३ युवती आत्महत्या प्रकरण, २० दिनसम्म पत्ता लागेन घटनाको रहस्य

साउन २९ झापा

झापाको कचनकवल गाउँपालिका–५ मा एउटै रूखमा झुन्डिएको अवस्थामा भेटिएका तीन किशोरीले अगाडिदेखि नै आफन्त र साथीलाई आत्महत्या गर्ने बताउँदै आएको प्रहरीले दाबी गरेको छ । ८ साउनमा कचनकवल–५ स्थित सुनकोसी चिया बगाननजिकै एक रूखमा १७ वर्षीया करिना गणेश, १८ वर्षीया अञ्जली गणेश र १७ वर्षीया कल्पनाकुमारी गणेशको शव झुन्डिएको अवस्थामा फेला परेको थियो । उनीहरू त्यही चियाबगानमा मजदुरको रूपमा काम गर्दै आएका थिए ।

घटना शंकास्पद भएको आवाज उठेपछि प्रदेश–१ का प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले            अनुसन्धानमा सहयोग गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाको नेतृत्वमा ११ साउनमा अनुसन्धान सहयोग समिति गठन गरेका थिए । समितिले करिब २० दिन लगाएर अनुसन्धान गर्दा ती किशोरीहरू अगाडिदेखि नै आत्महत्या गर्ने योजनामै रहेको निष्कर्ष निकालेको छ ।

वसन्त पाठक प्रहरी नायब उपरीक्षक
हामीले उनीहरूसँग कुरा भएको होला भन्ने अनुमान लगाएका थियौँ । त्यो सत्य रहेछ । उनीहरूलाई केही समयदेखि ती किशोरीले आत्महत्या गर्ने बताउँदै आएका रहेछन् ।

उनीहरूले कामको सिलसिलामा भारतको पञ्जाबमा रहेका एक आफन्त र दुई नजिकका साथी गरी तीन किशोरलाई टेलिफोन सम्पर्कमा करिब एक महिनादेखि बारम्बार मर्ने कुरा गर्ने गरेको खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए ।

प्रहरीले ती तीन किशोरीलाई ६ दिनअघि पञ्जाबबाट झिकाएर सोधपुछसमेत गरेको छ । ती तीन किशोरी केही वर्षअघिदेखि रोजगारीका क्रममा भारतको पञ्जाब रहेको उनले बताए । ‘हामीले उनीहरूसँग कुरा भएको होला भन्ने अनुमान लगाएका थियौँ । त्यो सत्य रहेछ । उनीहरूलाई केही समयदेखि ती किशोरीले आत्महत्या गर्ने बताउँदै आएका रहेछन्,’ उनले भने, ‘ती किशोरहरूले पनि सम्झाएछन् । तर, फोनमा त्यसै भनेको होला भन्ठानेछन् । पोस्टमार्टममा संलग्न डाक्टरहरूले पनि शंका गर्नुपर्ने त छैन, तर सबै रिपोर्ट आएपछि मात्र थाहा हुन्छ भनेका थिए । भिसेरा पनि परीक्षण गर्न पठाएका छौँ । सबै रिपोर्ट आएपछि मात्र थाहा हुन्छ । कतैबाट पनि कमजोरी नदेखियोस् भन्ने हाम्रो उद्देश्य हो ।’ यद्यपि, आत्महत्याको कारण भने खुलिनसकेको उनले बताए । अनुसन्धानमा सहयोग गर्ने समितिको प्रतिवेदन आएपछि मात्र आत्महत्याको कारण खुल्ने उनले बताए । ‘समितिले प्रतिवेदन तयार पार्दै छ । प्रतिवेदन आएपछि मात्र कारण भन्न सकिन्छ,’ उनले भने ।

प्रहरीले ती किशोरीको मोबाइल पनि परीक्षणका लागि प्रहरीको डिजिटल फरेन्सिक ल्याब पठाएको थियो । त्यहाँबाट आएको रिपोर्टका माध्यमबाट प्रहरी ती किशोरहरूसम्म पुगेको हो । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार प्रतिवेदन आउन अझै एक साता लाग्छ । ती तीन किशोरले जानकारी हुँदाहुँदै पनि परिवारलाई जानकारी नगराउँदा अकल्पनीय घटना भएको ती प्रहरी बताउँछन् । ‘करिनाले ती किशोरलाई यस्तै रहेछ जिन्दगी ! मसँगै मेरा दुई साथी पनि मर्दै छौँ भनेको पाइयो,’ उनले भने । प्रतिवेदन लेख्ने तयारीमा रहेको अनुसन्धान समितिका एक सदस्यले घटनाका कारण गरिबी र पारिवारिक अवस्था रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation