुदर्शन ढुंगाना संस्कृत विश्वविद्यालयबाट शर्वदर्शन विषयमा आचार्य तहमा प्रथम भएका थिए । ०६७ मा आचार्यमा टपेका ढुंगानाले मूल प्रमाणपत्र नहुँदा राष्ट्रपतिबाट पाउने पदकबाट वञ्चित भएको बताए । उनले भने, ‘पदकका लागि फर्म भर्न पनि मूल प्रमाणपत्र चाहिने रहेछ, त्यो नहुँदा यसबाट वञ्चित भएको छु ।’ उनले संस्कृत विश्वविद्यालयमै जागिर खाएकाले अस्थायी प्रमाणपत्रबाट काम भएपछि अन्यत्र जान चाहनेलाई समस्या छ । दीक्षान्त नहुँदा राष्ट्रपतिबाट प्रत्येक वर्ष प्रदान हुने विभिन्न श्रेणीका विद्याभूषण पदक पाउनबाट समेत उत्कृष्ट विद्यार्थी वञ्चित भएका छन् । पहिले विश्वविद्यालयबाट पदक लिइसकेपछि मात्र राष्ट्रपतिबाट विद्याभूषण पदक दिने व्यवस्था छ ।

तीन महिनापछि खुल्यो ताला 
नेपाल संस्कृत विश्वविद्यालय र मातहतका कार्यालय ताला तीन महिनापछि खुलेको छ । अदालतको अन्तरिम आदेशपछि कांग्रेसनिकटको नेविसंघले लगाएको ताला बुधबार खोलिएको छ । विश्वविद्यालय नेविसंघ इकाइले विज्ञप्ति निकालेर आन्दोलनको स्वरूप फेरिएको जनाएको छ । विश्वविद्यालयमा विभिन्न संगठनले ताला लगाउने र खोल्ने क्रम चलेको थियो । नेविसंघले १४ बुँदे माग राखी १९ वैशाखमा विश्वविद्यालयको केन्द्रीय कार्यालय, सेवा आयोग, विद्यापीठहरूमा तालाबन्दी गरेको थियो । नेविसंघका ११ माग सम्बोधन भइसकेका छन् ।

                                               छिटो दीक्षान्त गर्नुपर्छ भनेर लागेका छौँ- माधव अधिकारी, रजिस्ट्रार
                                                         

यसअघि तयारी नपुगेर वा इच्छाशक्ति नभएर पनि दीक्षान्त नभएको हुन सक्छ । हामी आएपछि प्राथमिकतामा राखेर तयारी गरेका छौँ । एकैपटक गर्दा धेरै खर्च हुने भयो, पहिलेको नियमअनुसार पदकमा सुनको मात्रा राख्नुपर्छ, अहिले महँगो हुने भयो । हामी छिटो दीक्षान्त गर्नुपर्छ भनेर लागेका छौँ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation