सदनलाई लाग्यो चुनाव, काेरम नपुग्दा कामहरु प्रभावित

साउन ३० काठमाडौ ।निर्वाचन घोषणा गरेपछि पनि सदन सुचारु छ र यसका लागि सरकारले अन्तिम चरणमा पुगेका कानुनहरू पारित गर्नुपर्ने कारण देखाएको छ । तर, सांसदलाई चुनाव लागिसकेको छ, कोरम नपुग्दा सदन प्रभावित भएको छ ।

चुनाव घोषणापछि २२, २४, २५ र २९ साउन गरेर चार दिनमा पाँचवटा बैठक बसेका छन् । जसमा तीनवटा बैठक बीचमै स्थगित भएका छन् । एक त सरकारले हतार–हतार कानुन बनाउन खोजेको छ । सदनमा पर्याप्त छलफल भएको छैन । नागरिकतालगायत केही विधेयक त संसदीय समितिमा छलफल नै नगरी हतारोमा पास गरिएको छ ।

अर्काेतिर कानुन निर्माणमा सांसदको चासो देखिएको छैन । जसले कानुन निर्माण प्रक्रिया नै प्रभावित भइरहेको छ । राजनीतिक विश्लेषकले तलब–भत्ता लिने गरी सदन चलाएको आरोप लगाएका छन् । जसलाई सांसदहरूको बढ्दो अनुपस्थिति अथवा हाजिर गरेर दैनिक दुई हजार भत्ता पकाएर हिँड्ने अवस्थाले पुष्टि गर्दै छ ।

 हाजिर लगाएर हिँड्छन्
आइतबार बिहान ११ बजे बसेको प्रतिनिधिसभा बैठकमा एक सय ७९ सांसद उपस्थित थिए । कानुन बनाउने हतारोका बीच कार्यसूची पनि लामै थियो । आठबुँदे सूचीमा पाँचवटा विधेयक नै पारित गर्ने तय गरिएको थियो । तर, दुइटा विधेयक पारित गरिसकेपछि तेस्रो विधेयक निर्णयार्थ पेस गर्दा कोरम नपुगेर स्थगित भयो । दुईटा विधेयक (स्ट्यान्डर्ड नाप र तौल तथा प्रत्यायन) प्रस्तुत गर्न पुगेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूको त पालै आएन ।

बैठकको शून्य र विशेष समय सकिएपछि कार्यसूचीअनुसार उपसभामुख पुष्पा भुसालले २५ साउनको बैठकमा कोरम नपुगेर रोकिएको सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयकलाई निर्णयार्थ पेस गर्न खोजिन्, सांसद प्रेम सुवालले गणपूरक संख्या यकिन गर्न माग गरे । यतिवेला सांसद संख्या न्यून थियो । तीन मिनेट घन्टी बजाउँदा बाहिर रहेका सांसदहरू (करिब ४० जना) धमाधम बैठक कक्षमा आए ।

संविधानको धारा ९४ अनुसार एकतिहाइ अर्थात् ६९ सदस्य आवश्यक पर्नेमा बाहिर रहेका सांसदहरू भित्र आउँदा संख्या ९० पुग्यो । जब कि बैठक सुरु हुँदा एक सय ७९ सांसद उपस्थित थिए । एक घन्टाको शून्य र विशेष समय नसकिँदै ८९ सांसद हाजिर गरेर हिँडिसकेका थिए । ९० जनाको उपस्थितिमा बहुमतले यातायात विधेयक पारित भयो । उक्त उपस्थितिमा बिमा विधेयक पनि बहुमतले पारित भयो ।

त्यसपछि अर्थमन्त्रीले जनार्दन शर्माले अर्थ समितिको प्रतिवेदनसहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयकमा छलफलका लागि प्रस्ताव गर्दा सांसदहरू बाहिर निस्किन थाले । छलफलपछि उपसभामुख भुसालले अर्थ समितिबाट आएको संशोधन प्रतिवेदनलाई निर्णयार्थ पेस गर्दा सांसद सुवालले फेरि नियमापत्ति गर्दै संख्या यकिन गर्न माग गरे । तीन मिनेट घन्टी बजाएर यकिन गर्दा आवश्यक ६९ पुगेन । ६७ मात्रै पुगेपछि सभामुख अग्नि सापकाटाले बैठक १५ मिनेट स्थगित गरे ।

करिब आधा घन्टापछि सुरु भएको दोस्रो बैठकमा सभामुख सापकोटाले संशोधन प्रतिवेदनलाई निर्णयार्थ पेस गर्न खोज्दा सुरुवातमै सांसद सुवालले फेरि संख्या यकिन गर्न माग गरे । तीन मिनेट घन्टी बजाएर यकिन गर्दा आवश्यक ६९ मा पुनः ६७ मात्रै उपस्थित रहेर अपुग भएपछि सभामुख सापकोटाले कार्यसूचीमा रहेको बाँकी कार्यक्रम हटाउँदै दुई दिनका लागि बैठक स्थगित गरे । बैठक स्थगित हुँदा तीनवटा विधेयक प्रभावित भए । यसअघि एक सय ६५ सांसद उपस्थित २५ साउनको बैठकमा कोरम नपुग्दा यातायात प्राधिकरण विधेयक रोकिएको थियो । आवश्यक ६९ गणकपूरक संख्या यकिन गर्दा ६६ मात्रै हुँदा बैठक नै स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation