पश्चिम नेपालको रानीवनमा थारु सांस्कृतिक ग्राम, पर्यटनको दुनियाँमा नयाँ आयाम

सन्तोष दहित, दाङ

दंगीशरण गाउँपालिका–३ रानीवनमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको छ । ८२ विगाह क्षेत्रफलको रानीवनको उत्तर र पश्चिम क्षेत्रमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको हो । थारु समुदायको कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको दंगीशरण गाउँपालिकाले जनाएको छ ।

सांस्कृतिक ग्राममा थारु समुदायको पहिचान झल्किने परम्परागत सामग्री, थारु परिकार, पिकनिक स्पटलगायतका सामग्री राख्ने तयारी भएको छ । यतिबेला ग्राम निर्माणको चरणमै रहेको गाउँपालिकाले जनाएको छ । थारु समुदायको सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन गर्नुको साथै थारु समुदायको पहिचान झल्किने परम्परागत विविध सामग्रीको खोजी, संकलन र संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई देखाउने उद्देश्यले सांस्कृतिक ग्राम निर्माण गरिएको दंगीशरण गाउँपालिकाका निवर्तमान अध्यक्ष भागीराम चौधरीले बताउनुभयो । विशेष गरी दंगीशरण गाउँपालिकालाई पर्यटनसँग जोडेर यहाँको आर्थिक तथा पर्यटनको विकासमा सहयोग पु¥याउने मुख्य लक्ष्य रहेको उहाँले बताउनुभयो ।

‘थारु राजा दंगीशरणको दरबार दंगीशरण पालिकासँग जोडिएको सुकौराकोट पनि नजिकै छ’– चौधरीले भन्नुभयो– ‘यही वडामा थारु सांस्कृतिक संग्रहालय छ, यी दुबै क्षेत्रलाई जोडेर लान सकिए दंगीशरण छिट्टै पर्यटकीय क्षेत्रको रुपमा विकास हुन्छ ।’ तर यसलाई कसरी व्यवस्थित, प्रभावकारी बनाउने र कार्यान्वयन गर्ने कुराले महत्व राख्ने उहाँले बताउनुभयो ।

दंगीशरण गाउँपालिकाको पहल र लुम्बिनी प्रदेश सरकारको सहयोगमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको हो । पालिकाले करिब दुई करोड लगानीमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरेको हो । थारु सांस्कृतिक ग्रामको भवन निर्माणका लागि करिब डेढ करोड र पार्क निर्माणका लागि जनश्रमदानसहित ५५ लाख लागेको चौधरीले बताउनुभयो ।

दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले दंगीशरणमा निर्माण गरिएको थारु सांस्कृतिक ग्राम तथा पार्कको अधुरा कामलाई पूर्णता दिएर थप व्यवस्थित द्दबनाउने बताउनुभयो । ‘दंगीशरणमा एउटा नमूना सांस्कृतिक ग्राम र पार्क आवश्यक छ नै, त्यो करिब–करिब सम्पन्न भएको छ’– उहाँले भन्नुभयो– ‘बाँकी अधुरा काम प्रदेश सरकारसँग समन्वय गरेर पूर्णता दिन्छौं ।’ अध्यक्ष गिरीले सांस्कृतिक ग्रामको लागि भवन र पार्कमा ३० वटा सिमेन्टका कुर्सी, पार्कभित्र एक किलोमिटर गोरेटो बाटोमा चारैतिर टायल बिछाइएको छ र पिकनिक स्पट निर्माण गरिएको बताउनुभयो । थारु सांस्कृतिक ग्रामका लागि बनाएको भवनमा थारु समुदायको पहिचान झल्किने सामग्रीको संकलन गरेर राख्ने गिरीले बताउनुभयो ।

कसरी पुग्ने सांस्कृतिक ग्राम ? 

तुलसीपुर बसपार्कबाट तुलसीपुर–सुर्खेत रोड हँुदै करिब नौ किलोमिटर पश्चिम पोटलीचोक पुगिन्छ । जहाँ दंगीशरण प्रवेशद्वारको लागि गेट बन्दैछ । त्यही गेट छिरेर करिब दुई किलोमिटर अगाडि पुगेपछि हेकुली गाउँ आउँछ । तर त्यहाँ नपुग्दै पश्चिम चखौरा जाने र पूर्व सलौरा जाने चोकबाट पूर्व सलौरा जाने बाटो हँुदै उत्तरतिर एउटा हरियाली वन देखिन्छ । जुन वनको नाम हो रानीवन । त्यही रानीवनसम्म जानको लागि भर्खरै मोटर बाटो खोलिएको छ । मुख्य सडकदेखि पैदल गए १० मिनेटमा सांस्कृतिक ग्राम तथा पार्कमा पुगिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation